ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुरका अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन

२०७७ असोज, १५  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

जनकपुरधाम । जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहित सरोकारवाला निकायले आधा दर्जन पानी उद्योगमा छडके अनुगमन गरेका छन् ।

अनुगमनमा अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको हो ।

जनकपुरधाम उपमहानगर–१९ स्थित जयप्रकाश साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा सबैभन्दा बढी कमजोरी पाइएको खाद्य निरीक्षक प्रविन तिवारीले बताए ।

उनका अनुसार उद्योगमा लेबल विवरण अपूर्ण रहेको, सरसफाइ पूर्वाधार नरहेको, भण्डारण कक्षको व्यवस्थापन नभएको र बोतल व्यवस्थित नभएकोलगायत  कमजोरी पाइएको छ । ‘उद्योग सञ्चालक साहलाई सात दिने अल्टिमेटम दिएर उद्योग सुधार्न निर्देशन दिइएको छ’, तिवारीले भने, ‘पानीको बोतलमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नरहेकाले पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाएका छौं ।’

अल्टिमेटमको अवधिमा उद्योगका कमजोरी सुधार गरी सञ्चालकलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । उद्योग समयसीमाभित्र नसुध्रिए कारबाही प्रक्रिया अगाडि बढाइने खाद्य निरीक्षकको तिवारीले दाबी गरे ।

जनकपुरकै गुरु ड्रिकिङ वाटरमा समेत कमजोरी देखिएको छ । विक्रम मण्डल सञ्चालक रहेको पानी उद्योगमा सरसफाइ गरी निर्देशिकाअनुसार उत्पादन एवं बिक्री वितरण गर्न कार्यालयले सुझाएको छ ।

यस्तै, जनकपुरधाम–१४ स्थित  डेलिफ्रेस वाटर खाद्य निर्देशिकाविपरीत सञ्चालन रहेको पाइएको हो । उद्योगमा सरसफाइ नगरिएको र लेबल विवरण अपूर्ण रहेको देखिएको छ ।

कार्यालयले उद्योगको पानी बिक्री वितरणमा रोक लगाई आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको तिवारी बताउँछन् ।

जनकपुरधाम–८ स्थित बेचन यादवले सञ्चालन गरेको एभरेस्ट मिनरल वाटरमा समेत कमजोरी पाइएको छ । उद्योगबाट उत्पादित पानी बिक्री वितरणमा रोक लगाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको उनले बताए ।

यस्तै, जनकपुरधाम–५ स्थित विशाल साह सञ्चालक रहेको साकम्बरी निर्मल जलमा लेबल विवरण उल्लेख नरहेको पाइएको छ । कार्यालयले उद्योगलाई सुधार गर्न सुझाएको छ ।

अनुगमनका क्रममा मिथिला बिहारी नगरपालिकाको ठेरामा रहेको बालाजी ड्रिकिङ वाटरले भने सबै मापदण्ड पूरा गरेको भेटिएको तिवारीको भनाइ छ ।

उक्त अनुगमनमा उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठसमेत सहभागी थिए ।

जनकपुरमा लक्ष्मी, डेली, गुरु, एभरेष्ट र साकम्बरी मापदण्डविपरीत रहेका पानी उद्योग उदाहरण मात्र हुन् । यहाँका अधिकांश पानी उद्योगले मापदण्डको पालना गरेका छैनन् ।

कार्यालयले पटक–पटक बजार अनुगमन गरे पनि स्रोत–साधन अभावमा लक्ष्य भेटाउन नसकेको कार्यालय प्रमुख विजय खनालले जानकारी दिए ।

‘अनुगमन हुन्छ, तर त्यसको निरन्तरता हुन नसक्दा हामीले चाहेअनुरुप बजारमा सुधार हुन सकेको छैन,’ उनले भने, ‘प्रत्येक व्यवसायीमा केही न केही कमजोरी पाइन्छ । सबैलाई कारबाही नगरेर कतिपयलाई सुधार गर्ने मौका पनि दिनुपर्छ ।’

पानी उद्योगले गरेको गल्ती आउँदो एक साताभित्र नसुध्रिए पुनः अनुगमन गर्ने गरिने उनले बताए । बजार अनुगमनका क्रममा कमजोरी भए पनि व्यवसायीलाई कारबाही नहुदा उपभोक्ता सधैं मारमा पर्ने गरेका छन् ।

‘अनुगमन र उपभोक्ता अधिकार कागजमा मात्रै सीमित छ । कर्मचारी बजार डुल्ने र घुम्ने काम मात्रै भएको छ,’ उपभोक्ता सरोज यादवले भने, ‘औपचारिकताका लागि मात्र बजार अनुगमन भएको छ । कमी–कमजोरी भेटिएका व्यवसायीलाई जरिवानासहित कारबाही हुनुपर्छ । मुद्दामा पनि जानुपर्छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्