ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ईकमर्शको आम्दानी अब वित्तीय प्रणालीमा

२०७७ असोज, ८  
समाचार
Image Not Found
author avatar ममता थापा

काठमाडौं । मुलुकबाहिर इन्टरनेटमार्फत गरिने कारोबार (ईकमर्श को अर्बौं रुपैयाँ अनौपचारिक माध्यमबाट नेपाल भित्रिने गरेको छ । यसको यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । पछिल्लो समय नेपालबाट सफ्टवेयरलगायत सामग्री अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने क्रम बढेको छ । यस्तै, यूट्युब, फेसबुक, गूगल, जस्ता सामाजिक सञ्जाल र इन्टरनेट तथा अनलाइन पोर्टलहरूबाट पनि आम्दानी गर्नेहरू बढ्न थालेका छन् । यस्तो आय नेपालमा ल्याउन सहज नहुँदा पेपल आदिमा जम्मा गर्ने र उतैतिर खर्च गर्ने चलन छ ।

नेपाल राष्ट्र बैंकले यस्ता ईकमर्शलगायतका माध्यमबाट आर्जन गरेको विदेशी मुद्रा अनलाइन वित्तीय सेवामार्फत नेपालमा रकमान्तरण गर्न सकिने व्यवस्था गरेको छ । यसबाट विदेशी मुद्रामा हुने यस्तो व्यवसाय नेपाल भित्रिन सहज हुने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकले सूचना प्रविधिसम्बद्ध दक्षता र विज्ञताको निकासी विक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरू राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउन सकिने बताएको छ । यस्तो रकम स्वदेशी बैंकको खातामा प्राप्त भएपछि भुक्तानी सेवाप्रदायक
तथा बैंक वित्तीय संस्थासमेतले ग्राहकको वालेट वा भुक्तानीका अन्य उपकरणमा स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकेअनुसार शुल्क, रोयल्टीलगायत आवश्यक भुक्तानी विदेशमा पठाउनु परे नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने उल्लेख छ ।

यसरी आम्दानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको पालना गर्नुपर्ने छ ।

वैध तरीकाले विदेशबाट प्राप्त मुद्रा विभिन्न अनलाइन भुक्तानी सेवाको प्रयोगबाट सीधै नेपालका बैंकमा रकमान्तर गर्न सकिने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको भनाइ छ । यस्ता कारोबारलाई बैंकिङ दायरामा ल्याएर विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सहयोग पुग्ने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । ‘यसले अनलाइनबाट नै सामान अर्डर दिने र अनलाइनमै भुक्तानी दिने संस्थालाई पनि कानूनी दायरामा ल्याउने काम गर्छ,’ उनले अभियानसँग भने, ‘यसर्थ समग्रमा ईकमर्श कारोबार गर्नेलाई भिसा कार्ड, पेपल कार्डजस्ता अनलाइन वित्तीय सेवामार्फत कारोबार गरेर रकम भित्र्याउन सकिन्छ । यसमा ईसेवा, खल्ती, आईएमई पेजस्ता भुक्तानी प्रदायक संस्थामार्फत पनि ईकमर्शको रकम नेपालमा सम्बद्ध व्यक्तिको खाता तथा वालेटमा राख्न सकिन्छ ।’ यो व्यवस्थाले विदेशमा रोकिएको पैसासमेत नेपालको वित्तीय प्रणालीमा भित्रिने वातावरण राष्ट्र बैंकले मिलाएको उनले बताए ।

अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने तथा विदेशबाट प्राप्त गर्ने दुवै काम गैरकानूनी भनेर राष्ट्र बैंकले व्याख्या गरेको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा डलरमार्फत भुक्तानी हुने गरेको छ । यस्तो कार्यका लागि नेपालमा डलर सटही गर्ने र नेपालकै माध्यमबाट भुक्तानी गर्ने सुविधा छैन । यसले गर्दा देशबाहिरकै माध्यमको प्रयोग गरी यहाँका व्यावसायिक फर्म, संस्था तथा संगठनहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन् । भुक्तानीका लागि त्यसरी विदेशी माध्यमको प्रयोग गर्दा यहाँबाट बाहिरिने रकमको पनि कुनै तथ्यांक छैन ।

अहिले नेपालबाट हजारौं सफ्टवेयरहरू अनलाइन फ्रिल्यान्सिङबाट विक्री भइरहेको ठमेल रेमिटका बालकृष्ण जोशी दाबी गर्छन् । ‘अधिकांशले न्यूनतम ५० डलर, २ सय डलर जतिको काम गरेका हुन्छन् तर यो नेपालमा प्राप्त गर्न महँगो पर्छ । न्यूनतम रकम विदेशको कम्पनीले पठाउनुप¥यो भने सेवाशुल्क नै ४५ डलरभन्दा बढी लाग्छ । यसैले यस्तो रकम प्रायले पायोनियर इन्टरनेट वालेटमा राख्ने गर्छन् । उनले भने, ‘त्यहीँबाट गूगल वा विभिन्न एपमा शुल्क तिर्नुपरे यसैबाट तिर्छन् । यस्तो रकम नेपाल नभित्रिईकनै बाहिरै सकिने गरेको छ । नेपालमा बसेर आईटी उत्पादनबाट मासिक ३–४ हजार डलरसम्म कमाएका उदाहरण पनि छन् । यसरी वर्षेनि नेपालमा अवैधानिक तरीकाबाट अर्बौं रुपैयाँ भित्रिएको छ ।’

यस्तो रकम औपचारिक माध्यममा नआएकाले सरकारले पनि थप प्रोत्साहन दिए ईकमर्श कारोबारको विदेशी रकम प्रणालीमा भित्रिन्थ्यो जोशीको भनाइ छ । यसले मुलुकको राजस्व वृद्धिमा पनि सहयोग गर्ने उनको बुझाइ छ ।

राष्ट्र बैंकले गरेको उक्त व्यवस्थालाई नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल स्वागतयोग्य कदम भएको बताउँछन् । ‘यसअघि सफ्टवेयर विक्रीजस्ता कारोबार गर्ने केहीले बैंकमार्फत ल्याएको जानकारी दिँदै यस्तो रकम न्यून रूपमा बैंकिङ प्रणालीमा आउने गरेको थियो,’ उनले भने, ‘तर, त्यस्तो आय ल्याउन सजिलो बनाइँदा राजस्व बढ्न सहयोग पुग्नेछ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्