ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४ वर्षपछि चालू खाता बचतमा

२०७७ असोज, ११  
समाचार
Image Not Found
author avatar ममता थापा

काठमाडौं । लगातार ४ वर्षसम्म घाटामा रहेको चालू खाता चालू आर्थिक वर्ष (आव)मा बचतमा रहन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार चालू आव २०७७/७८ को पहिलो महीनामा चालू खाता रू.२५ अर्ब ४१ करोडले बचतमा रहेको छ ।

यस अवधिमा चालू खाता अमेरिकी डलरमा २१ करोड २१ लाखले बचतमा रहेको छ । कोरोना महामारीका कारण आयातमा संकुचन, विदेश भ्रमणमा कमी आउँदा देशबाट बाहिरिने रकम नियन्त्रित भएकाले र विप्रेषण आप्रवाह बढेकाले लामो समयपछि नेपालको चालू खाता बचतमा रहेको हो ।

यसअघि २०७२/७३ को पहिलो महीनामा मात्र चालू खाता रू. ८ अर्ब १५ करोडले बचतमा रहेको थियो । आव २०७३/७४ देखि २०७६/७७ सम्म यस्तो खाता घाटामा रहँदै आएको थियो । आर्थिक वर्ष २०७६/७७ को पहिलो महीनामा चालू खाता रू. ९ अर्ब ३४ करोड घाटामा थियो । यस्तै, आव २०७५/७६ आयातमा उच्च वृद्धि हुँदा चालू खाता घाटा विस्तार भई रू. २५ अर्ब ३८ करोड पुगेको थियो । व्यापारघाटा बढ्दा आव ०७४/७५ मा चालू खाता घाटा रू. ५ अर्ब ९८ करोड थियो भने आव २०७३/७४ को पहिलो महीनामा विप्रेषण आप्रवाह र वैदेशिक अनुदान घटेकाले यस्तो खाता रू. २ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

यसैगरी, चालू खाता बचत भएसँगै सो अवधिमा देशबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढ्दा शोधनान्तर स्थिति रू. ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । आव २०७६/७७ को सोही अवधिमा शोधनान्तर स्थिति रू.६ अर्ब ५ करोडले बचतमा रहेको थियो ।

लामो समयपछि बचतमा रहेको चालू खाताले समग्र मुलुकको बचत राम्रो भएको तर लगानीको अवस्था कमजोर भएको प्रतिबिम्बित गर्ने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टको भनाइ छ ।

आगामी दिनमा नेपालमा ठूला पूर्वाधार निर्माण गर्न आवश्यक सामग्री आयातका लागि नेपालमा बचत हुनु राम्रो पक्ष भएको औंल्याए । ‘अहिले चालू खाता बचत हुनु भनेको मुलुकको बचत धेरै र लगानी कम हुनु हो । बैंकको कर्जा प्रवाह, औद्योगिक तथा निर्माण सामग्रीलगायतको आयात प्रवृत्ति र सरकारको पूँजीगत खर्च घटेको छ । लगानी कम हुँदा आर्थिक गतिविधि कम भएर अर्थतन्त्र चलायमान पनि नहुने अवस्था हुन्छ,’ उनले अभियानसँग भने, ‘यद्यपि अहिले बचतमा रहे भोलिका दिनमा आर्थिक गतिविधि बढाउन स्रोतको कमी हुँदैन । बचत नभए ऋण लिनुपर्ने बाध्यता हुनजान्छ । चालू खाता घाटामा रहँदा पनि देशमा लगानी भइरहेको छ भन्ने आधार हुन्छ ।’

अर्थविद् केशव आचार्य भने कोरोना महामारीका बेला मुलुकमा लगानी गर्ने वातावरण नभएकाले चालू खाता बचत हुनु जरुरी र सकारात्मक पक्ष ठान्छन् । आर्थिक क्रियाकलाप करीब शून्य हुँदा चालू खाता बचतमा हुनु भनेको अर्थतन्त्र शक्तिशाली भएको देखाउने उनको तर्क छ । ‘नेपालले अन्तरराष्ट्रिय मुद्राकोष, विश्व बैंक, एडीबीजस्ता संस्थासँग ऋण सम्झौता पनि गरेको छ । यस्ता ऋण तथा अनुदानले पनि चालू खाता तथा शोधनान्तर बचतमा देखिन मद्दत पुगेको हुनसक्छ,’ उनले अभियानसँग भने । प्रवक्ता डा.भट्टका अनुसार आयातको मात्रा घट्नु र विप्रेषण बढ्नु , विदेश भ्रमणजस्ता सेवा खर्चमा कमी आउनु जस्ता कारणले चालू खाता बचतमा रहेको हो । चालू आवको साउनसम्म कुल वस्तु आयात चालू आवको साउनसम्म १९ दशमलव ६ प्रतिशतले घटेर रू. ८५ अर्ब ८१ करोड कायम र≈यो । यसपटक चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, कोइला, खाने तेललगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एमएस बिलेट, हटरोल सीटलगायत वस्तुको आयात घटेको छ । गत आवको सोही अवधिमा यस्तो आयात ११ दशमलव५ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महीनामा कुल वस्तु निर्यात ८ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. ९ अर्ब ६२ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महीनामा कुल वस्तु व्यापारघाटा २२ दशमलव २ प्रतिशतले घटी रू.७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो ।

चालू खाता तथा शोधनान्तर बचतमा हुनुको अर्को कारण नेपालबाट भ्रमण, शिक्षाका लागि खर्च हुने सेवा खातामा कमी आउनु हो । चालू आवमा भ्रमण व्यय ७७ दशमलव ४ प्रतिशतले घटी रू.१ अर्ब ५८ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रू.१ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू.७ अर्ब २ करोड रहेकोमा शिक्षातर्फको व्यय रू.३ अर्ब ४९ करोड रहेको थियो । तर, सेवाबाट आम्दानी पनि घटेको छ, यो भने मुलुकका लागि हानिकारक हो । पर्यटनबाट हुने आम्दानी घट्दा कुल खुद सेवा आय रू.२ अर्ब ४५ करोडले घाटामा रहेको छ । यसवर्ष भ्रमण आय मात्र ८६ दशमलव १ प्रतिशतले कमी आई रू. ६० करोड ५६ लाख कायम भएको छ ।

एकै महीनामा आकाशियो तरकारीको मूल्य
मुलुकको समग्र उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि) नियन्त्रित देखिए पनि खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको छ । गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । गतवर्ष यस्तो मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत थियो । यसपटक तरकारीको मूल्य एकै महीनामा धेरै वृद्धि भयो । गत असारको तुलनामा साउनमै तरकारीको मूल्य २८ दशमलव २१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ । यसैगरी, २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तीजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव  शून्य ४ प्रतिशत रहेको छ ।

विदेशी विनिमय सञ्चिति १४ खर्ब
गत साउनसम्ममा कुल विदेशी विनिमय सञ्चिति रू. १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब २ करोड छ । २०७७÷७८ को पहिलो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्