ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संस्थानहरू सुधारौं

२०७७ असोज, ९  
पाठक विचार
NA

कुनै समय प्रायः सरकारी संस्थानहरूको अवस्था निकै खराब थियो । यसले गर्दा मानिस बिरामी भएसरह संस्थानहरू चलिरहन्थ्थे । यस्ता सरकारी संस्थानहरूको नाम अंकित गर्नुपर्दा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा पर्छन् । कतिपय कलकारखाना तथा संस्थानहरू त सखाप नै भएर गए । मानिसको मृत्युसरह ती हराए । त्यति बेला समाज हेरेको हेरै भए तर कसैले केही गर्न सकेन । बाँसबारी छाला तथा जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, हिमाल सिमेन्ट कारखाना तथा जुट मिल अहिले कथा भएका छन् । यसो हुनुुको कारण सरकारको नीति र ती संस्थाहरूको काम प्रभावकारी नहुनु नै हो । भर्खर लोकतन्त्र आएको थियो । देश चलाउनेहरूलाई आप्mना कार्यकर्तालाई जागीर खुवाउनु थियो । ती कलकारखाना तथा संस्थानहरूमा आआफ्ना दलका नजीकका मान्छेलाई जागीर खुवाउन थालियो । ती संस्थामा विभिन्न किसिमले भ्रष्टाचार बढ्दै गयो । दलका नजीक कर्मचारीले सुविधा बढाउन हडताल गरे । सुविधा बढाए तर संस्थाले प्रतिस्पर्धामा सामान र सेवा दिन सकेन । साथै नचाहिने कुराहरूमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । प्रमुखहरू दलका मानिसमात्र होइन, ब्रिफकेस बुझाउनेहरू मात्रै नियुक्त हुने अवस्था आयो । यसले गर्दा प्रायः सरकारी संस्थाहरू रोगी हुँदै गए ।

यसप्रति जनताले खण्डन, लेख, आलोचना, आन्दोलन पनि गर्दै गए । केही संस्थाहरू बेचिए । केहीमा सुधार गर्न सरकारले पनि नीति ल्यायो । यसमा जनता र विदेशी दातृ संस्थाहरूको दबाब बढी थियो । समयको खेल फलस्वरूप यस्ता कमजोरमध्ये केही संस्थानको हालत ठीक हुँदै गयो । आजभोलि नेपाल वायुसेवा निगमबाहेक सरकारी बैंक, आयल निगम, नेपाल विद्युत् प्राधिकरण आदिको हालत सुध्रिएर राम्रो भएको पाइन्छ । नेपाल टेलिकम त उच्च मुनाफा गर्ने र कर बढी तिर्ने कम्पनीमै पर्न थालेको छ । अन्य केही संस्थाको अवस्था पनि केही सुध्रिन थालेको देखिन्छ । तर, नेपाल वायुसेवा निगम भने झन्झन् समस्यामा पर्दै गएको पाइन्छ ।

निगम समस्यामा पर्नुको मुख्य कारण यसको व्यवस्थापन पक्ष निकै कमजोर हुनु हो । साथै, ठूला भ्रष्टाचार पनि यसैमा हुन्छ । त्यसमा पनि कर्मचारीहरूको कार्यशैलीमा पनि सुधार आउन सकेको छैन । सबैले यसलाई दुहुनो गाई बनाउने गरेका छन् । त्यही भएर निगम सुध्रन सकेको छैन । सरकार पनि निगमलाई सुधार्न चाहँदैन किनभने यसलाई स्वतन्त्र रूपमा काम गर्न दियो भने कमिशनको चक्कर चलाउन पाइँदैन ।

संस्थानहरू राम्रो हुँदै जानुको कारण कुनै संस्थानहरू विदेशी राम्रा पार्टीहरूलाई कार्यभार करारमा दिनु हो । कुनै संस्थानहरूमा राम्रा व्यक्ति प्रवेश हुनु हो । योग्य मािनसले संस्थानहरू चलाउने मौका पाए भने सुधार्ने रहेछन् भन्ने पनि देखिएको छ । संस्थानहरू राम्रो हुँदै गएकोमा सरकार, कर्मचारी, व्यवस्थापन आदिलाई हामीले सराहनीय मान्नुपर्छ ।
नेपाल वायुसेवा निगमको अवस्था भने सुध्रन सकेको छैन । यो संस्था एउटा यस्तो संस्थान भयो यहाँ जुन सरकार आए पनि सबैका लागि मागी खाने भाँडो बनेको देखिन्छ । यो संस्थानको समस्या सुल्झाउन गार्‍हो भएको छ । अहिलेसम्म समस्या पनि कसरी सुल्झोस् त ? समयसमयमा जहाज किनबेच गर्दा, मर्मत गर्दा देश चलाउनेहरूलाई कमिशन आउने, हवाई टिकट फ्रिमा आउने, आप्mना मानिसलाई भर्ती गर्न पाउने आदि जस्ता फाइदाले गर्दा कोही संस्थान बन्द गर्न चाहँदैनन् । सुधार्न पनि चाहँदैनन् ।

