ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई दिन बिदा र पर्यटन

२०७७ असोज, ११  
सम्पादकीय
Image Not Found

कोरोना महामारीका कारण ठप्पप्रायः भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्ता २ दिन बिदाको प्रस्ताव अघि सारेको छ । यसका लागि कार्यदलसमेत बनाइएको छ ।

दुईदिने बिदाका बारेमा कार्यदल पर्यटन क्षेत्रलाई मात्र नहेरी समग्र प्रभावको अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।

पर्यटमन्त्री योगेश भट्टराईले हप्ताको २ दिन बिदा आन्तरिक पर्यटन चलायमान हुन अपेक्षा गरेका छन् । लाखौं मानिस बिदा मनाउन आन्तरिक पर्यटकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् जसले आन्तरिक पर्यटन चलायमान हुन सक्छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई कसरी पुनर्जीवन दिन सकिन्छ भनेर चिन्ता बढिरहेको सन्दर्भमा यस्तो प्रस्ताव ल्याइनु सकारात्मक नै हो । यसले थोरै भए पनि आन्तरिक पर्यटनमा चहलपहल ल्याउने अपेक्षा गर्न सकिन्छ । तर, पर्यटनमा थोरै चहलपहल ल्याउने यो बिदाको निर्णयले समग्र अर्थतन्त्रमा तथा सरकारी सेवा प्रवाहमा कस्तो असर पर्न जान्छ भन्नेमा अध्ययन हुनु आवश्यक छ । हप्तामा दुई दिन बिदा दिने निर्णय पहिलो होइन । नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला २०५६ सालमा काठमाडौं उपत्यकामा २ दिन बिदाको अभ्यास गरिएको थियो । हप्ताको ४० कार्य घण्टा पुर्‍याउने गरी कार्यालय समय बढाएर २ दिन बिदा दिँदा इन्धन खर्च जोगिने तर्क त्यति बेला गरिएको थियो । त्यस्तै २ दिन बिदा दिँदा कतिपय कर्मचारी कृषि कार्यमा संलग्न हुँदा उत्पादन बढ्ने समेत विश्लेषण गरिएको थियो । तर, यो निर्णय फिर्ता भयो । २ दिन बिदा दिँदा कति फाइदा हुन्छ र हटाउँदा कतिपय फाइदा हुन्छ भन्ने ठोस अध्ययन गरेर भन्दा पनि सामान्य विश्लेषणका आधारमा यसो गरिएको थियो ।

हप्ताको २ दिन बिदा दिँदा शुक्रवार चाँडै घर जाने र सोमवार पनि कार्यालयमा ढिला आउने जस्ता समस्या त्यति बेला देखिएका थिए । कार्य दिनमा पनि कार्यालयमा ढिला आउने र चाँडै जाने प्रवृत्ति देखिएको थियो । तर, विशेष अध्ययन भएको भने देखिँदैन । एक दिनमा दुई सिफ्टमा कार्यालय पनि चलाइयो र त्यो पनि केही महीनामै विनाअध्ययन हटाइयो ।

त्यतिबेला र अहिलेका कार्य संस्कृति, जीवनशैली र सोचमा निकै परिवर्तन आएको छ । अहिले कार्यालय जानका लागि निजी वा एकल गाडीको प्रयोग अत्यधिक बढेको छ । इन्धन खपतमा कमी आउने निश्चित जस्तै देखिन्छ । तर, कार्यालय समयको उत्पादकत्व बढ्छ कि बढ्दैन भन्नेमा चाहिँ कुनै निश्चितता छैन ।

देशभर हप्ताको २ दिन बिदा दिँदा शैक्षिक संस्थाहरूको क्यालेन्डर प्रभावित हुने देखिन्छ । त्यस्तै निजीक्षेत्रमा के गर्ने भन्ने अन्योल पनि देखिन्छ । पूरै देश ठप्प पारेर २ दिन बिदा दिँदैमा सबैजना घुमघामका लागि निक्लने सम्भावना पनि ज्यादै कम देखिन्छ । आन्तरिक पर्यटनभन्दा पनि सरकारी खर्च कटौती र काठमाडौंजस्ता सहरमा ट्राफिक दृष्टिले चाहिँ २ दिन बिदा उपयुक्त हुन सक्छ । आन्तरिक पर्यटन बढाउने नै हो भने हप्ताको २ दिनभन्दा पनि कर्मचारीलाई १ हप्ताको पर्यटन बिदा वार्षिक रूपमा दिने तरीका बढी प्रभावकारी हुने देखिन्छ । सरकारी कर्मचारीलाई तलबी पर्यटन बिदाको पहल पनि थालिएको थियो । तर, त्यसलाई सरकारले निरन्तरता दिन र विस्तार गर्न चाहेन वा सकेन । नेपालको आन्तरिक पर्यटनका प्रमुख गन्तव्यहरू धार्मिक क्षेत्र बढी देखिन्छन् । प्राकृतिक सौन्दर्य र धार्मिक क्षेत्रका सन्तुलन भएकाले यी क्षेत्र नै आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । अन्य पर्यटकीय गतिविधिमा नेपालीहरूको सक्रियता कमै देखिन्छ । यसो हुनुको कारण पर्यटनका लागि आवश्यक खर्चको जोहो गर्न नसक्नु नै हो ।

सरकारले ल्याउने दुर्ईदिने बिदा सरकारी कर्मचारीहरूका लागि हो । निजीक्षेत्रको दाँजोमा सरकारी कर्मचारीमा पर्यटनप्रति कम रुचि देखिन्छ । धेरैजसो ठाउँमा सरुवाकै क्रममा घुमिसक्ने भएकाले उनीहरूमा यसप्रति त्यति चासो नभएको पनि हुन सक्छ । यस्तोमा दुईदिने बिदाका बारेमा कार्यदल पर्यटन क्षेत्रलाई मात्र नहेरी समग्र प्रभावको अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्