ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

झण्डै ९ महीनापछि चल्न थाले सौराहामा पर्यटक बस

२०७७ असोज, ७  
वाग्मती प्रदेश
Image Not Found

असोज ७, चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौं र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । 

सोमवारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौं र काठमाडौंदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महीनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए ।

‘बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ’, उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौं जाने र एउटा काठमाडौंबाट सौराहा आउने गरेका छन् । 

‘सौराहा आउने पर्यटक छैनन्’, दाहालले भने परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।’ मंगलवार चितवनबाट १० जना यात्रु लिएर काठमाडौं गएको बसले बुधवार आठ जना यात्रु मात्र ल्याएर आएको उनले बताए । 

सौराहाबाट चितवन सफारीले पनि काठमाडौंका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल संघ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको संघका अध्यक्ष दीपक भट्टराइले बताए । उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताए ।

चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिए । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छूटसमेत दिइरहेको उनले बताए ।

सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौंका लागि दैनिक आठ ओटा र पोखराका लागि चार ओटासम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् । रासस                 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्