ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राजस्व अनुसन्धान विभागको प्रभावकारिता बढेको दाबी

२०७७ असोज, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रधानमन्त्री मातहत आएपछि राजस्व अनुसन्धान विभागको प्रभावकारिता २ वर्षमा नै बढेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । राजस्व चुहावटका घटनामा पछिल्लो समय राष्ट्रसेवक कर्मचारीकै संलग्नता अनुसन्धानबाट देखिएको र त्यस्ता कर्मचारीमाथि मुद्दासमेत चलाइनुले विभागको प्रभावकारिता झन् बढेको अधिकारीहरूको भनाइ छ ।

राजस्व अनुसन्धान विभागका अनुसार २ वर्षमा चुहावट जस्ता घटनामा ११ जना आफ्ना कर्मचारी मुछिएका छन् । उनीहरूविरुद्ध मुद्दा दायरसमेत गरिएको छ । प्रधानमन्त्री मातहत आइसकेपछि विभागले २ वर्षको अवधिमा राजस्व चुहावट गर्नेविरुद्ध १९० ओटा मुद्दा चलाएको जानकारी दिएको छ । ११ जना राष्ट्रसेवक कर्मचारीसहित ६२१ जनालाई प्रतिवादी बनाएर अदालतमा दायर गरिएको मुद्दामा २५ अर्ब ११ करोड १० लाख बिगो असुल हुनुपर्ने विभागको दाबी छ ।

‘प्रधानमन्त्री कार्यालय मातहत आएपछि अनुसन्धानमा कुनै समूहको दबाब परेको छैन, चुहावटका घटनामा राष्ट्रसेवक कर्मचारीलाई पनि हामीले छाडेका छैनौं,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले अभियानलाई बताए ।

राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाइ केन्द्रित गरिएको र राजस्व प्रशासनमा सदाचार प्रवद्र्धन गर्दा राजस्व संकलनमा सकारात्मक सुधार हँुदै आएको मैनालीको भनाइ छ ।

विभागले प्रधानमन्त्री कार्यालय मातहत आएको वर्ष ९ अर्ब ८३ करोड रुपैयाँको मुद्दा टुंग्याएको थियो । पछिल्लो समय राजस्व चुहावटअन्तर्गत नै विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार बढिरहेको छ ।

अपराधका शैलीमा समेत अनुसन्धान गरी २ वर्षको अवधिमा त्यस्ता कारोबारमा संलग्न ४१६ जनालाई प्रतिवादी बनाई ५ अर्ब ९१ करोड ६९ लाख बिगो कायम गरी बिगोको तेब्बरसम्म जरीवाना एवम् ३ वर्षसम्म कैद मागदाबी मुद्दा अघि बढाइएको राजस्व अनुसन्धान विभागले बताएको छ । यसबाट राजस्व परिचालन र विप्रेषण आय प्राप्तिमा समेत सकारात्मक प्रभाव परेको विभागको ठम्याइ छ ।

गतवर्ष २०७६/७७ मा मात्रै राजस्व चुहावटको कसुरमा ९७ ओटा मुद्दामा ३२० जनाविरुद्ध मुद्दा चलाइएको थियो । १५ अर्ब १५ करोड बिगो असुल गर्ने गरी जरीवाना र कैद सजायसमेत माग दाबी गरी अदालतमा मुद्दा अघि बढाइएको विभागले जानकारी दिएको छ ।

सोही वर्ष विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा १४७ ओटा मुद्दा दर्ता गरी १ अर्ब २२ करोडको बिगो मागदाबी लिई २२७ विरुद्ध मुद्दा दायर गरेको छ ।

२०७५ सालअघि विभाग अर्थ मन्त्रालय मातहत रहँदा कतिपय व्यापारिक समूह र मन्त्रालयका अधिकारीहरूबाट अनुसन्धान प्रभावित पार्ने कार्य हुने गरेकोमा अहिले त्यस्तो भने नरहेको विभागका अधिकारीहरूको दाबी छ । चालू वर्ष २०७७/७८ मा मा राजस्व चुहावटको कसुरमा पाँचओटा मुद्दा अदालतमा पुगिसकेका छन् । त्यस्ता घटनामा संलग्न २२ जनाविरुद्ध ४५ करोड बिगो असुल गर्ने गरी जरीवाना र कैद सजायसमेत मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक मैनालीले बताए ।

बन्दाबन्दीपछि विभागले गरेको अनुसन्धानमा सागर प्लास्टिक कन्सर्न र सुप्रिम प्लास्टिक कन्सर्नले नक्कली बिलबीजक बनाएर ३२ करोड ६० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो । उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ । काठमाडौंकै बिकोइ स्काइ बंगलामुखी जेभीविरुद्ध पनि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सो संस्थाका साझेदार सञ्चालक रोशनकुमार श्रेष्ठले समेत राजस्व चुहावट गरेको भन्दै ८ करोड १ लाख बिगो असुल र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्