ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रौतहटका चार स्थानीय तहको परिषद् अझै भएन

२०७७ असोज, १३  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

रौतहट । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहले परिषद् गरी १५ गते बजेट पारित गर्नुपर्ने प्रावधान छ । तर रौतहटका १८ स्थानीय तहमध्ये चारओटा नगरपालिकाको नगर परिषद् अझै हुन सकेको छैन । नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण देवाही गोनाही, राजदेवी, कटहरिया र फतुवा विजयपुर नगरपालिकाको परिषद् हुन नसकेको हो ।

नगर परिषद् समयमै नहुँदा विकास निर्माणका योजनाहरू पनि प्रभावित भएका छन् । आगामी आवका विकास निर्माणका योजना र चालू आवमा गरिने कामको योजना तर्जुमा हुन नसकेको हो । देवाही गोनाही नगरपालिकामा गत आवमा पनि विवादका कारण ढिला गरी परिषद् भएको थियो । नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले उपप्रमुख पनरिया देवीकै कारण परिषद् प्रभावित भएको आरोप लगाए । अघिल्लो वर्षको हिसाब हेरेर मात्र परिषद् गर्न दिइने उपप्रमुख परनिया देवीको अडान छ ।

कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा र उप प्रमुख नुरजहा खातुनबीचको विवादले परिषद् हुन नसकेको हो । यस्तै राजदेवी नगरपालिका नगर प्रमुख धीरेन्द्र सिंह र उपप्रमुख अन्सु सिंहबीचको विवाद उत्कर्षमा पुगेपछि परिषद् नै अन्योलमा छ । फतुवा बिजयपुर नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुखबीचको विवादले नै परिषद् नभएको हो । संघीय मामिला मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा असार १० गते पेश गरिएको बजेटको विवरण माग गरेकोे छ । तर परिषद् नै नभएका नगरपालिकाले विवरण दिने सक्ने अवस्था छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्