ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना र आयुर्वेदमा बौद्धिक सम्पत्ति सृजना

२०७७ असोज, ११  
लेख | दृष्टिकोण
Image Not Found

विश्व मानचित्रमा कोरोना संकटबाट कुनै पनि मुलुक उम्कन सकेका छैनन् । सानाठूला, विकसित अविकसित सम्पन्न विपन्न, सबै मुलुक यसको जालोमा परेका छन् । विगत ९ महीनादेखि विश्वले यातनापूर्ण र त्रासदीपूर्ण अवस्था झेल्नुपरिरहेको छ । आगामी दिनहरू अझै कति कष्टकर रहने हुन् त्यो कुरा पनि अन्योल नै छ । हालसम्म यसबाट विश्वमा लगभग ३ करोड २५ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १० लाखको हाराहारी छ । नेपालमा पनि लगभग ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने झन्डै ५ सय जनाले ज्यान गुमाइसकेका छन् ।

राष्ट्रिय आयुर्वेद तथा तालीम केन्द्रले पनि कोरोना निको पार्ने औषधि तयार गरेको र यस अनुसन्धान हुँदै गरेको औषधिको सेवनबाट १९ महीनादेखि ७८ वर्षसम्मका सयौं व्यक्ति चाँडै नै स्वास्थ्य लाभ गरी २ हप्तामा नै निको भएर घर गएको दाबी गरिएको छ ।

हरेक चुनौतीभित्र अवसर पनि हुन्छ र हरेक समस्याका पछाडि समाधान पनि हुन्छ भने जस्तै कोरोना संकट चुनौतीपूर्ण अभिशापमात्र होइन, नवप्रवर्तनकारी, जिज्ञासु र अध्ययनशील मानवीय चिन्तनका लागि अवसर र बौद्धिक सम्पत्ति सृजनाको रहर पनि रहेको छ । विश्व स्वस्थ्य संगठनलगायत चीन, अमेरिका, बेलायत, स्पेन, रूस, भारत आदि मुलुकका अनुसन्धानमूलक संस्थाहरू तथा हार्वर्ड, अक्सफोर्ड, वाशिङटन, सेन्टलुइस, कोलोराडो आदि विश्वविद्यालयहरूले पनि कोभिड संक्रमणका प्रकृति र सुरक्षाका उपायहरूबारे धेरै तथ्यसत्य कुरा उजागर गरिसकेका छन् र खोपको अनुसन्धानका लागि तँछाड र मछाड गर्दै लागिपरिरहेका छन् । कुनै कुनैले सफलताको दाबी पनि गरिरहेका छन् भने कुनै सफलताको नजीक पुग्दै छन् ।

नेपल प्राचीन कालमा विश्वमा चेतनाको ज्योति फैलाउन अगुवाइ गर्ने ऋषिमुनिको तपोभूमि हो । आयुर्वेदीय चिकित्सा पद्धति यहाँको परम्परागत र मौलिक विधा हो । यहाँका आयुर्वेदीय चिकित्सक र अनुसन्धानकर्ता पनि कोरोना निदानको अनुसन्धानमा लागिपरेका उदाहरणहरू तल प्रस्तुत छन् । यो धर्मसंस्कृति र जीवनपद्धतिसँग गाँसिएको विषय पनि हो र यसको विकास, अनुसरण तथा थप अध्ययन अनुसन्धान हुनु नेपाल र नेपालीको सर्वोपरि हितमा छ । यस पद्धतिप्रति केही न केही जनआस्था र विश्वास पनि नभएको होइन तर ती सबै चिकित्सक र विज्ञले गरेको अनुभव, अध्ययन, अनुसन्धान र सरसल्लाहमा सबै कुरामा एकरूपता र समान मापदण्ड अपनाएको भने पाइँदैन ।

पाथिभरा आयुर्वेदिक अस्पतालका प्रमुख डा. विष्णुप्रसाद तिमिल्सिना कोरोना सुरक्षाका लागि तामाको भाडोमा पानी खान, माछामासु, चिसो, बासी खानेकुरा नखान, पाराफिनयुक्त प्रसाभन चलन नगर्न, आफूलाई यसको भ्रम र हौवाबाट मुक्त राख्न र क्षयरोग, निमोनिया, टाइफाइड, माइग्रेनजस्ता रोगीले विशेष सावधानी अपनाउन सल्लाह दिनुभएको छ । साथै उपचारका लागि उहाँले बाटुल्पाते ७० प्रतिशत, मरीच १० प्रतिशत र जौ २० प्रतिशत मिलाएर बनाएको काडा साँझबिहान सेवन गर्ने सल्लाह दिनुभएको छ ।

