ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बन्दाबन्दीले थलिए माछापालक कृषक

२०७७ असोज, १३  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

जनकपुरधाम । धान खेतीमा बढी लागत र उत्पादन कम भएपछि माछापालन सुरु गरेका धनुषाका कृषकले कोरोना महामारीपछि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण लाखौं घाटा सहनु परेको छ ।

धान खेती मासेर माछापालन गरेका जिल्लाका कृषकले कोरोना महामारीका कारण माछा बिक्री हुन नसकेपछि लाखौं घाटा बेहोर्नु परेको हो ।

धनुषाका राजु मुखियाले ९ वर्ष पहिले विकल्पमा माछापालन व्यवसाय रोजे । धान खेतीयोग्य जमिन मासेर उनले करिब तीन बिघा खेतमा माछा पाल्ने पोखरी निर्माण गरे । प्रतिबिघा २० क्विन्टल धान उत्पादन हुने खेतबाट उनले माछापालन गरेरै वार्षिक ४ चार लाख  आम्दानी लिँदै आएका थिए ।

‘चैतयता उत्पादन भएको माछा बिक्रीमा समस्या भएको छ । बजार अभाव हुनुको साथै लागतअनुसार मूल्य पनि पाउन सकिएको छैन,’ उनले भने, ‘बजार अभावका कारण बिक्री नहुँदा पोखरीमै माछा मर्न थालेका छन् ।’

पोखरीमा काम गर्ने मजदुरलाई तलब दिनुपर्ने, माछालाई दाना खुवाउनुपर्ने र बजारसम्म पु¥याउन समस्या भएकाले माछा उत्पादनमा कमी आएको उनको भनाइ छ । बजार खुला भएपछि पनि केही समय उत्पादनमा कमी आउन सक्ने अनुमान उनको छ ।

पोखरीमै मरे माछा
राजु मुखियाजस्तै हंसपुरका प्रवीन मुखियाको पनि पीडा उस्तै छ । व्यावसायिक माछापालन गर्दै आएका उनी  पहिलो पटक व्यवसायमा समस्या भोगेको सुनाउँछन् । साढे पाँच वर्षदेखि २ बिघा जमिनमा पोखरी बनाएर माछा पालेका उनले लकडाउन अवधिमा १ सय ३५ केजी भुरा माछा मरेको गुनासो गरे ।

‘मौसमका कारणले भुरा माछा म¥यो,’ उनले भने, ‘बन्दाबन्दीले भुरा ल्याउनै नपाएपछि पोखरी रित्तै छ ।’ बन्दाबन्दीअघि दैनिक २० हजार रुपैयाँसम्मको माछा बिक्रीबाट आम्दानी लिने गरेको उनले बताए ।

‘घर खर्च चलाउने र व्यवहार मिलाउने गरी सघाएको माछा व्यवसाय ठप्प हुँदा ऋणको ब्याज, थप लगानीमा घाटा बेहोर्नुप¥यो । बन्दाबन्दीले होटलसमेत बन्द हुँदा माछाको खपतमा कमी आएको र व्यवसाय नै डुब्ने खतरा बढेको उनको गुनासो छ ।

दाना अभाव
सरकारले चैत ११ देखि गरेको बन्दाबन्दीले भएको माछाको दाना अभाव अझै नहटेको कृषकहरू बताउँछन् । दाना उद्योग लामो समय बन्द हुँदा बजारमा दाना नपाउने, पाए महँगो पाउनेजस्ता समस्या माछा किसाले भोग्नु परेको छ ।

दाना अभावकै कारण माछा उत्पादनमा केही दिन ह्रास आउने उनीहरू बताउँछन् । करिब ५ बिघामा माछा पाल्दै आएका अर्का किसान श्याम भण्डारी दाना अभाव बेहोर्नु परेको बताउँछन् ।

‘बजारमा दाना पाइँदैन । दाना अभावकै कारण पोखरीमै दैनिक २० केजी माछा मरे,’ उनले भने, ‘दाना उद्योग बन्द हुँदा बजारमा अभाव भएको हो । भएका पसलले पनि
कालोबजारी गरे ।’

वर्षौंदेखि माछा पालेर राम्रो आम्दानी गरिरहे पनि कोभिड–१९ ले निम्त्याएको त्रासले यस वर्षको आम्दानी गुम्ने अवस्था आएको उनले बताए ।

प्रदेश २ माछा उत्पादनमा आत्मनिर्भर बनेको छ । देशमै कुल मागको ६० प्रतिशत माछा प्रदेश २ मा उत्पादन हुने गरेको छ ।

भारतीय माछाले नेपाली कृषकलाई चुनौती
नेपाली माछाको बजारीकरणमा केही समस्या भए पनि विगतको तुलनामा  माछा उत्पादन बढेको छ । तर, नेपाली माछालाई भारतीय माछाले चुनौती दिँदै आएको छ । भारतीय माछाले नेपाली माछाको बजार गुम्नु र मूल्य कम पाउने समस्या रहेका माछापालक कृषकहरूको गुनासो छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्