कुनै समय एक दुईओटा ठूला जहाजका लागि दिक्क भइराखेका कर्मचारीहरू तथा व्यवस्थापन आज ४÷५ ओटा ठूला जहाज भएर पनि यो संस्थानले राम्रो प्रगति गर्न सकेको छैन । आज यो संस्थानमा दशौं अर्ब रुपैयाँ घाटामा जाँदा पनि अल्झी राख्नुपर्ने थिएन । वास्तवमा भन्ने हो भने यो संस्थानका लागि राज्यले आर्थिक दृष्टिकोणले मद्दत नगरेको होइन । तर, यो संस्थान अघि बढ्न सकेन । नेपाल वायुसेवा निगम नसप्रनुमा राज्य पनि दोषी छ । राज्यले कडा र पोख्त व्यक्तिलाई यो ठाउँमा प्रवेश नै गराउन सकेन । खुला प्रतियोगितामार्पmत यो ठाउँमा योग्य व्यक्ति नियुक्ति अनिवार्य थियो । एक दुईजना राम्राराम्रा व्यक्ति यो ठाउँमा नआएको पनि होइन, तर स्वार्थ र कमिशनको चक्करले गर्दा तिनले पनि काम गर्न पाएनन् । व्यवस्थापनका मुख्य व्यक्तिले अडान लिएर काम गर्न सकेनन् । कर्मचारी भर्तीमा रोक लगाउन नसक्नु, सधैं जहाजहरू ग्राउन्डेड हुनुु, पाइलटहरूको तहबह मिलाउन नसक्नु, अनावश्यक खर्च तथा चुहावट रोक्न नसक्नु आदि कुरा व्यवस्थापनले गर्न नसक्दा नै निगम समस्यामा परिरहेको हो । त्यसैले यसमा राज्य तथा व्यवस्थापन दुवै पक्ष दोषी देखिन्छ ।

अहिले विश्व नै कोभिड–१९ ले गर्दा हरक्षेत्र अस्तव्यस्त छ । यस्तो बेला हामीले तुरुन्त संस्थानको विकासको अपेक्षा राख्नु ठीक हुँदैन । यो रोग सधंै रहने रोग होइन, यो रोगको समाप्तिपछि मानिसको जीवनमा राम्रो दिन फेरि आउनेछ । त्यति बेला हामी सबले नेपाल वायुसेवा निगमको बारे सोच्नैपर्ने अवस्था आउँछ । कर्मचारी, व्यवस्थापन र राज्य यसप्रति सकारात्मक भएर अघि बढ्ने हो भने यो सुध्रन असम्भव भन्ने कुरा हुँदैन । अब हाम्रो प्रयासबाट पनि यो संस्थान बनेन भने १० वर्षका लागि राम्रो विदेशी पार्टीलाई दिँदा बेस हुनेछ, जसले गर्दा यो संस्थान पनि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक जस्तै उँभो लाग्नेछ ।

समग्रमा एउटा के कुरा भन्न सकिन्छ भन्ने नेता र प्रजाले दुःख गरेर ल्याएको यो लोकतन्त्र मुलुक हो त्यसकारण यो मुलुकमा सबैले सुख, सुविधा, सहुलियत पाउनुपर्छ र राष्ट्र धनको दुरुपयोग हुनु हुँदैन । तर, जुन अपेक्षा जनताले गरेको हो, त्यसको उल्टो भइराखेको छ, त्यसकारण एक पक्षलाई मात्र दोष नदिई नेता, कार्यकर्ता, कर्मचारी, व्यवसायी, जनप्रतिनिधि आदि सबै स्वाभिमानी र इमानदार हुनु जरुरी छ ।

रमेशकेशरी वैद्य
काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्