ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुर क्षेत्रका अधिकांश पानी उद्योग खाद्य निर्देशिका विपरीत सञ्चालन 

२०७७ असोज, १२  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, जनकपुरधाम । जनकपुरधाममा चाडपर्वलक्षित बजार अनुगमन शुरु गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहित सरोकारबला निकायले आइतवार आधा दर्जन पानी उद्योगमा छडके अनुगमन गर्दा यसक्षेत्रका अधिकांश पानी उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित जयप्रकाश साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा सबैभन्दा बढी कमजोरी पाइएको खाद्य निरीक्षक प्रविन तिवारीले बताए ।

उनका अनुसार उद्योगमा लेवल विवरण अपूर्ण रहेको, सरसफाईको पुर्वाधार नरहेको, भण्डारण कक्षको व्यवस्थापन नभएको र बोतल व्यवस्थित नभएको जस्ता कमजोरी पाइएको छ । खाद्य निरीक्षक तिवारीले उद्योग सञ्चालक साहलाई सात दिने अल्टिमेटम दिंदै सुधार गर्न निर्देशन दिएका बताए ।

पानीको बोतलमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नरहेको भन्दै पानी विक्री वितरण गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।अल्टिमेटमको अवधिमा उद्योगका कमजोरी सुधार गरी सञ्चालकलाई बयानको लागि कार्यालयमा उपस्थित हुन पनि भनिएको छ ।

उद्योगलाई दिइएको समयमा सुधार नभए कारवाही प्रक्रिया अगाडि बढाउने पनि उनले बताए । जनकपुरकै गुरु ड्रिकिङ वाटरमासमेत कमजोरी फेला परेको छ ।

विक्रम मण्डल सञ्चालक रहेको पानी उद्योगलाई पनि सरसफाई गरी निर्देशिका अनुसार पानी उत्पादन एवं विक्री वितरण गर्न भनिएको छ ।यसैगरी जनकपुरधाम–१४ मा रहेको डेलि फ्रेस वाटर खाद्य निर्देशिका विपरीत सञ्चालन रहेको पाइएको छ । उक्त उद्योग पनि सरसफाई नरहेको, निर्देशिका विपरीत रहेको र लेवल विवरण अपूर्ण रहेको पाइएको छ ।

उक्त उद्योगको पानी विक्री वितरणमा रोक लगाई आवश्यक मापदण्ड पुरा गरी सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । जनकपुरधाम–८ स्थित बेचन यादवले सञ्चालन गरेको एभेरेष्ट मिनरल वाटरबाट उत्पादित पानीको विक्री वितरणमा पनि रोक लगाइएको छ ।

यस्तै, जनकपुरधाम–५ स्थित विशाल साह सञ्चालक रहेको साकम्बरी निर्मल जलमा लेबल विवरण उल्लेख नरहेको पाइएको छ । कार्यालयले उद्योगलाई सुधार गर्न भनेको छ ।
 यस्तै मिथिला विहारी नगरपालिका ठेरा स्थित सञ्चालन रहेको बलाजि ड्रिकिङ वाटरमा सम्पूर्ण मापदण्ड पुगेको पाइएको हो । उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठसमेत सहभागितामा भएको बजार अनुगमनमा कमजोरी देखा परेको भन्दै व्यवसायीलाई  सरसफाईमा ध्यान दिन 

लक्ष्मी, डेली, गुरु, एभेरेष्ट र साकम्बरी मापदण्ड विपरीत सञ्चालनमा रहेका पानी उद्योग उदाहरण मात्र हुन् । जनकपुरका प्रायः पानी उद्योगले मापदण्डको पालना गरेका छैनन् । कार्यालयले पटक–पटक बजार अनुगमन गरेपनि स्रोतसाधन अभावमा लक्ष्य पुरा गर्न नसकेको कार्यालय प्रमुख विजय खनालले बताए ।

‘अनुगमन हुन्छ, तर त्यसको निरन्तरता हुन नसक्दा हामीले चाहे अनुरुप बजारमा सुधार ल्याउन  सकेका छैनौं,’ उनले भने, ‘प्रत्येक व्यवसायीमा केही न केही कमजोरी पाइन्छ । त्यो सबैलाई कारवाही गर्ने कुरा भएनन । कतिपयलाई सुधार गर्ने मौका पनि दिनुपर्छ । अत्याधिक कमी कमजोरी पाइएको व्यवसायीलाई कारवाही भएकै छ ।’ उद्योगका कमीकमजोरी सुधार भयो कि भएन हेर्न पुनः एक सातापछि अनुगमन गर्ने उनले बताए ।

तर, बजार अनुगमनकर्ता व्यवसायीको प्रलोभनमा पर्दा उपभोक्ता भने सधैं उपहासको पात्र हुने गरेको जनगुनासो रहेको छ ।

‘अनुगमन र उपभोक्ता अधिकार कागजमा मात्रै सीमित भएको छ । अनुगमनको नाममा बजार डुल्ने र घुम्ने काम मात्रै कर्मचारीले गरेका छन्,’ स्थानीय उपभोक्ता सरोज यादवले भने, ‘औपचारिकत्ताको लागि मात्र बजार अनुगमन भएको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्