ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गोदावरीमा निर्माणाधीन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

२०७७ असोज, १५  
वाग्मती प्रदेश
NA

ललितपुर । ललितपुरको गोदावरीमा निर्माणाधीन ३ हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ ।

विभाग र केसी–समानान्तर जेभीबीच २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतदेखि भवन निर्माणका लागि खाडल खन्न शुरू गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । ‘गतवर्षको चैतभित्र उक्त भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो,’ उनले भने, ‘२ महीना साइटमा भएका रूख काट्न समय लागेको र बेलाबेला पानी परेर बिहान–बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएकाले तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौं ।’

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड महामारीका कारण गतवर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २०० कामदारले काम गरेको सो स्थानमा हाल ८० जना मात्र खटिएको भट्टले बताए । ‘केन्द्रको भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो । अब सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्न बाँकी छ,’ उनले भने, ‘सरकारले महामारीका कारण केन्द्र निर्माणमा ६ महीना समय थप गरेर आउँदो कात्तिकसम्म सम्पूर्ण काम गरिसक्नुपर्ने भनिए पनि माघको अन्तिमसम्ममा मात्र काम सक्ने भएका छौं ।’

केन्द्रको भवन निर्माण शुरू गरेको समयमा आकाशे पानीले मुख्य समस्या पारेर धेरै दिनसम्म हिँड्न र सवारीसाधनमा सामान ढुवानी गर्नसमेत असहज भएको विभागका निर्माण आयोजना समन्वय कार्यालयका साइट इञ्जिनियर विकास खनालले बताए । ‘केन्द्रमा जडान गर्न आवश्यक कुर्सीमध्ये १ हजार ८२५ आइपुग्यो,’ उनले भने, ‘अन्य सीमा नाकामा रोकिएर आइपुग्न बाँकी छ ।’ केन्द्रमा विभिन्न सामान जडान र एसी हाल्न भारतबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको उनले बताए ।

२५ रोपनी क्षेत्रफलमा फैैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठक कक्षका साथै हल पनि रहने जानकारी खनालले दिए ।

मुलुकमा लामो समय बन्दाबन्दी नभएको भए केन्द्र निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसक्ने जेभी साइटका प्रमुख इञ्जिनीयर राकेश यादवले बताए । ‘आउँदो दशैंअघि भवनको सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’ केन्द्रमा अब फिनिसिङको काम धमाधम अघि बढाइने यादवले जानकारी गराए ।
उक्त केन्द्र निर्माणका लागि कम्पनीले रू. ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा ठेक्का लिएको थियो ।

केन्द्रको निर्माण सम्पन्न भएपछि गोदावरीमै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सो केन्द्रमा सभासम्मेलन गर्दा अब काठमाडौं उपत्यकावासीले होटलमा जस्तो महँगो खर्च गर्नुपर्ने छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्