ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाली रेलसेवाको दुरवस्था

२०७७ असोज, ११  
लेख | दृष्टिकोण
Image Not Found

विश्वका कैयन् देशले यातायातको भरपर्दो सेवाका रूपमा रेल सेवालाई लिने गरेको पाइन्छ । तर, नेपालमा भने यो सेवा त्यति भरपर्दो र प्रभावकारी बन्न सकेको छैन । नेपालमा रेलसेवाको इतिहास हेर्ने हो भने लगभग १ शताब्दी हुन लागेको छ । राणाशासनदेखि गणतन्त्रमा आइपुग्दा पनि रेलसेवाको हविगत उही नै हुनुलाई विडम्बनाका रूपमा लिन सकिन्छ । हिजो राणाकालमा बढी प्रभावकारी ठानिएको रेलसेवा अहिलेको अवस्थामा आइपुग्दा संग्रहालयमा प्रदर्शनीका रूपमा राख्न मिल्ने वस्तु बनेको छ ।

विक्रम संवत् १९८० मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले जयनगर जनकपुर ३० किलोमीटर लामो रेलसेवा निर्माण गरेका थिए । हाल केही वर्षदेखि स्थगित उक्त सेवा पुनः सञ्चालन हुने भएको छ । पुरानो लिक निर्माण तथा नयाँ रेलको डिब्बासहितको रेल इन्जिन तयार गर्न १ अर्ब खर्च भएको छ । नेपाल र भारत सरकारको सम्झौताअनुसार रेलसेवालाई व्यवस्थित गर्दै ब्रोडगेज मोडेलमा रेल सञ्चालन हुने भएको हो । अहिले जयनगर जनकपुर क्षेत्रमा चल्ने रेलको सीट क्षमता १३ सय छ । यसमा पाँचओटा डिब्बा रहेका छन् भने यसमा मुख्य र सहायक गरी दुईओटा इन्जिन पनि छन् ।

रोचक कुरा त के हो भने नि कुनै बेला राजधानी काठमाडौंमा पनि रेल चल्थ्यो । त्यसको अवशेषका रूपमा अहिले कलंकी क्षेत्रको सुनार गाउँमा लिकमार्ग रहेको छ । राणा प्रधानमन्त्री भीम शमशेरको पालामा काठमाडौं उपत्यकामा कुलेश्वर सुनारगाउँदेखि टेकुसम्म कुनै बेला करीब ९ किलोमीटर लामो रेलमार्ग सञ्चालनमा थियो । ६० वर्षपहिले उपत्यकामा सञ्चालित यो रेल न्यारोगेजको थियो जुन सामान ओसार्नमात्र प्रयोग गरिन्थ्यो । मातातीर्थबाट आउने रेलमार्गको अन्तिम बिसौनी टेकुस्थित वागमती र विष्णुमती दोभानसम्मको स्थान नै थियो । राणाकालमा रेल चल्थ्यो भन्ने कुराको प्रमाण कलंकी सुनार गाउँ कुलेश्वर जोड्ने लिकमार्ग र २०२१ सालको नापी नक्सामा त्यस क्षेत्रमा रेलमार्ग रहेको देखिनु नै हो ।

राजधानीमा खाद्यान्न अभाव बढेका र महँगीका कारण चन्द्रशमशेरले विक्रम संवत् १९८० को दशकमा रक्सौल अमलेखगञ्ज रेलमार्ग निर्माण गर्न लगाएका थिए । विक्रम संवत् १९८३ मा निर्माण सम्पन्न भएको उक्त रेलले तराईमा उत्पादन भएको खाद्यान्न अमलेखगञ्जसम्म ल्याउने गथ्र्याे । नेपालम सञ्चालित तथा निर्माण भएका रेलमार्गको अवस्था ज्यादै नै चिन्ताजनक अवस्थामा देखिन्छ । भएका स्रोतसाधनको संरक्षण गर्न नसक्नु हामी नेपालीहरूको नियति नै बनेको छ । पछिल्लो समयमा विराटनगरदेखि भारतको बथनाहा रेलमार्ग परियोजना पनि राजनीतिक र अन्य कारणबाट रोकिएको छ । बथनाहादेखि मोरङको कटारीसम्मको रेलमाग निर्माण रोकिनुमा जग्गाको मुआब्जा विवाद नै मूलकारण बनेको छ । बथनाहा कटारी बीचको १८ दशमलव ६ किलोमीटर लामो रेलमार्गमध्येको बथनाहा बुधनगर लावाघाटसम्मको ७ दशमलव ६ किलोमीटर वा करीब ९६ प्रतिशत रेलमार्ग निर्माण कार्य सकिएको भए पनि अरू बाँकी काम स्थगित भएको छ । २०७५ साल कात्तिक १८ गते रेलको लिकमा रेल इन्जिनसमेत परीक्षण गरिएको थियो । यस परियोजनाको कुल लागत ३ अर्ब भारतीय रुपैयाँ रहेको छ । सर्वोच्च अदालतको मागबमोजिमको मुआब्जा दिनु भनेर फैसला गरिसकेको भए पनि मुआब्जाकै कारण निर्माण कार्य स्थगित भएको हो ।