त्रिविका प्रा.डा.कृष्णचन्द्र शर्माले कोरोनाको समाधान प्रणायामलगायत योगमा भएको बताउनुभएको छ । एलोपेथिक विधिमा कोरोनाको उपचार नै नभएको अवस्थामा योगमा यसको समाधान धेरै हदसम्म भएको तथ्य उजागर गर्नुभएको छ । योग गर्दा शरीरमा थकान नहुने, खेल खेलेजस्तो गरी अभ्यास गरिने, अङ्गअङ्गमा वायु प्रवाह गराउन सकिने, आकस्मिक ऊर्जा प्राप्त गर्न सकिने, नाडी शुद्ध हुने, मस्तिष्क चञ्चल नहुने, मस्तिष्कलाई शान्त राख्न सकिने, शरीरको निरोध क्षमता बढाउने भएकाले यो महŒवपूर्ण जीवन विज्ञान हो । कोभिडको आक्रमण नाकका प्वाल र घाँटीमा हुन्छ, योगको प्रहार पनि त्यहीँ हुन्छ । त्यसैले यसबाट एक त कोरोना लाग्ने सम्भावना न्यून हुन्छ, लागिहाले पनि असर न्यून हुन्छ । यसले प्रसन्न रहन र हाँस्न सिकाउने भएकाले सार्वजनिक अस्पतालमा जस्तो बिरामी डिप्रेशनमा जाने वा आत्महत्या गर्ने भन्ने कुरै हुँदैन ।

आयुर्वेदविज्ञ डा.ऋषिराम कोइरालाका अनुसार भाइरसको उपस्थिति जतासुकै हुन्छ तर अत्यधिक प्रकृतिको दोहन, प्राकृतिक सन्तुलनमा ह्रास, मान्छेको विद्युतीय तरङ्गसँग निरन्तर संघर्षण र वहन क्षमताभन्दा बढी भाइरसको उपस्थिले गर्दा कोरोना संक्रमण हुन्छ । यसबाट बच्ने उपाय भनेको व्यक्तिगत सुरक्षा गर्ने र शरीरको व्याधि क्षमता बढाउने नै हो । यसका लागि खानपिनमा विचार पुर्‍याउने तथा तनाव र विद्युतीय तरङ्गमुक्त वातावरणमा रहने गर्नुपर्छ । साथै नाक, कान र खुला अङ्गमा तोरीको तेल लगाउने, तातो पानी खाने, तेल मिश्रित तथा नून पानीले कुल्ला गर्ने, विभिन्न मसला बालीहरू जस्तै तुलसी, पुष्कर मूल, अदुवा, मरीच, बेसार, टिमुर अदि सेवन गर्ने, सरकारद्वारा निर्धारित मापदण्डको पालना गर्ने, ध्यान योग गर्ने, नेती क्रिया गर्ने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।

