ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टुँडीखेलको खाना र खाद्यसम्बन्धी हक

२०७७ असोज, ८  
लेख | दृष्टिकोण
Image Not Found

एउटा वर्ग छ, जसले कोरोनाका कारण परेको आर्थिक असरलाई उसले नितान्त अर्थहीन बहसका रूपमा लिन्छ, किनकि ऊ सम्पन्न छ । उच्चपदस्थ राजनीतिककर्मीहरू, उच्च पदासीन कर्मचारीतन्त्र, सफल व्यवसायी आदि सबैले कोरोनाका कारण खानै नपाउने अवस्थामा पुगे भन्ने कुरालाई ज्यादै नै उपहासका रूपमा लिन्छन् ।

बढ्दो विकासका क्रियाकलाप, बढ्दो पूँजीगत बजेट र विप्रेषण आदिले ठूलो वर्गलाई भोकगत आवश्यकताभन्दा धेरै माथि पुर्‍याएको छ । स्थानीय चुनाव पछि यो वर्ग तलैबाट राजनीतिमा पनि प्रवेश गरेको छ । यो वर्ग अनेक सुखसयलका माझ अधिक खाद्यान्नका कारणले गतिहीन हुन्छ ।

राज्यबाट सम्भव नहुने, निःशुल्क ख्वाउनेहरूसँग ढिकुटी रित्तिँदै जाने भएकाले यो निब्र्याजे सहयोग कोष पछि शोधभर्ना गर्ने गरी सञ्चालन गर्ने हो भने यसबाट गरीबी निवारण छिटो निवारण हुन्छ कि ?

त्यसपछिको दोस्रो श्रेणीमा विशाल मध्यम वर्ग छ । उसले उच्च वर्गले जस्तो सुखसयल नपाए पनि खान उसका लागि पनि कुनै समस्या होइन । उसलाई मानिस भोकै पनि बस्नुपर्छ ? भन्ने वाक्य आश्चर्यको श्रेणीमै पर्छ ।

त्यसपछिको निम्न मध्यमवर्गले खाद्यान्नका लागि परिश्रम गरेर कमाउँछ तैपनि आधारभूत आवश्यकताका रूपमा खानलाई अभाव हुन दिँदैन । उसलाई भोक कस्तो हुन्छ भन्ने थाहा छ तर कनीकुथी ऊ भोकै बस्ने अवस्थामा हुँदैन । यो वर्गलाई भोक अनुभवजन्य अवस्था हो तर निरन्तर संघर्षबाट उसले त्यसलाई परास्त गरिरहेको हुन्छ । यो वर्ग पनि लाइनमा बस्न चाहँदैन जहाँ निःशुल्क खाना बाँडिएको छ ।

यसपछि निरपेक्ष गरीबीमा रहेको निम्नवर्गको पालो आउँछ, जुन निःशुल्क खाना ख्वाउने ठाउँमा लाइनमा बस्न बाध्य हुन्छ । यो वर्गसँग या त खाना हुँदैन, या इन्धन हुँदैन वा भए पनि उचित पकाउने ठाउँ हुँदैन, अनि ऊ लाइनमा लाग्न आउँछ । यसरी खाद्यान्नको मूल समस्या निम्न वर्गमा नै हुन्छ । ऊ कोरोना विपत्ति शुरू हुनुभन्दा पहिला नै भोको हुन सक्थ्यो । त्यतिबेला कसैले वास्ता गरेन कोरोना लागेपछि अनेक सहयोगी हातहरू अगाडि आए र खाना ख्वाएका छन् । ती सबै धन्यवादका पात्र हुन्, जसले यो बेलामा रोजगारी समाप्त भएका हजाराैं मानिसको जीवन रक्षाको काम गरेका छन् ।

खान नै नपुग्ने नेपालीको संख्या कति छ भन्ने कुराको यकिन तथ्यांक राष्ट्रसँग पनि पक्कै छैन । तर, केन्द्रीय तथ्यांक ब्यूरोले निकालेको तथ्यांक अहिले पक्कै मिल्दैन किनकि कोरोनाका कारण हिजोको तुलनामा धेरै मानिस गरीबीको रेखामुनि गए र कति भोकै बस्न बाध्य भए भन्ने कुराको यथार्थ चित्र कसैसँग छैन ।

पहिलो चैततिरको बन्दाबन्दीमा घरमा सम्पत्ति भएकाहरूले पनि राहतको चामल ल्याएर त्यो बेचेर रक्सी खाए भन्ने चर्चा चलेको थियो । उनीहरूले वास्तवमा खाने चामल राहतको भन्दा बढी गुणस्तरको थियो । तर, भाडामा बस्नेलाई भनेर राहत आयो लिइहाले । वास्तवमा उनीहरूले त्यस्तो नलिएर वास्तविक अक्षमलाई दिन सहयोग गर्नुपर्ने थियो त्यस्तो भएन, त्यो विडम्बना हो ।

