ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिमाना बन्दले जुराएको अवसर

२०७७ असोज, १२  
समाचार
NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सिमानामा आवागमन बन्द गरिएपछि सीमावर्ती भारतीय बजारबाट दैनिक उपयोग्य वस्तुको खरीद र त्यस्ता वस्तुको अवैध आयात घटेको छ । यसको सीधा लाभ स्वदेशी उद्योगलाई पुगेको छ । स्वदेशी उत्पादनले बजार पाएका छन् ।

उत्पादकहरू यो अवसर लामो समय टिक्नेमा ढुक्क भने छैनन् । सीमामा कडाइ हट्नेबित्तिकै आयातित वस्तुले स्वदेशी बजारमा पुनः कब्जा जमाउने चिन्ता उनीहरूको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले सीमा नाकामा मापदण्डविपरीत मानिसको आवागमनमा प्रतिबन्ध लगाएको छ । विगत ६ महीनादेखि आयातनिर्यात कारोबारबाहेक अन्य आवतजावतमा रोक लगाइएपछि सीमावर्ती भारतीय बजारबाट हुने किनमेलमात्र बन्द भएको छैन, अनधिकृत आयातमा समेत कमी आएको छ ।

सिमानामा कडाइ भएपछि स्वदेशमा उत्पादित खाद्यान्न, कपडा, फूटवेयर, दैनिक आवश्यकताका वस्तुलगायतको विक्री बढेको उद्यमी व्यवसायीले बताएका छन् । वीरगञ्जको ओसीबी फूडका सञ्चालक सुरेश रुंगटाका अनुसार स्वदेशी खाद्यान्न उत्पादनको विक्री २० प्रतिशतसम्म बढेको छ ।

कोरोना महामारी र नियन्त्रणका लागि अपनाइएका उपायले समग्र उत्पादन घटे पनि भारतीय बजारबाट हुने किनमेल र अवैध आयात रोकिएकाले स्वदेशी उत्पादन उपभोगको प्रवृत्ति बढेको उत्पादकले बताए । बन्दाबन्दीअघि सीमाक्षेत्रबाट राजस्व छलेर ठूलो परिमाणमा दैनिक उपभोग्य वस्तु, भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।

व्यवसायीका अनुसार अवैध रूपमा भित्रिएका खाद्यान्न, कपडा, भाँडाकुँडा, विद्युतीय र हार्डवेयरका सामान सीमावर्ती स्वदेशी बजारमा मात्र होइन, काठमाडौं उपत्यकासम्मै पुग्ने गरेका छन् । राजस्व छलेर भित्रिएका मालसामानका अगाडि स्वदेशी उत्पादन टिक्न नसक्ने उद्यमीको गुनासो छ ।

बितेको ६ महीनामा सीमा बन्द हुँदा स्वदेशी खाद्यान्न उद्योगले राहत महसूस गरेको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवार बताउँछन् । ‘वीरगञ्ज खाद्यान्न उत्पादनको केन्द्र हो । तर, वीरगञ्जकै बजारमा स्वदेशी ब्रान्डको खाद्यान्न भेट्टाउन कठिन थियो । अहिले स्वदेशी उत्पादनले बजार पाएको छ,’ कलवारले आर्थिक अभियानसँग भने । तर, कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाले समग्र उत्पादनमा भने नकारात्मक प्रभाव परेको उनको भनाइ छ । कोरोना महामारीका बेला चीनतिरका नाकाबाट सामान नआउनु र भारततर्फको खुला सिमाना बन्द भएपछि स्वदेशी बजारमा चप्पलको पनि माग बढेको सरोकारका उद्योगीले बताएका छन् । ‘चीनबाट सस्तो मूल्यमा चप्पल भित्रिँदा स्थानीय उत्पादनले बजार नपाइरहेका बेला त्यताबाट आयात रोकिएपछि स्वदेशी हवाई चप्पलको माग बढेको छ,’ प्रेस्टिज समूहका प्रबन्ध निर्देशक विनय शाहले बताए ।

त्यस्तै स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । यसअघि सामान्यतः अस्पतालहरूमा मात्र प्रयोग हुने स्यानिटाजर अहिले घरघरमा खपत हुन थालेको छ । माग बढेपछि स्वदेशका ४० औषधि उद्योगले उत्पादनको स्वीकृति लिएकामा ३० ओटाले उत्पादन थालेको नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालले बताए । स्यानिटाइजरको बजार बढ्दै गएपछि औषधि उद्योगले राम्रै सम्भावना देखेकोमा सरकारले गुणस्तरको मापदण्डविनै आयात गर्न दिएर स्वदेशी उद्योगको बजारसँगै जनस्वास्थ्यमा समेत गम्भीर खेलवाड गरिरहेको आरोप दाहालले लगाए । औषधि व्यवस्था विभागले असोजसम्म दर्ताका लागि समय दिएको छ ।

विभागले आयातमा गुणस्तरको मापदण्ड कार्यान्वयन गरेको छैन । औषधि व्यवस्था विभागले दर्ताका लागि असोजसम्मको समय दिए पनि गुणस्तर मापदण्डबारे केही व्यवस्था नगरेकाले गुणस्तर नहेरी आयात भइरहेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनी बताउँछन् । सीमाञ्चलका बजार प्रवृत्तिबारे लेख्दै आएका विश्लेषक एवम् उद्योगी जगदीशप्रसाद अग्रवाल यथास्थितिमा स्वदेशी उत्पादकले यो लाभ लामो समयसम्म लिन नसक्ने दाबी गर्छन् । ‘सीमा बन्द हुनुका कारण पाएको अवसर टिकाउ हुँदैन । स्वदेशी उद्योगले बजारमा दीर्घकालीन रूपमा प्रभाव जमाउन त उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ,’ निम्बस समूहका अध्यक्षसमेत रहेका अग्रवालले भने । स्वदेशीभन्दा सीमावर्ती भारतीय बजारमा सस्तो मूल्यमा सामान पाएसम्म उपभोक्ता उतै आकर्षित हुने अग्रवालको दाबी छ । स्वदेशी उत्पादनलाई आयातित वस्तुको तुलनामा सस्तो र गुणस्तरीय बनाएमात्रै दीर्घकालीन हुने उनले बताए । सरकारले पूँजी, ऊर्जा, श्रम, पारवहनलगायतको लागत घटाउने नीति लिनुपर्ने अग्रवालको सुझाव छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्