ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१० वर्षमा सिद्धार्थ रंगशालाको निर्माण कार्य १० प्रतिशत मात्र

२०७७ असोज, १४  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

असोज १४, लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रंगशालालाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । 

पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रंगशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुनेछ । 

क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउँछन् । 

उनले भने, ‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रंगशाला हो तर  छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ ।’ 

क्रिकेट मैदानमा अहिलेसम्म रू. नौ करोड ५९ लाख खर्च भइसकेको छ । विसं २०६८ देखि शुुरु गरिएको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तीमा रू. ५० करोड लाग्ने जानकारी दिइएको छ ।  

बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ । विसं २०७५ मा क्यानले गुरुयोजना बनाएको हो । गुरुयोजना आएपछि  काममा विगतमा भन्दा गति लिएको छ ।  हरेक वर्ष बजेट थोरै आउने र ससाना काम गर्दा निर्माणमा ढिलाइ भएको अध्यक्ष मल्लले बताए । 

छ बिघामा निर्माणाधीन रंगशालाको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा रू. एक करोड बजेट छुट्याइएको छ । उनले भने, ‘एक करोड बजेट छ । काम धेरै छन् । के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’  

रंगशालामा विसं २०६८ मा रू. एक करोड १९ लाख  खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । अहिलेसम्म प्याभेलियन भवनसहित रू. ८९  लाखमा मैदान सम्याउने काम, रू. ४० लाखमा तारजाली, रू. ९० लाखमा ढल व्यवस्थापन, रू. एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ । 

आव २०७६/०७७ मा आएको रू. चार करोड बजेटमा काठमाडौंको कुमार गिरी कन्ट्रक्सनले रू. तीन करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ, शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिरहेको छ । 
यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्यारापिट निर्माण अझै चारपाँच महीना लम्बिने साइट इञ्जिनीयर योगानन्द चौधरीले बताए । 

वर्षेनी आवश्यकताभन्दा निकै कम बजेट आउने र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा आव २०७५/०७६ मा आएको रू. तीन करोड ५० लाख बजेट समयमा बोलपत्र हुन नसक्दा खर्च नै हुन नसकी फिर्ता भएको थियो । मैदानको रुपन्देही क्रिकेट संघले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकार र जिल्ला खेलकूद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन ।

कामको प्रगति विश्लेषण गर्दा नौदश वर्षयता रंगशालाको करीब १० प्रतिशत काम मात्रै भएको देखिएको छ । यसरी काममा ढिलाइ हुनाको मुख्य कारण पर्याप्त बजेट नहुनु नै हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्