राष्ट्रिय आयुर्वेद तथा तालीम केन्द्रले पनि कोरोना निको पार्ने औषधि तयार गरेको र यो अनुसन्धानमै रहेको औषधिको सेवनबाट १९ महीनादेखि ७८ वर्षसम्मका सयौं व्यक्ति चाँडै नै स्वास्थ्य लाभ गरी २ हप्तामा नै निको भएर घर गएको दाबी गरिएको छ । सो औषधिको बनोट नखुलाइएको भए तापनि त्यो रोग प्रतिरोध क्षमता बढाउने जडीबुटी भएको र त्यसको सेवनबाट पीसीआर प्रतिवेदन १ हप्तामा नै नकारात्मक आएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आयुर्वेद विषयको गाम्भीर्यलाई विचार गरी गत भदौ २५ गते आयुर्वेद विज्ञसँग छलफल र परामर्श गर्नुभएको थियो । उहाँ कोरोनाका लागि सार्वजनिक रूपमा बेसार पानीको पैरवी गर्ने पहिलो व्यक्ति नै हुनुहुन्छ । यसबाहेक उहाँले मरीच र तुलसी पत्ता पनि नियमित सेवन गर्नुहुन्छ । कोरोना नियन्त्रण गर्न आयुर्वेद पद्धति मात्र सक्षम छ भन्ने तथ्य प्रधानमन्त्रीले पनि औंल्याउनुभएको छ । उहाँ भन्नुहन्छ, ‘कोरोनालाई मार्‍यो भने आयुर्वेदले मार्छ, अरू कुनै विधाले मार्दैन र आयुर्वेद औषधि विज्ञान मात्र होइन, आरोग्य विज्ञान पनि हो ।’ यति भन्दाभन्दै विडम्बना नै भन्नुपर्छ आयुर्वेद र योगका लागि कुल स्वास्थ्यको बजेटको २ प्रतिशत मात्र छुट्ट्याइन्छ भनेर उहाँ पनि ‘पानी माथिको ओभानो’ बन्ने हो भने बिरालोको घाँटीमा घण्टी कल्ले बाँधिदिने त ?

एकै प्रकारको निश्चित उपचारको मापदण्ड आधिकारिक निकायबाट संस्थागत रूपमा आएको भए आपत्ति हुने थिएन । आयुर्वेद उपचारसम्बन्धी सूचनाहरू निश्चित आधिकारिक निकायले एकीकृत रूपमा एकद्वार प्रणलीबाट सम्प्रेषण गर्नुपर्नेमा कतिपयले अभियन्ताको नाममा छाडा प्रचारबाजी गरेर जनतालाई दिग्भ्रमित पार्ने काम गर्नु र कोरोनाबाट सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेका अभ्यास र मापदण्डको समेत धज्जी उडाउनु दुःखलाग्दो कुरा हो । सबैले पालना गरेको विश्व स्वास्थ्य संगठनको अन्तरराष्ट्रिय मापदण्ड नअपनाएर स्वछन्द पक्षधरहरूको विश्वास कसरी गर्ने ? सार्वजनिक रूपमा भरपर्दो आधारको अभाव खडकिइरहेको छ ।

नेपालमा एलोपेथिक पद्धति आयुर्वेदप्रति केही अनुदार देखिएको छ । आयुर्वेदमा यो छैन त्यो छैन भनी खोट लगाउनुभन्दा आयुर्वेदसँग परिपूरक भएर काम गर्नु÷गराउनुपर्छ । भौगोलिक र जलवायुको विविधता भएको जडीबुटीको देश भएकाले यो हाम्रो पहिचान पनि हो । आयुर्वेदभित्र विकसित भएको नाडी विज्ञान हाम्रो मौलिक विधा लोप हुने अवस्थामा छ । यो विषय दर्जनौं खर्चिला परीक्षणहरूको विकल्प पनि हो । यसलाई पुनःस्थापित गर्नुपर्छ । आयुर्वेदीय औषधि उत्पादन प्रणालीमा प्रविधिको प्रयोग गरी खल परम्परालाई यन्त्रीकरण गर्नुपर्छ । आयुर्वेद केन्द्रहरूलाई स्वच्छन्द रूपमा औषधि उत्पादन गर्न दिनु हुँदैन । निश्चित मानांक, अनुपात, तौल र गुणस्तर कायम गरी बजारमा पठाउने गर्नुपर्छ ।

कुनै पनि प्रविधिक विषय बौद्धिक सम्पत्तिको उचित बारबन्देजविना छाडा हुन्छ र विनाश हुन्छ । हाम्रा जडीबुटीयुक्त जैवी साधनहरूको अधिकारको कब्जा (बायोपाइरेसी)लाई अविलम्ब रोक्नुपर्छ । कोरोना उपचारको क्रममा विकसित भएका औषधि उत्पादन विधि र उत्पादित औषधिका परिकारहरूको बौद्धिक सम्पत्ति अधिकार सुनिश्चित गर्नुपर्छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [1]
User Image

Dil Prasad Shrestha

[Sep 27, 2020 07:02am]

Very thoughtful write-up and useful.


प्रतिक्रिया दिनुहोस्