ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थतन्त्रको गति

२०७७ असोज, १२  
सम्पादकीय
Image Not Found

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले लगातार ४ वर्षसम्म घाटामा रहेको चालू खाता चालू आवको पहिलो महीनामा बचतमा रहेको छ । त्यस्तै मुलुकको टाउको दुखाइ बनिरहेको आयात ओरालो लागेको छ भने निर्यात थोरै भए पनि बढेको छ । वैदेशिक रोजगारीमा जानेहरू स्वदेश फर्किए पनि विप्रेषण आय भने बढेको छ । तर, यी सूचक राम्रा हुँदाहुँदै पनि अर्थशास्त्रीहरू चिन्तित छन् ।

विप्रेषण आय घट्ने आकलन गरिरहँदा उल्टै विप्रेषण बढिरहेको देखिन्छ । यसको कारण हुन्डीमार्फत हुने कारोबार कम हुनु तथा अवैध सुन आयात रोकिनु रहेको आकलन गरिएको छ ।

चालू खाता बचतमा रहनुको कारण एउटा प्रमुख कारण आयातमा संकुचन आउनु हो । आयात बढ्दा व्यापारघाटा बढ्छ, चालू खाता र शोधनान्तरमा समेत असर पार्छ । यति हुँदाहुँदै पनि आयात बढ्नु अर्थतन्त्र विस्तारका लागि आवश्यक नै मानिन्छ । खासगरी कस्ता वस्तुको आयात भएको छ भन्ने कुराले बढी महत्त्व राख्छ । उपभोग्य वस्तु र विलासिताका वस्तुको आयात हुँदा अर्थतन्त्र विस्तार त हुन्छ तर त्यसले उत्पादन बढाउँदैन । औद्योगिक कच्चा पदार्थलगायत उत्पादनका सहायक वस्तुको आयात बढ्दा देशको उत्पादन बढ्छ र त्यसले आर्थिक वृद्धिका लागि ठोस योगदान दिन्छ । अहिले आयात घट्नुका कारण पेट्रोलियम पदार्थको आयात घट्नु एउटा प्रमुख कारण मानिन्छ । जलविद्युत्को छेलोखेलो भएर उद्योग, यातायात तथा घरेलु खपतमा यसको व्यापक उपयोग भई विस्थापनमा परेर पेट्रोल आयात घटेको भए अर्थतन्त्रमा सकारात्मक असर पर्ने थियो । तर, कोरोना महामारीका कारण यातायातका साधन चल्न नसक्दा पेट्रोलियमको आयात घटेको देखिन्छ । त्यसो त नेपालको औद्योगिक उत्पादनसमेत घटेको छ । खाद्यान्नबाहेकका उद्योगले आफ्नो क्षमताभन्दा निकै कम उत्पादन गरिरहेका छन् । चालू खाता बचतमा रहनुको कारण सरकारले वित्तीय सुधार तथा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि लिएको ऋण पनि एउटा कारण मानिन्छ । त्यसैले शोधनान्तर र चालू खाता बचतबाट उत्साहित हुनुपर्ने अवस्था नदेखिएको हो ।

त्यस्तै अध्ययन तथा भ्रमणका लागि नेपालीहरू विदेश जान पाएका छैनन् जसले गर्दा भ्रमण व्यय पनि भएको छैन । पर्यटन आय झन्डै शून्य रहेको अवस्थामा भ्रमण व्यय जोगिनु राम्रो हो । सरकारले खर्च कटौती अभियानबाट यस्तो व्यय कम गरेको भएचाहिँ प्रशंसनीय हुन्थ्यो । त्यसो नहुँदा यो चिट्ठामा परेको बचत जस्तो मात्रै हो भन्न सकिन्छ ।

पेट्रोलियम पदार्थको आयात घट्दा सबैभन्दा बढी आयात हुने वस्तुमा मोबाइल परेको छ । यसले सूचनाको पहुँच बढाउने भएकाले अर्थतन्त्रमा सकारात्मक असर पार्न सक्छ । तर, यो आँकडाले नीतिनिर्माताहरूका लागि ठूलो मार्गदर्शन नै गरेको छ भन्न सकिन्छ । मोबाइलको आयात बढी देखिनुमा मोबाइल वैधप्रणालीबाट आयात हुनु प्रमुख कारण देखिएको छ । संख्या उस्तै भए पनि चोरीपैठारी कम भएको देखिन्छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छैन तर रोजगारी गुमाएर स्वदेश फर्कनेको संख्या निकै छ । यस्तोमा विप्रेषण आय घट्ने आकलन गरिरहँदा उल्टै विप्रेषण बढिरहेको देखिन्छ । यसको कारण पनि हुन्डीमार्फत हुने कारोबार कम हुनु तथा अवैध सुन आयात रोकिनु रहेको आकलन गरिएको छ ।

सरकारले सकेसम्म कर कम लगाउने अथवा कर शून्य गरेर वस्तु तथा सेवाको आयातलाई वैध प्रणालीमा समेट्ने नीति लिनुपर्छ । त्यस्तै करको दर बढाउनुभन्दा यथाशक्य बढी जनतालाई करको दायरामा ल्याई औपचारिक अर्थतन्त्रमा समेटने नीति लिइनुपर्छ । यसो गर्दा व्यापार तथा अन्य आर्थिक गतिविधिहरू औपचारिक प्रणालीमा आबद्ध हुन खुशीका साथ तयार हुन्छन् । अनावश्यक प्रशासकीय झन्झट तथा करको त्रासका कारण अवैध बाटोबाट सामान आयात गर्ने तथा आफ्नो कारोबारलाई अनौपचारिक रूपमै सञ्चालन गर्ने मानिसहरूले सहज मानिरहेका छन् । त्यसैले सरकारले यस्तो झन्झटलाई सकेसम्म कम गरेर औपचारिक प्रणालीलाई बलियो बनाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्