एकाधलाई यसरी सामान्यीकरण नगराैं यथासम्भव सबैले वास्तविक भोकोलाई दिएका हुन् र पाएका हुन् भन्ने परिकल्पना गरांै । कोरोना बन्दाबन्दी कहिलेसम्म लम्बिन्छ भन्ने अनुमान आजसम्म विश्वमा कसैलाई छैन । भोलिको अवस्था के हुने हो भन्ने पनि कसैले अनुमान गर्न सकेको छैन । अहिले २ चिजको अवस्था ज्यादै नै गम्भीर छ, एउटा हो भोक र दोस्रो हो शिक्षा ।

भोक निवारण पनि हुनेखानेको घरमा मात्र परिपूर्ण भइरहेको छ । अर्को हो, शिक्षा त्यो पनि धनीकोमा मात्र सम्भव छ । जहाँ नेट छ, जोसँग ल्यापटप छ, ग्याजेट्स छन् । गरीब दुवैतिरबाट खाली छ, एकातिर अन्न र अर्कोतिर ज्ञान । यस अर्थमा कोरोनाले गरीबीलाई बढी आक्रमण गरेको छ ।

सरकारले एकातिर संविधानको धारा ३६ बमोजिम खाद्यसम्बन्धी हक दिन सक्नुपर्ने थियो, त्यसमा चुक भएको छ । शायद त्यसैले टुँडीखेलमा भोकाहरू कुनै समाजसेवीको सहयोगमा भोक मेटिरहेका छन् । अर्कोतिर सहस्राब्दी विकास लक्ष्यले पनि गरीबी भोकमरी हटाउने लक्ष्य राखेको थियो । २०१५ मा त्यसको समाप्तिपछि आएको दिगो विकास अवधारणा २०१६ र २०३० ले पनि लक्ष्य नं २ मा भोकमरी हटाउने, पोषण बढाउने दिगो कृषिमा नै जोड दिएको छ । यस्तो अवस्थामा भोक मेटाउने प्रयास सबैतिरबाट भए पनि पर्याप्त भएको छैन ।

कोरोनाको बेलामा कसरी भोक हटाउन सकिन्छ भनेर राजधानीका केही शिक्षक र समाजसेवीहरू जस्तै एलबी बस्नेत, कैलाश रायमाझी, कृष्ण केसी, मायानाथ दाहाल, प्रतापजंग कार्की, माधव श्रेष्ठ, कृष्णबहादुर कार्की, रामप्रसाद गौतम, गोकर्ण ज्ञवाली, पुष्पलाल पाण्डे, द्वारिकाप्रसाद खनाल, प्रज्वल र कृष्ण श्रेष्ठ मिलेर रू. २० देखि २००१ सम्म उठाएर एउटा कोष बनाइयो, जसमा अहिले १२००० जम्मा भएको छ । विभिन्न मिडियामा कसैलाई तत्काल खान नै खाँचो भएमा यो कोषबाट सहयोग लिएर तत्कालको छाक टार्नुहोस् पछि यसमा शोधभर्ना गर्नुहोस् भनी सूचना दिइएको छ । यसरी अहिले समस्या टार्ने र पछि तिर्ने गर्नाले आगामी दिनमा अर्को भोकोले खान पाउँछ भनेर एक अनौपचारिक कोष बनाइयो, यसमा सहयोग गर्नेको संख्या थपिँदै छ ।

अहिलेसम्म कसैले फोन गरेको छैन, एक जनाले किड्नीको उपचार गर्न सहयोग गर्नुप¥यो भनी फोन आयो जुन सम्भव पनि थिएन र यसको उद्देश्यसँग मेल पनि खाएन । भोकविरुद्ध लड्न अनेक मोर्चा आवश्यक रहेका बेलामा निःशुल्क खाना खाने ठाउँमा देखिएको छ । यस्तो बेलामा रोजगारी गुमाएका र बचत पनि सकिँदै गरेका मानिसलाई अहिले छाक टार्न माथिको जस्तो अलि बलियो मानव कोष बनाउनुपर्ने आवश्यकता देखिन्छ । यसले तत्काल सबैको समस्या समाधान गरोस् र पछि सक्षम भएपछि उसले ब्याजरहित शोधभर्ना देओस् ।

राज्यबाट सम्भव नहुने, निःशुल्क ख्वाउनेहरूसँग ढिकुटी रित्तिँदै जाने भएकाले यो निब्र्याजे सहयोग कोष पछि शोधभर्ना गर्ने गरी सञ्चालन गर्ने हो भने यसबाट गरीबी निवारण छिटो निवारण हुन्छ कि ?

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयका शिक्षक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्