ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वन पैदावारका उत्पादनको आपूर्तीमा निरन्तरता प्रदान गर्ने वातावरण तयार गर्न माग

२०७७ असोज, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १३, काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ(फेनफिट) ले विगत लामो समयदेखि साल जातको काठ सन्दर्भमा सरकारको रोकावट यथावत रहेको बताएको छ ।
महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दैै विभिन्न जिल्लाको वन क्षेत्रमा साल लगायत विभिन्न रुखहरु कटान गर्ने, संकलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने र कटान भएका साल लगायतका रुख, गोलिया जहाँ जुन अवस्थामा छन् त्यसलाई सोही अवस्थामा  सुरक्षित राख्ने निर्णय सरकारले गत जेठ १५ गते गरेदेखि नै स्वदेशी सम्पूर्ण काठजन्य वस्तुहरुको आपूर्तीमा रोकावट हुँदै आएको बताएका छन् । 

विज्ञप्तिमा काष्ठमा आधारित उद्योगहरुले वर्ष भरिको लागि आवश्यक कच्चा पदार्थको खरीद एवं जोहो गरि व्यवस्थापन गर्ने मुख्य समयमै भएको रोकावट सम्बन्धी निर्णयले काष्ठमा आधारित ४० हजार उद्योग व्यवसायहरुमा प्रतिकुल असर पर्नुको साथै यससँग सम्वन्धित लाखौं मजदूरहरुको रोजगारीमा समेत प्रतिकुल असर परेको उल्लेख छ ।
सरकारले डा नेत्र प्रसाद तिम्सिनाको संयोजकत्वमा काठ कटान तथा संकलनमा लापरवाही भएको भन्दै उच्चस्तरीय छानविन समिति पनि गठन गरेको थियो  ।

त्यसैगरी प्रतिनिधि सभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट शान्ता चौधरीको संयोजकत्वमा र सार्वजनिक लेखा समितिबाट प्रदिप यादवको संयोजकत्वमा उपसमितिहरु गठन गरि वन व्यवस्थापनका सन्दर्भमा छानविन एवं अध्ययन गरिएको भन्दै विज्ञप्तिमा गठित समिति, उपसमितिहरुबाट काष्ठ वन पैदावारको उत्पादन अभिवृद्धि तथा आपूर्तीको निरन्तरताप्रति कत्ति पनि सम्वेदनशिल नभइ वन पैदावारको उत्पादन र आपुर्तिलाई लामो समयसम्म रोकावटकै स्थितिमै राखि राख्ने अवस्था पैदा भएको उल्लेख छ  ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको भोलिपल्ट देखिनै महासंघले जहाँ जुन स्थानमा अनियमितता भएको छ उक्त स्थानमा तत्काल छानविन आरम्भ गरि आवश्यक कार्वाही प्रक्रिया अगाडी वढाउने र अन्य क्षेत्रमा कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य तत्काल सुचारु गर्न गराउन माग गर्दै आएको बताएको छ ।

साथै महासंघले काष्ठ वन पैदावारमा आधारित उद्योग व्यवसायमा रुकावट नआउने वातावरण वनाउनको साथै बजारमा नेपाली काष्ठ वन पैदावारका उत्पादनहरुको आपूर्तीमा निरन्तरता प्रदान गर्ने वातावरण तय गर्न अनुरोध गरेको पनि बताएको छ ।

काष्ठ वन पैदावारको नियमित आपूर्ती, उपभोक्ताहरुको सहजता, उद्योग व्यवसायको समृद्धि तथा श्रमिकहरुको रोजगारीप्रति राज्यको माथिल्लो तहनै सम्वेदनशिल हुन नसकेको देख्दा ४४ प्रतिशत वन क्षेत्र भएको देशको दुर्भाग्य स्थिति भएको पनि महासंघले विज्ञप्तिमा भनेको छ ।

काष्ठ वन पैदावारमा आधारित उद्योगी व्यवसायीहरुले यस्तो समस्या भोग्नु परेकोे यो स्थिति पहिलो पटक भने नभएको भन्दै विज्ञप्तिमा यहि प्रकृतिको रुकावट पटक– पटक व्यहोर्नु परेको विगतका अनुभव समेत रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जहाँ घाउ त्यहाँ उपचार हुनुको साटो प्रत्येक पटक काठको कटान, संकलन, ढुवानी, विक्री वितरण र ओसारपसार वन्द गर्ने निर्णय बारम्बार दोहोरिने र राज्यका माथिल्लो तहको कुनै पनि संकायवाट समाधान सम्बोधनको लागि कत्ति पनि प्रयास नहुने अवस्थाले यस्ता निर्णय, छानविन, प्रतिवेदनका पछाडी स्वार्थी समुहहरुको वलियो पकड रहेको छ कि भन्ने शंका उव्जिनु स्वभाविकै हो ।’

महासंघले सबल वन व्यवस्थापनसहित सवै प्रकारका वन पैदावारहरुको निरन्तर आपूर्तीका लागि क्रियाशिलता एवं तटस्थ दृष्टिकोणसहित जागरुक बन्न बनाउन अपिलसमेत गरेको छ ।काठ व्यवसायीहरुको छाता संगठनसमेत रहेको महासंघले सरकारले विभिन्न बाहनामा स्वदेशी काठ संकलन र ओसारपसारमा प्रतिबन्ध लगाउँदा बजारमा काठ अभाव हुँदै आएको बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्