ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फिनसेन फाइल्सका आयामहरू

केही ‘उचित’ र केही ’अनुचित’ तरंग

२०७७ असोज, १४  
लेख | दृष्टिकोण
Image Not Found

‘अवैध रकम कारोबारमा विश्वका ठूला बैंकहरू संलग्न’ भन्ने किसिमका सनसनीपूर्ण शीर्ष समाचारका साथ अहिले विश्वका अधिकांश मिडियाहरू प्रस्तुत भएपछि शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदनको फेहरिस्त ‘फिनसेन फाइल्स’ले विश्वभरि नै आम रूपमा आंशिक ‘भ्रम–तरंग’ फैल्याइरहेको छ ।

वास्तवमा करिब ९० ओटा बैंकहरूले आफ्ना ग्राहकहरूले गरेको कारोबारमाथि शंका लागेर आफ्नो नियामक ‘फिनसेन’मा दर्ता गराएका करीब २१०० शंकास्पद गतिविधिको प्रतिवेदनको सँगालो नै ‘फिनसेन फाइल्स’ हो ।

फिनसेन फाइल्सको खुलासाले विश्वव्यापी रूपमा वित्तीय अपराध नियन्त्रणका लागि भएका प्रयासहरूको प्रभावकारिता तथा पर्याप्तताको बारेमा मूल्यांकन गर्ने अवसर प्रदान गरेको छ । नियामक तथा बैंकहरू स्वयंलाई यस दिशामा थप सजग हुन प्रेरित पनि गरेको छ ।

अमेरिकाको फिनसेन भनेर चिनिने संस्था ‘वित्तीय अपराधसम्बन्धी घटनाहरू विश्लेषण गरी दोषीहरूमाथि कानूनी कारबाहीका लागि अमेरिकी कानून कार्यान्वयन गर्ने निकायहरूसमक्ष सिफारिश गर्ने आधिकारिक निकाय हो र यही निकायलाई त्यहाँका बैंकहरूले आफ्ना ग्राहकले गरेका शंकास्पद गतिविधि तथा कारोबारबारे औपचारिक जानकारी दिनुपर्ने हुन्छ ।

फिनसेनको यस्तो प्रतिवेदन उसले त्यहाँका कानून कार्यान्वयन गर्ने ४५० भन्दा बढी निकायहरूलाई उपलब्ध गराउने गर्छ र ती निकायहरूका पनि १३ हजारभन्दा बढी प्रयोगकर्तामा त्यसको पहुँच हुन्छ । र, उनीहरू वर्षभरिमा लाखौंपटक यस्ता प्रतिवेदनहरू अध्ययन तथा विश्लेषण गरिरहेका हुन्छन् । यस अतिरिक्त अन्य व्यक्ति तथा संस्थाहरूले पहुँच नपाउने गरी यस्ता प्रतिवेदनको गोपनीयता सुनिश्चित गर्न कडा कानूनी प्रबन्ध पनि गरिएको छ ।

बलियो कानूनी र संरचनात्मक प्रबन्ध हुँदाहुँदै पनि भएको यो खुलासाले वित्तीय अपराधको अनुसान्धान तथा कारबाहीसम्बन्धी संयन्त्रको विश्वसनीयतामाथि प्रश्न चिह्न खडा गरेको छ ।

‘बजफिड’ र वाशिङ्टनमै कार्यालय रहेकको खोज पत्रकारहरूको अन्तराष्ट्रिय समूह (कन्सोर्टियम) ले गरेको भनेको यो सनसनीपूर्ण खुलासामा ८० देशका १०८ भन्दा बढी मिडिया साझेदारका ४०० भन्दा बढी खोज पत्रकारहरू सामेल भएको भनिए पनि यसमा उल्लिखित विषयहरू कानून कार्यान्वयन गर्ने सम्बद्ध निकायमा पहिले नै पुगिसकेकाले त्यति ‘वजनदार’ भने हुन नसकेको प्रतीत हुन्छ ।

