ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वदेशी मोडलको नमूना चिलिमे जलविद्युत् आयोजना

२०७७ असोज, ९  
विकास
Image Not Found

चिलिमे जलविद्युत् कम्पनी नेपालको ऊर्जा क्षेत्रको अग्रणी कम्पनीको रूपमा चिनिएको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका कर्मचारी र सर्वसाधारण लगानीकर्ताको सहभागितामा यो कम्पनी खडा गरिएको थियो ।

कम्पनीले सफलतापूर्वक निर्माण एवं सञ्चालन गरेको चिलिमे जलविद्युत् आयोजनाले नेपाली जनमानसमा जलविद्युत् एक लगानी योग्य क्षेत्र हो भन्ने विश्वास बढाइदियो । त्यसैगरी रसुवावासीलाई व्यापक मात्रामा शेयर प्रवाह गर्दा कम्पनीमा उनीहरूको पनि स्वामित्व र अपनत्व कायम भयो । जलविद्युत् कम्पनीले प्रभावित स्थानीयवासीलाई शेयर दिएर लाभान्वित बनाउन सक्छन् भन्ने अवधारणा पनि चिलिमेबाटै शुरू भयो । चिलिमे जलविद्युत् कम्पनी शेयरधनीलाई राम्रो लाभांश दिन सक्ने कम्पनी मानिन्छ । कम्पनीले आयोजना सञ्चालन भएको पहिलो वर्ष नै १० प्रतिशत लाभांश बाँडेको थियो भने त्यसपछि प्रायः प्रत्येक वर्ष नै लाभांश बाँडेको छ । आार्थिक वर्ष २०६७/६८ मा कम्पनीले ७५ प्रतिशतसम्म लाभांश वितरण गरेको भने २०७५/७६ मा २५ प्रतिशत लाभांश दिएको छ ।

स्वदेशी प्राविधिक, ठेकेदार र बैंकहरूको संलग्नता बढाई नेपालको जलविद्युत्को विकास गरिनुपर्दछ भन्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण र उसका कर्मचारीको शेयर लगानीबाट चिलिमे जलविद्युत् कम्पनीको स्थापना गरिएको हो । नेपाली प्राविधिक, कामदार र ठेकेदार संस्थाहरूलाई काम गर्ने वातावरण बनाइयो भने उनीहरूबाट बनाइने जलविद्युत्् आयोजनाले सबभन्दा सस्तो बिजुली उत्पादन गर्न सक्छ र नेपाली उपभोक्ताले सस्तो बिजुली उपयोग गर्न सक्छन् भन्ने अवधारणा कम्पनीको राख्यो । सोही अवधारणा अनुसार २०६० सालमा चिलिमे खोलामा आधारित २२ मेगावाटको आयोजना करीब २ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण गर्‍यो ।

रसुवाको चिलिमेस्थित करीब ३ मिटर अग्लो बाँधद्वारा खोलाबाट प्रतिसेकेण्ड ७५०० लिटर पानी फर्काई सो पानीलाई करीब २८ सय मिटर लामो सुरुङबाट स्याफ्रुबेंशीमा भूसतहमुनि रहेको जलविद्युत् केन्द्रमा पुर्‍याएर २२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उत्पादित उक्त बिजुली करीब ३८ किलोमिटर लामो ६६ केभीको प्रसारणलाइनबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाले वार्षिक लगभग १३ करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

चिलिमे जलविद्युत् आयोजनाको सफल कार्यान्वयनपछि यो कम्पनीले आफू अन्तर्गत झण्डै ३०० मेगावाट क्षमताका अन्य चारओटा आयोजनाको निर्माण शुरू गरेको छ । यी आयोजनामध्ये केहीले यसै आर्थिक वर्ष (२०७७/७८) देखि विद्युत् उत्पादन गर्न थाल्नेछन् भने अरूले अर्को वर्ष विद्युत् उत्पादन गर्न थाल्नेछन् । त्यसैगरी कम्पनीले करीब ६५० मेगावाट कुल क्षमता हुने अन्य तीनओटा आयोजनाहरूको अध्ययन गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले आफू अन्तर्गत सहायक कम्पनी बनाएर आयोजना निर्माण र सञ्चालन गरेको पहिलो उदाहरण चिलिमे कम्पनी हो । यसको सफलतापछि प्राधिकरणले आफ्नो स्वामित्वमा थुप्रै कम्पनी खडा गरी विद्युत् आयोजनाको निर्माण गर्दै आएको छ ।

