ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सासु कोष र नागरिक लगानी कोषको पेन्सनको तुलना

२०७७ असोज, १२  
लेख | दृष्टिकोण
Image Not Found

सरकारको योगदान नभएको र सामाजिक सुरक्षाको दायरामा नसमेटिएका नागरिकहरूले भविष्यमा सृजना हुन सक्ने भवितव्यजन्य घटनाक्रमबाट जोगिने गरी विभिन्न निजी योजनाहरू प्रचलनमा रहेका छन् । यस्ता योजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन व्यक्ति स्वयम्ले गर्नुपरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजना र सरकारको आंशिक स्वामित्व रहेको नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’ बीचको तात्त्विक भिन्नता र सहभागीले पाउने सुविधाका विषयमा यस आलेखमा विवेचना गरिएको छ ।

सामाजिक सुरक्षा कोष : वृद्धावस्था सुरक्षा योजना
श्रम ऐन, २०७५, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, योगदानमा आधारिक सामाजिक सुरक्षा नियमावली २०७५ र सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७५ अन्तर्गत सामाजिक सुरक्षा कोषबाट सामाजिक सुरक्षाका विभिन्न ५ योजनाहरू सञ्चालित छन् । रोजगारदाताको २० प्रतिशत तथा कामदार, कर्मचारीको ११ प्रतिशतसहित कुल ३१ प्रतिशत योगदानमा सबैभन्दा बढी २८ दशमलव ५ प्रतिशत जसमा श्रमिकको सञ्चय कोषबापतको २० प्रतिशत, उपदानबापतको ८ दशमलव ३३ प्रतिशत गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट कोषले वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्छ । यस योजनाअन्तर्गत योगदानकर्ताले क) पेन्सन ख) अवकाश सुविधा पाउने व्यवस्था रहेको छ ।

१५ वर्ष योगदान गरी उमेरले ६० वर्ष पूरा भएपछि कोषमा जम्मा भएको रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पेन्सनका रूपमा प्रदान गर्ने व्यवस्था छ । २०७६ साल साउन १ गतेभन्दा अघि प्रचलित कानूनबमोजिमको सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरूले पेन्सनका लागि निवेदन नदिएमा कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदानबापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान गरी २८ दशमलव ३३ प्रतिशत र सोमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउने व्यवस्था छ । तर, २०७६ साउन १ पश्चात् कोषका सहभागीहरूको हकमा १५ वर्ष योगदान गरेर उमेरले ६० वर्ष पूरा हुँदा पेन्सन लिन इच्छुक नभएमा उपदान रोज्ने सुविधा छैन ।

योगदानकर्ताले १५ वर्षको योगदान नगर्दै ६० वर्ष उमेर पूरा भएको रहेछ भने त्यस्तो योगदानकर्ताले निजले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट रूपमा फिर्ता लिन वा कुल रकमलाई १८० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर निवृत्तभरण लिनेमध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्नेछ । कुनै योगदानकर्ताले पेन्सन प्राप्त गर्न शुरू गरेपछि १५ वर्ष निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी नभएको वा निवृत्तिभरण पाउने अवस्था नभएमा मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिभरणको ५० प्रतिशतले हुन आउने रकम आजीवन निवृित्तभरण प्रदान गरिनेछ । तर, योगदानकर्तासँग निजको वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुने छैन ।

नागरिक लगानी कोष : नागरिक पेन्सन योजना
नागरिक लगानी कोषले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न सक्ने नागरिक लगानी कोष ऐन २०४७ मा भएको व्यवस्थाबमोजिम व्यापक सहभागितामूलक बचत कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतालाई परिपूर्ति गर्नका लागि निश्चित अवधिपछि ‘पे एज यु गो’ को आधारमा पेन्सन योजनामा रूपान्तर गर्ने प्रावधानसहितको नागरिक पेन्सन योजना ल्याएको हो । यसले बचतकर्तालाई तोकिएको उमेर र योगदान अवधिपछि नियमित पेन्सन उपलब्ध गराउने जस्तो सामाजिक सुरक्षाको सुविधा प्रदान गर्ने प्रावधान राखेको छ ।

सहभागीले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रूपमा जसरी सहज हुन्छ त्यसरी नै जम्मा गर्न सकिने व्यवस्था छ ।

१५ वर्ष योगदान गरी उमेरले ६० वर्ष पूरा भएपछि कोषमा बचत रकम, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल (बोनस) समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना आजीवन पेन्सन पाउने व्यवस्था छ । पेन्सन लिन नचाहेमा सहभागीले बचत रकम, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल (बोनस) समेत जोडी हुन आउने कुल रकम एकमुष्ट फिर्ता पाउनेछन् । यो योजनाका सहभागी बचतकर्तालाई ५ वर्ष पूरा भएपछि ८० (असी) प्रतिशतसम्म सापटी लिन सक्ने व्यवस्था छ । जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारका लागि निजको नजीकको आश्रित परिवार सदस्य वा हकवालालाई १० हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराइने व्यवस्था छ । बचतकर्ताले कोषद्वारा तोकिएका निजी अस्पतालमा औषधि उपचार गर्दा लाग्ने खर्चमा छूट सुविधा प्रदान हुनेछ । अन्य प्रवद्र्धनात्मक सुविधाहरू (सहभागी दुर्घटना बीमा, आवास कर्जा, शैक्षिक कर्जा, सरलचक्र कर्जा) आदि प्राप्त हुन सक्ने व्यवस्थासमेत रहेको छ ।

बचत गरेको कम्तीमा २ वर्ष पूरा भएमा बचत भएको रकम एकमुष्ट फिर्ता भुक्तानी पाइनेछ । यदि बचतकर्ताको पेन्सन शुरू भएपछि निज र निजको श्रीमान् वा श्रीमती दुवैको मृत्यु भएमा कोषमा सम्बद्ध व्यक्तिको नाममा बाँकी रहेको बचत रकम निजहरूको कानूनी हकदारलाई प्रदान गरिनेछ ।

कुनै योगदानकर्ताले पेन्सन प्राप्त गर्न शुरू गरेपछि जुनसुकै समयमा निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको सरह नै पेन्सन प्रदान गरिनेछ ।

राष्ट्र सेवकको पेन्सन र उपदानको व्यवस्थापन राज्यले, औपचारिक क्षेत्रमा कामदार कर्मचारीहरूको सामाजिक सुरक्षा कोषले र सर्वसाधारण नागरिकको नागरिक पेन्सन योजनाले समेट्दै गर्दा देशमा सामाजिक सुरक्षाको दायरामा सबै नागरिक आउन सक्ने मौका भने यहाँ सृजना भएको छ । यस्ता सामाजिक सुरक्षाका अवधारणामा सहभागी हुन आम नागरिकलाई राज्यले प्रोत्साहन गर्नुपर्छ । राज्यको दायित्व भनेको सामाजिक सुरक्षाको हकको कार्यान्वयन पनि हो ।

नागरिक लगानी कोषमा कार्यरत लेखकका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्