भनिन्छ, यस्ता शंकास्पद गतिविधि तथा कारोबारसम्बन्धी प्रतिवेदनहरू वर्षमा विश्वभरि २० लाखको संख्यामा दर्ता गराइन्छन् । यदि उक्त खोज पत्रकारहरूको समूहले कथं यस्ता २० लाख नै प्रतिवेदन हात पारेको हुन्थ्यो भने अहिले विश्वका कुनै पनि बैंक उक्त ‘सनसनी’ पूर्ण खुलासाबाट बच्न सक्दैन थिए होला । एक अध्ययनलाई आधार मान्ने हो भने त केवल ५० देखि ६० प्रतिशत सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधीहरूको पहिचान मात्र यस्ता शंकास्पद प्रतिवेदनको आधारमा हुने गर्छ ।

सन् २०१६ मा प्रकाशित भएको यस्तै सनसनीपूर्ण ‘पानामा पेपेर्स’ले भने विश्वभरिका प्रभावशाली राजनीतिज्ञ तथा धनाढ्यहरूले करमुक्त देशहरूमा नाम मात्रका कम्पनी खोली सोही कम्पनीमार्फत लगानी गराएको देखाएर व्यापक मात्रामा सम्पत्ति शुद्धीकरण जस्तो वित्तीय अपराध गरेको कुरालाई स्पष्टसँग नंग्याएको थियो ।

शायद त्यही सनसनी पूर्ण खुलासाको जस पाएर पनि हुन सक्छ, अहिले उसले सार्वजनिक गरेको समाचारलाई पनि विश्वका अधिकांश मिडियाहरूले उच्च प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरे ।

तर, बुझ्नुपर्ने कुरा के हो भने शंकास्पद कारोबार र गतिविधिबारे आपूmले थाहा पाएको जानकारीसहितको प्रतिवेदन अनुसन्धान गर्ने निकायमा पठाउनेहरू नै अवैध कारोबारमा संलग्न भएका भन्ने अर्थ लाग्ने गरी विषय वस्तु सार्वजनिक हुनुचाहिँ त्यति युक्तिसंगत मान्न सकिँदैन ।

फेरि समाचारहरूमा दाबी गरिएजस्तो यो कुनै गोप्य दस्तावेज होइन, जसको आधारमा कानून कार्यान्वयन गर्ने निकायहरूलाई आफ्नो कारबाही प्रक्रिया अगाडि बढाउन मार्गदर्शन गरोस् । यो त उनीहरूसँग पहिला नै उपलब्ध भइसकेका सूचनाहरूको फेहरिस्त मात्र हो ।

बैंकहरूको संलग्नताभन्दा बरु यो खुलासाले फिनसेनजस्तो बलियो नियमनकारी निकायले अवलम्बन गरेको प्रविधिमा भएको सुरक्षासम्बन्धी कमजोरीको विषय बढी चर्चामा आउनुपर्ने थियो । फिनसेनकै भनाइमा यस्तो गोप्य दस्तावेजको सार्वजनिकीकरणले अमेरिकी कानूनको उल्लङ्घन त गरेको छ नै साथै त्यसले अमेरिकी सुरक्षा चुनौतीलाई बढाउँदै अनुसन्धानलाई नकारात्मक असर पनि गरेको छ । अर्कोतिर, सम्बद्ध बैंक तथा तिनका कर्मचारीहरूको सुरक्षाप्रति पनि यसले गम्भीर सुरक्षा चुनौती थपेको छ ।