प्राधिकरण आफैले आयोजना बनाउनुभन्दा सहायक कम्पनीहरूमार्फत बनाउँदा बढी सफलता हासिल गरेको छ । सहायक कम्पनीहरूको सञ्चालक समितिमा व्यावसायिक व्यक्ति पठाउन सकिने, तर प्राधिकरणको सञ्चालक समितिमा राजनीतिक नियुक्ति लिएर वा विभिन्न मन्त्रालयका प्रतिनिधि सञ्चालक आउने भएकोले पनि सहायक कम्पनीमार्फत काम गर्न सजिलो भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । सहायक कम्पनीको रूपमा माथिल्लो तामाकोशी (४५६ मेगावाट), तनहुँ सेती (१४० मेगा वाट) जस्ता ठूला आयोजनाको निर्माण भइरहेको छ ।

जलविद्युत् कम्पनी सफल हुनुमा यसले उत्पादन गरेको विद्युत्को विक्रीदर एक प्रमुख कारण रहन्छ । चिलिमे जलविद्युत् कम्पनी सफल हुनुको एउटा प्रमुख कारण यसको आयोजनाबाट उत्पादित विद्युत्लाई प्रतियुनिट ८ रुपैयाँको हाराहारीमा नेविप्राले खरीद गरिदिन्छ, जुन दर प्राधिकरणले अन्य अरू कुनै पनि नेपाली आयोजनालाई दिएको छैन । अन्य कतिपय साना आयोजनाहरू त प्रतियुनिट ४ रुपैयाँमा विद्युत् बेच्न बाध्य छन् । यदि चिलिमेले पाएको खरीददर अन्य अरू साना आयोजनाले पाउने हो भने ती सबै आयोजनाले पनि चिलिमेले जस्तै प्रगति गर्न सक्दथे भनेर विश्लेषण पनि गरिएको छ । जुन सत्य पनि छ । यसको पुष्ट्याइँ माथिल्लो तामाकोशी वा त्रिशूली ३ ‘ए’ जस्ता आयोजनाको निर्माण सम्पन्न भएपछि पनि देख्न सकिन्छ । ती आयोजनाले चिलिमेले जस्तो लाभांश बाँड्न वा अन्य आयोजनामा लगानी गर्न सक्ने सम्भावना धेरै कम छ । किनभने तिनीहरूको विद्युत् खरीददर चिलिमेको जस्तो आकर्षक छैन ।

प्राधिकरणले चिलिमे र अन्य नेपाली साना आयोजनामा भेदभाव गरेको तथ्यलाई आत्मसात् गर्नुपर्ने भए पनि चिलिमेबाट हामी सबैले सिक्नुपर्ने एउटा सकारात्मक पाठ पनि छ । २२ मेगावाटको आयोजना सञ्चानल गरेको १५ वर्ष नपुग्दै ३०० मेगावाट क्षमताका अन्य आयोजना शुरू गर्न सक्नु एउटा ठूलो उपलब्धि मान्नुपर्छ । यसबाट नेपाली जलविद्युत् उत्पादकलाई केही बढी विद्युत् खरीददर दिँदा ‘घीउ कहाँ पोखियो ? दालमा’  भन्ने उखान चरितार्थ भएको छ । नेपालीले बनाएका आयोजनाको बिजुलीलाई अलिकति खरीददर बढाइदिँदा ती आयोजनाले केही वर्षमै दशौं गुणा ठूला आयोजना अगाडि बढाउन सक्ने हैसियत राख्ने रहेछन् । यसरी नयाँ आयोजना निर्माण गर्दा थप स्वदेशी पूँजी र आफ्नै प्राविधिकको अनुभवसँगै उपयोग बढ्दै जाने देखिन्छ । अन्ततः नेपालमा व्यापक जलस्रोतको विकासबाट नेपाली लगानीकर्ता, बैंक तथा उपभोक्ताले अधिकतम फाइदा लिन सक्ने वातावरण बन्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्