ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लगातारको वर्षाले तरकारी खेती सखाप, किसान चिन्तित

२०७७ असोज, ९  
प्रदेश ०२
Image Not Found

असोज ९, महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान चिन्तित भएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो ।

बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना वर्षाको पानीले सोतर बनाएको छ । त्यसैगरी रायो, लट्टे र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । 

लगातार चार दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था आएको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मंगलवारदेखि लगातार पानी पर्दै आएको छ ।

‘तरकारीका बेला पानीले गलाएर पहेँलिएका छन्, नयाँ रोपिएका बेर्ना पानीले सोतर बनाएर लडाएको छ’, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गंगाराम महतो भन्छन्, ‘खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, चाँडै उत्पादन लिने आलु पनि अब रोप्न पाइने आस मर्‍यो ।’

सधैँजसो दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि मुखमै रहेका यी पर्वमा तरकारीको हाहाकार नै हुने र मूल्य आकाशिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि मँहगाइको मारमा परेका छन् ।

लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त मँहगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडक मात्र नभएर मुख्य सडक नै हिलाम्मे भएका छन् । पछिल्लो तीन दिनको वर्षाले जिल्लामा सडक स्तरोन्नति र मर्मतका भइरहेका काम पनि रोकिएको छ ।

बर्दिवास-रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर, जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारीसाधन पनि चल्न सकेका छैनन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्