हुन पनि बैंकहरूले गोप्य रूपमा बुझाएको प्रतिवेदनलाई यसरी सार्वजनिक रूपमा छताछुल्ल पारेर एक किसिमले भन्ने हो भने संलग्न भनिएका बैंक तथा व्यवसायीहरू समेतको सुरक्षा संवेदनशीलता भंग गरिएको छ । त्यसले सम्बद्ध बैंक र ग्राहक बीचको सम्बन्धमा समेत चिसोपना बढाएको छ्र । साथै, भविष्यमा सक्रिय रूपमा यस्ता कुराप्रति अध्ययन गर्ने र शंका लागेमा आधिकारिक निकायमा प्रतिवेदन पेश गर्ने प्रक्रिया प्रति नै बैंकहरू हतोत्साही हुन सक्छन् र यसले सम्पत्ति शुद्धीकरण विरुद्धको एकीकृत अन्तरराष्ट्रिय प्रयासमाथि समेत नकारात्मक असर पर्न सक्छ ।

सकारात्मक पक्ष
हुन त अन्तरराष्ट्रिय खोजी पत्रकारहरूको यो समूहले नै यस्ता प्रकारका शंकास्पद गतिविधिहरूसम्बन्धी प्रतिवेदन दर्ता गर्दैमा वित्तीय अपराध नै गरेको भन्ने पुष्टि हुँदैन भनेर स्पष्टसँग उल्लेख गरेको छ तापनि उसको प्रतिवेदनलाई आधार बनाएर समाचार लेख्नेहरूले भने यो तथ्यप्रति बेवास्ता गरेको देखिन्छ ।

अर्कोतिर सार्वजनिक भएको शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदनमध्ये ६२ प्रतिशत प्रतिवेदनचाहिँ डच बैंकसँग सम्बद्ध भएको र उक्त बैंकलाई अस्तित्व नै समाप्त हुने गरी विगतका वर्षहरूमा जरीवाना तोकिएको सन्दर्भमा फिनसेन फाइल्समा प्रकाशित कतिपय प्रतिवेदनमाथि कानूनी कारबाहीसमेत भएको अनुमान गर्न सकिन्छ । यसबाट ती शंकास्पद कारोबारसम्बन्धी प्रातिवेदन सबै फगत प्रतिवेदन मात्र नभई औपचारिक रूपमा कारबाही गरिएका घटनाहरूको फेहरिस्त पनि हुन सक्छ ।

यो पक्षबाट हेर्दा पनि फिनसेन फाइल्सको खुलासाले विश्वव्यापी रूपमा वित्तीय अपराध नियन्त्रणका लागि भएका प्रयासहरूको प्राभावकारिता तथा पर्याप्तताका बारेमा मूल्यांकन गर्ने अवसर प्रदान गरेको छ । नियामक तथा बैंकहरू स्वयंलाई यस दिशामा थप सजग हुन प्रेरित पनि गरेको छ ।

विशेष गरी कुनै पनि प्रकारको व्यावसायिक, आर्थिक तथा कानूनी प्रयोजनविना हुने कारोबारप्रति निगरानी बढाउनुपर्ने तथ्यप्रति यसले सचेत बनाएको छ ।

एकै प्रकारको ठेगाना भएका तथा नाम मात्रका अनगिन्ती कम्पनीहरू पनि हुँदा रहेछन् र तिनले आपराधिक आर्जनलाई कसरी चोख्याउने प्रयास गर्दा रहेछन् भन्ने पाठ पनि यसले सिकाएको छ ।

अझ त्योभन्दा पनि महत्त्वपूर्ण, नेपाली परिप्रेक्ष्यमा कमै सुनिएको ‘दर्पण व्यापार’का माध्यमबाट पनि वित्तीय अपराध हुन सक्ने सम्भावनालाई पनि बैंकहरूले मनन गर्नुपर्ने सन्देश दिएको छ । दर्पण व्यापार भन्नाले एकै कम्पनीले काल्पनिक रूपले खरीद तथा विक्रीको कारोबार गरेजस्तो गरी अवैध रकम चोख्याउने प्रयास गर्ने गर्छन् । यसैले बैंकहरूले अन्तरदेशीय कारोबारमा संलग्नहरूको पारस्परिक सम्बन्धको खोजीलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकतालाई यसले थप उजागर गरेको छ ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्