नेपालमा पहिलो रेलसेवा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा विसं. १९८४ मा भारतको सिमानादेखि नेपालको अमलेखगञ्जसम्म सञ्चालन भएको सेवा बन्द भएको हुँदा कतिलाई असुविधा पुगेको छ भने राष्ट्रिय गौरव एवम् पहिचान पनि संकटमा परेको छ । जब कि १९९३ मा प्रधानमन्त्री जुद्धशमशेरको पालामा स्थापित रेलसेवा हाल जनकपुर जयनगरसम्म ५१ किमी क्षेत्रमा मात्र सीमित भएर खुम्चिएको अवस्थामा छ ।

त्यसो त नेपाल पनि अन्तरराष्ट्रिय रेल सञ्जालमा आबद्ध भइसकेको डेढ दशक भइसकेको छ । दक्षिण कोरियाको बुसान शहरमा सन् २००६ मा भएको एशिया तथा प्यासिफिक क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको पारवहनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भएको सम्झौताअनुसार नेपाल वैधानिक रूपमा अन्तरराष्ट्रिय रेल सञ्चालन जोडिएको हो । ट्रान्स एशियन रेल सञ्चालनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर सरकारी सम्झौता सन् २०१२ जुन ४ बाट लागू भएपछि नेपाल अन्तरराष्ट्रिय रेल सञ्जालमा आबद्ध भएको हो ।

ढिलै भए पनि नेपाल सरकारको रेल विभागले मेचीमहाकाली रेलमार्गको ९ सय ४५ किलोमीटर लम्बाइको परियोजना बनाएको छ । पूर्वपश्चिम जोड्ने रेलमार्गको सपना कहिले पूरा हुने हो त्यो त यकिन गर्न सकिँदैन । त्यस्तै, बहुचर्चित केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग परियोजना कार्यको प्रारम्भिक प्रतिवेदन पनि तयार भएको छैन । यी रेल योजनाहरू कहिले सम्पन्न हुने हुन् त्यसलाई हामीले सहजै अनुमान गर्न सकिँदैन । कतै ती परियोजना पनि मेलम्ची आयोजना जस्तै हुने त होइनन् । जसले नेपालमा विकास योजना कुन गतिमा कसरी हुन्छ भन्ने कुरालाई घामझैं छर्लङ्ग पार्छ ।

भएको पुरानो रेलसेवामा केही सुधार गरेर निरन्तरता दिन प्रयास भएको छ । तर, त्यसको प्रचारप्रसारचाहिँ अनपेक्षित रूपमा यति बढाइचढाइ गरिएको छ कि चर्चा गरी साध्य छैन । नेपालको समग्र रेलसेवालाई हेर्दा यो कछुवा गतिमा अगाडि बढेको छ भन्दा अत्युक्ति नहोला ।

विश्वमा रेलसेवाको व्यापक र प्रभाव बढेको बेला हाम्रो देशमा भने उही राणाकालीन सयवर्षे वृद्ध रेलसेवालाई पुनः सञ्चालनमा ल्याइएको छ र जोडतोडले प्रचारप्रसार गरिएको छ । नेपाली भूमिमा गणतान्त्रिक रेल कहिले गुड्ने हो, सबै नेपाली त्यसको व्यग्र प्रतीक्षामा छन् । छिमेकी मित्रराष्ट्रहरूमा सबैभन्दा बढी र सबैभन्दा द्रुत गतिका रेल सञ्चालन हुँदा हामी भने न्यून र मन्दगतिका रेलसेवामा रमाउनु र व्यवस्थापन गर्न तम्सनुलाई के अर्थमा लिने ? यो नेपाल सरकारका लागि आफैमा लज्जास्पद विषयबाहेक अरू केही पनि होइन ।

लेखक एसएस कलेज काठमाडौंमा अध्यापन गर्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्