ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कम्पनीको साधारणसभाको आवश्यकता

२०७७ असोज, १३  
लेख | दृष्टिकोण
Image Not Found

कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपछि स्वतन्त्र अस्तित्व प्राप्त गर्नाले कम्पनीे र यसका शेयरधनी वा सञ्चालक बीच फरकफरक हक तथा अधिकारको सृजना हुन्छ । कम्पनीका संस्थापक वा शेयरधनीले आफूले चुक्ता गरेको वा चुक्ता गर्न कबुल गरेको रकमसम्म मात्र उनीहरूको दायित्व रहन्छ । कम्पनीले छूट्टै कानूनी व्यक्तित्वको मान्यता प्राप्त गर्नाले यसले व्यक्तिसरह चल अचल सम्पत्ति किनबेच तथा भोग गर्न, आफ्नो नामबाट नालिस गर्न र कुनै व्यक्तिले कम्पनीउपर नालिस दिन, आफ्नो नामबाट करार गरी हकअधिकारको प्रचलन गराउन सक्छ । त्यसैले कम्पनीलाई एउटा स्वतन्त्र अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था मानिन्छ ।

साथै, कम्पनीको नाममा रहेको सम्पत्ति शेयरधनी हुँदैन । कम्पनीको नाममा रहेको सम्पत्तिको प्रयोग तथा उपभोग कम्पनी स्वयम्ले गर्छ, न कि त्यसका शेयरधनीले वा सञ्चालकले । तसर्थ कम्पनीको सम्पत्तिमा शेयरधनीको नियन्त्रण कायम राख्न सक्दैन त्यस्तो सम्पत्तिको उपभोग गर्न कम्पनी स्वतन्त्र हुन्छ ।

कम्पनी कानूनद्वारा सृजित व्यक्ति भएकाले कम्पनीले आफै प्राकृतिक व्यक्तिसरह हकअधिकार प्रयोग गर्न सक्दैन । त्यसैले कम्पनी सञ्चालन गर्न प्राकृतिक व्यक्ति संलग्न भएका विभिन्न अंगहरूको व्यवस्था गरिएको छ । कम्पनी ऐन, २०६३ र कम्पनीको नियमावलीमा लेखिएका कुराहरू र कम्पनीको साधारणसभाको निर्णयको अधीनमा रही कम्पनीको सम्पूर्ण कारोबारको व्यवस्थापन, अधिकारहरूको प्रयोग र कर्तव्य पालना सञ्चालकहरूले सामूहिक रूपमा सञ्चालक समितिको माध्यमबाट गर्छन् । कम्पनीको साधारणसभा र यसको सञ्चालक समितिलाई प्रजातान्त्रिक देशको क्रमशः संसद् (व्यवस्थापिका) र सरकार (कार्यपालिका) सँग तुलना गर्ने गरिन्छ । देशको सरकारले जस्तै सञ्चालकले कम्पनीको कामकारबाहीको रेखदेख, अनुगमन, नियन्त्रण तथा कम्पनीको सम्पूर्ण नीति निर्धारण गरी कम्पनीको व्यवसाय वा कारोबार सञ्चालन गर्छन् । साधारणसभाको निर्णयको अधीनमा रही कम्पनीको सम्पूर्ण कारोबारको व्यवस्थापन सञ्चालक समितिले गर्छ । कम्पनीका सम्पूर्ण शेयरधनीहरू संलग्न भएर निर्णय गर्ने औपचारिक रूपमा सञ्चालन भएको सभालाई साधारणसभा भनिन्छ । शेयरधनीले कम्पनीप्रति देखाउने चासो तथा कार्यले कम्पनीको समुचित व्यवस्थापन तथा सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेन्छ । साधारणसभामार्फत शेयरधनीले कम्पनी सञ्चालनमा नियन्त्रण कायम राख्छन् । सामान्यतया प्रजातान्त्रिक मुलुकको संसद्लाई भएसरहको अधिकार कम्पनीको साधारणसभा (शेयरधनीको सभा) लाई हुने गर्छ ।

कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेअनुसार कम्पनीको साधारणसभालाई वार्षिक साधारणसभा, र विशेष साधारणसभा गरी दुई किसिममा वर्गीकरण गरिन्छ । प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । कम्पनीले एक आर्थिक वर्षमा एकपटक साधारणसभा गर्नुपर्छ । यस्तो प्रत्येक वर्ष नियमित किसिमबाट गरिने सभालाई कम्पनीको वार्षिक साधारणसभा भनिन्छ । प्रथम वार्षिक साधारणसभा र वार्षिक साधारणसभाबाहेक अन्य साधारणसभालाई विशेष साधारणसभा भनिन्छ । कम्पनीको सञ्चालक समितिले आवश्यक देखेमा विशेष साधारणसभा बोलाउन सक्छ । कम्पनीको हिसाबकिताबको जाँचबुझ गर्दा कुनै कारणले विशेष साधारणसभा बोलाउन आवश्यक देखिएमा, लेखापरीक्षकले विशेष साधारणसभा बोलाउन सञ्चालक समितिलाई अनुरोध गरेबमोजिम सञ्चालक समितिका कम्पनी रजिस्ट्रारको कार्यालयले विशेष साधारणसभा बोलाई दिन सक्छ ।

कम्पनीको काम, कारोबार, व्यवसाय केकसरी सञ्चालन भइरहेको छ सो सम्बन्धमा छलफल गर्न साधारणसभामा बोलाइन्छ । कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेअनुसार कम्पनीको साधारणसभाले नियमित कार्यहरू र आवश्यकताअनुसारको कार्यहरू गर्ने अधिकार रहेको हुन्छ । कम्पनीको साधारणसभाले सञ्चालकको निर्वाचन/नियुक्ति गर्ने र तिनीहरूको भत्ता तथा पारिश्रमिक तोक्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक विवरण (वासलात) र सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, कम्पनीको मुनाफाबाट वितरण गरिने लाभांशको दर निर्धारण गर्ने नियमित कार्यहरू हुन् । कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, कम्पनीको शेयर पूँजी बढाउने वा घटाउने, कम्पनीले आफ्नो शेयर आफै खरीद गर्ने, कम्पनीले प्रिमियम मूल्यको शेयर जारी गर्ने, डिस्काउन्टमा शेयर जारी गर्ने, हकप्रद वा बोनस शेयर जारी गर्ने, प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा र पब्लिक कम्पनीलाई प्राइभेट कम्पनीमा परिणत गर्ने, कम्पनी गाभ्ने वा गाभिने, डिबेञ्चर जारी गर्ने, कम्पनी खारेज गर्ने वा खारेजीमा पठाउनेलगायत आवश्यकताअनुसारको गर्ने कार्य हुन् ।

एकल शेयरधनी भएको प्राइभेट कम्पनीले सञ्चालक समितिको बैठक तथा साधारणसभा बोलाउनु नपर्ने व्यवस्था कम्पनी ऐन, २०६३ ले गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १५२ मा एकल शेयरधनी भएको कम्पनीले नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कम्पनीको सञ्चालक समिति वा साधारणसभाबाट गर्नुपर्ने भनिएको सम्पूर्ण कामकारबाही तथा निर्णय त्यस्तो शेयरधनीको लिखित निर्णयअनुसार हुन्छ । त्यसका लागि सञ्चालक समितिको बैठक वा साधारणसभा बोलाउनुपर्ने छैन । कुनै प्राइभेट कम्पनीका शेयरधनीहरूबीच भएको सर्वसम्मत सम्झौतामा कम्पनीको वार्षिक साधारणसभा नगर्ने कुरा उल्लेख भएको रहेछ भने सो सम्झौताको अवधिभर त्यस्तो प्राइभेट कम्पनीले वार्षिक साधारणसभा गर्नु पर्दैन । वार्षिक साधारणसभा नगर्ने गरी सर्वसम्मत सम्झौता भएकोमा साधारणसभाबाट गर्नुपर्ने विषयमा निर्णय गर्ने कार्यविधि तथा निर्णय गर्ने अख्तियारका बारेमा भने उक्त सर्वसम्मत सम्झौतामा उल्लेख गर्नुपर्छ । सोही सर्वसम्मत सम्झौतामा तोकिएको व्यक्ति वा निकायबाट निर्णय गरी कार्यान्वयन गर्नुपर्छ ।

अतः कम्पनीले प्रत्येक आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गराउनुपर्छ । यदि आर्थिक वर्ष समाप्त भएको तोकिएको म्याद ६ महीना र थप ३ महीना गरी ९ महीनाभित्र पनि वार्षिक साधारणसभा नबोलाइएमा कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ । यदि तोकिएको समयमा साधारणसभा नबोलाइएमा त्यस्तो कम्पनीका सञ्चालक तथा पदाधिकारीलाई तोकिएबमोजिम जरीवाना हुन सक्छ । त्यसैले समयैमा साधारणसभा बोलाउर्नुपर्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्