ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विवाद समाधान भइसक्दा पनि अघि बढेन प्रशासनिक मार्गको काम

२०७७ असोज, १२  
कर्णाली प्रदेश
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । कामको शुरुआतमै विवादका कारण बन्द रहेको दैलेखको प्रशासनिक मार्ग अन्तर्गत ठाटीकाँध खण्डको काम सहमति भएको महीनौं बितिसक्दा पनि अघि बढ्न सकेको छैन । दैलेख क्षेत्र नं २ का तीन नगरपालिका र दुई गाउँपालिकाको विकासको मेरुदण्ड मानिएको ठाटीकाँध सडक खण्डको काम अलपत्र परेको छ ।

स्थानीय जनप्रतिनिधिबीचको खिचातानीका कारण सडक निर्माणले गति लिन नसकेको हो । २ वर्ष अघिदेखि जनप्रतिनिधिहरूले सडक आ–आफ्नो वडाबाट लैजाने होडबाजीले गर्दा सडक डिभिजनले काम गर्न नसकेको बताइएको छ ।

गत वैशाख पहिलो साता प्रशासनिक मार्गको भैरवस्थान–प्याडुल्ली खण्डको नयाँ ट्र्याक खोल्ने क्रममा वडा नं १ र २ का स्थानीयले आन्दोलन नै गरे । पछि प्रशासन र सडक डिभिजनले काम रोकेपछि पहिले उल्लेख गरिएकै ठाउँबाट सडक लैजाने सहमति भएको थियो । तर, काम अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । ठाटीकाँध–आठबीस खण्डमा पुर्वतिरबाट मटेलालाई जिरो प्वाइन्ट मानेर मटेल्ला–प्याडुली–भैरवस्थान–ठाटीकाँध–पाँचाला–आग्र हुँदै स्याउलेकाँध जोड्ने उल्लेख छ । यद्यपि, उल्लेख गरिए भन्दा फरक ठाउँ (पिपलचौतारा–प्याडुली)बाट सडक लैजाने गाउँपालिका अध्यक्ष शाही र वडाध्यक्ष रूप विश्वकर्माको स्वार्थले विगत १ वर्ष अघिदेखि सडकको नयाँ ट्र्याक खोल्न रोकिएको थियो ।

सडकको सहमति भएपछि पञ्चबडीमालिका निर्माण सेवा कम्पनीले कामको जिम्मा पायो । निर्माण कम्पनीले असारमा प्याडुल्लीतर्फ सडक खन्न शुरू गर्‍यो । बीचमा जंगल पर्ने भएकाले ठेकेदारले कुनै पनि प्रक्रिया नमिलाएको भन्दै वनका कर्मचारी र सडक डिभिजनद्वारा काम रोकिएको छ । पञ्चबडीमालिका निर्माण सेवा कम्पनीका प्रतिनिधि राजेन्द्रबहादुर शाहीले काम रोकिएको बताए ।

सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले ‘ठेक्काको क्वालिटी नपुगेकाले अहिले काम रोक्न लगाइएको र काम गरिएको भन्दा कम रकम भुक्तानी दिइएको बताए । ‘त्यहाँ करीब ८० लाख बराबरको ठेक्का परेको थियो । यद्यपि, कम्पनीले घटेर ठेक्का लिएको थियो,’ उनले भने, ‘हामी यो काम आजसम्म सम्पन्न गरिसक्थ्यौं । जनप्रतिनिधिबीचको विवादले ढिलाइ भएको हो ।’

ट्र्याक खोल्नै १३ वर्ष बित्यो
२०६४ सालमा आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यसहित दैलेख सदरमुकाम–राकम कर्णाली जोड्ने छोटो मार्गको रूपमा काम अघि बढ्यो । त्यो बेला क्षेत्रीय सडकको रूपमा अघि बढेको सडकको हालसम्म खण्ड–खण्डमा ट्र्याक खोल्ने र एकसरो कच्ची सडकमा सीमित छ । पहिलो वर्ष सडकले रू. ७४ लाख पाएपछि राकम–तीलेपाटा आसपास क्षेत्रसम्म ट्र्याक खोलिएको प्रतिनिधिसभा सांसद राजबहादुर बुढाले बताए ।  त्यो बेलामा बुढा सभासद् थिए । ट्र्याक खोल्ने कार्य अझै जारी छ । देश संघीय संरचनामा आइसक्यो, उक्त सडकको स्तरोन्नति हुन सकिरहेको छैन । सडकमा पूर्णरूपमा साना–तिना गाडी चल्न सक्ने अवस्था पनि नभएको स्थानीय बताउँछन् ।

शुरुआतदेखि हालसम्मको अवधिमा चारपटक शीर्षक बदलिएको छ । २०६४–७० सम्मको अवधिमा केन्द्रबाट दुईपटक सडकको शीर्षक नै हटाइएकको सांसद बुढाले बताए । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट लक्ष्मीप्रसाद पोखर निर्वाचित भए र सडकको शीर्षक परिर्वतन भएर प्रशासनिक मार्गको रूपमा समेटियो । अहिले पनि प्रशासनिक मार्ग भनेर नै चिनिन्छ ।

हालसम्म चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत पर्ने बुडेली–हाडाको–मटेलासम्मको नयाँ ट्र्याक खोलिएको स्थानीय बुद्धिजीवी निरक शाहीले बताए । सांसद बुढाका अनुसार हालसम्म सडकमा करीब १५ करोड रुपैयाँ बराबरको काम भएको छ । गतवर्ष ठाटीकाँध गाउँपालिकाको बजार–स्याउँलेकाँध, ठाटीकाँध– भैरवस्थान स्तरोन्नति  गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सडकले गति लिन नसक्नुको मुख्य कारण राज्यबाट बजेट उपेक्षित मात्रामा आउनु देखिएको छ । सडकमा कहिले १, कहिले २ करोड त कहिले केन्द्रबाट शीर्षक नै हटाउने गरिएकाले कामले गति लिन नसकेको सरोकारवालाको भनाइ छ । चालू आवदेखि यो सडकलाई ‘एक निर्वाचन क्षेत्र एक सडक’ शीर्षकमा समेटिएको सांसद बुढाले जानकारी दिए । ‘अब हामी स्तरोन्नतिमा लाग्नेछौं,’ उनले अभियानसँग भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्