ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कहरकै बीच काभ्रेका विद्यालयमा पठनपाठन शुरू

२०७७ असोज, १३  
वाग्मती प्रदेश
NA

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरू गरिएको छ । लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई ध्यानमा राखेर विस्तारै सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरू गरेका छन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमवार, तेमालले मंगलवार र रोशीले बुधबारदेखि सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमवारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले बताएको छ ।

विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताए ।

बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेदेखि ‘टोल शिक्षा’को रूपमा टोलटोलमै गएर पढाउने र साउन १६ गतेदेखि ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरिएकोमा अहिले प्रत्यक्षरूपमा कक्षामै पढाउन थालिएको प्रधानाध्यापक देउजाले बताए ।
विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढ्न पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताइन् । परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरूले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताए ।

सो वडाका अध्यक्ष सुन्दर लामाले अभिभावकबाटै पठनपाठन शुरू गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरूका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आएका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुन सक्ने मानसिक तनावलाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरू गरिएको उनले बताए । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय छन् ।

यस्तै तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । वडा नं ७ स्थित भूमेश्वर आधारभूत विद्यालय कुरुवासमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक कर्मचारीको संयुक्त बैठकले मंगलवारदेखि दिनको तीन सत्रमा चलाउने निर्णय गरिएबमोजिम बिहान, दिउँसो र बेलुका गरी कक्षा सञ्चालन शुरू गरेको छ । विद्यालयका प्रधानाध्यापक कुवाङ्छु लामाका अनुसार बालकक्षा भने हप्ताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले बताएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुनलगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरू गरिएको बताए । तेमालमा ४१ विद्यालय छन् ।

यसैगरी रोशी गाउँपालिकाले पनि बुधवार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरू गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी संख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी संख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले बताए । विद्यालय सञ्चालन गर्नुपूर्व पालिकाले विद्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री स्यानिटाइजर र मास्क वितरण गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्