ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खानीडाँडा र थामखर्क विमानस्थलबाट शनिवारदेखि नियमित उडान हुने 

२०७७ असोज, ८  
प्रदेश ०१
Image Not Found

असोज ८, खोटाङ । बन्दाबन्दीका कारण ६ महीनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुई विमानस्थलबाट यही शनिवारदेखि नियमित उडान हुने भएको छ । 

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिवारदेखि नियमित उडान गर्ने भएको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधवार र शनिवार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधवार उडान गर्ने गरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ । नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको छ । 

खानीडाँडा–काठमाडौंका लागि एकतर्फी भाडा प्रति व्यक्ति रू. चार हजार ७४० निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रमुख नवराज कटवालले बताए । प्रमुख कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा–विराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ । 

उता, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रति व्यक्ति रू. चार हजार ३८५ निर्धारण गरिएको जानकारी दिइएको छ । नियमित उडान हुने भएपछि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विमानस्थलले सार्वजनिक सूचना जारी गरेर सचेतता अपनाउन अनुरोध गरेको छ । 

यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारी साधनहरु गेट बाहिर राख्नु पर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनु पर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैले बोक्नुपर्ने जानकारी दिइएको छ । 

यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा उक्त यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ । 

उता, जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ । लामीडाँडा विमानस्थलमा पनि चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्