ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अप्रत्यक्ष करारका प्रावधान

देवानी संहिताले गरेको व्यवस्था

२०७७ असोज, १५  
लेख | दृष्टिकोण
Image Not Found

सामान्यतः करारको वैधताका लागि करारको आधारभूत तŒवहरू रहेको हुनुपर्छ । तर, कहिँलेकाहीँ पक्षहरूले प्रत्यक्ष रूपमा करार नगरे पनि उनीहरूका बीच कानूनले नै करार भएको मानी करारीय दायित्व र अधिकार सृजना गर्छ र पक्षहरू सो पूरा गर्न बाध्य हुन्छन् । त्यस्तो अवस्थालाई अर्ध करार, अव्यक्त वा अप्रत्यक्ष करार भनिन्छ । करारका आधारभूत तत्त्वको अभावमा पनि व्यक्तिहरूको व्यवहारले करारीय दायित्व र अधिकार सृजना गरी उनीहरूका बीच कानूनी सम्बन्ध स्थापित गर्छ भने त्यस्तो करार अर्ध करार हो । यस्तोमा खास अवस्था र परिस्थितिलाई मात्र कानूनले मान्यता दिन्छ ।

व्यक्तिहरूका बीच हुने व्यावसायिक कारोबार वा व्यवहारमा एक पक्षले अर्को पक्षको हानिमा अनुचित किसिमले फाइदा लिन नसकोस् भन्ने समन्यायिक मान्यताका आधारमा विकसित भएकाले यो विषय अनुचित समृद्धिको समन्यायिक सिद्धान्तमा अडेको देखिन्छ । यसको निर्माण पक्षहरूको आचरण र व्यवहारबाट हुनाले यो मौखिक प्रकृतिको हुन्छ ।  करार ऐन २०२३ को दफा ९ र करार ऐन २०५६ को दफा ११ मा व्यवस्था गरिएको अप्रत्यक्ष करारभन्दा वर्तमान संहितामा गरिएको व्यवस्था व्यापक र वैज्ञानिक छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ६४८ देखि ६६३ सम्म यससम्बन्धी व्यवस्था पाइन्छ ।

करारका आधारभूत तत्वको अभावमा पनि व्यक्तिहरूको व्यवहारले करारीय दायित्व र अधिकार सृजना गरी उनीहरूका बीच कानूनी सम्बन्ध स्थापित गर्छ भने त्यस्तो करार अर्ध करार हो ।

दफा ६४८.अप्रत्यक्ष वा अर्ध करार भएको मानिने :
(१) यस भागको परिच्छेद २ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानूनी सम्बन्ध कायम हुन सक्ने कुनै निश्चित, कानूनसम्मत, स्वैच्छिक वा एकतर्फी काम कसैले गरेकोमा अप्रत्यक्ष करार वा अर्ध करार भएको मानिनेछ । (२) उपदफा (१) बमोजिम अप्रत्यक्ष वा अर्ध करार भएमा सोही तथ्यबाट यस परिच्छेदबमोजिम दायित्व सृजना हुनेछ । यो व्यवस्था हेर्दा, कानूनी सम्बन्ध स्थापित हुन सक्ने, कुनै निश्चित कानूनसम्मत, स्वैच्छिक, एकतर्फी काम कसैले गरेकोमा अर्ध करार भएको मानिने रहेछ । तर, त्यस्तो काम गैरकानूनी भने हुनु हुँदैन । फाइदा पाउनेले त्यस्तो काम गराएको हुनु हुँदैन ।

दफा ६४९. स्वेच्छाले अरूको सम्पत्तिको व्यवस्थापन गरेकोमा छोड्न नहुने :
कसैले कुनै व्यक्तिको बन्द व्यापार वा सम्पत्ति त्यस्तो व्यक्तिको जानकारी वा अख्तियारीविना आपूmखुशीले व्यवस्थापन वा सञ्चालन गरेकोमा त्यस्तो बन्द व्यापार वा सम्पत्ति कायम रहेसम्म त्यस्तो व्यक्ति वा निजको हकदार वा प्रतिनिधिलाई जिम्मा नलगाई वा त्यस्तो व्यक्तिले नहटाएसम्म बीचमा छोड्नु हुँदैन ।

दफा ६५०. सम्पत्ति जिम्मा लिनेले हेरविचार वा व्यवस्थापन गर्नपर्ने :
(१) कसैले कसैको सम्पत्ति हेरविचार वा व्यवस्थापन गर्न कुनै किसिमले जिम्मा लिएकोमा निजले असल नियतले आफ्नो सम्पत्तिसरह हेरविचार वा व्यवस्थापन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम जिम्मा लिएको सम्पत्ति जिम्मा लिने व्यक्तिले बदनियत चिताई लापरबाहीबाट हानि, नोक्सानी गरेमा निजले त्यसको क्षतिपूर्ति बेहोर्नु पर्नेछ ।

दफा ६५१. अधिकार प्रत्यायोजन गर्नेले दायित्वबाट फुर्सद नपाउने :
कसैले कुनै व्यक्तिबाट कुनै काम गर्न जिम्मेवारी पाएकोमा त्यस्तो व्यक्तिप्रतिको दायित्व प्रतिकूल नहुने गरी निजले त्यस्तो काम गर्न आफ्नो सबै वा कुनै अधिकार अर्को कुनै व्यक्तिलाई प्रत्यायोजन गरेको कारणबाट निज आफ्नो दायित्वबाट मुक्ति पाउने छैन ।

दफा ६५२. विपद्को अवस्थामा सम्पत्ति बचाएकोमा मनासिब खर्च दिनुपर्ने :
कसैले आगलागी, बाढी, पहिरो, आँधी भूकम्पजस्ता विपद् भएको अवस्थामा सम्पत्ति धनीको जानकारीविना कुनै सम्पत्ति बचाएमा वा संरक्षण गरेकोमा त्यस्तो सम्पत्ति बचाउन या संरक्षण गर्दा लागेको मनासिव खर्च त्यस्तो व्यक्तिलाई सम्पत्तिको धनीले शोधभर्ना गर्नुपर्ने छ ।

दफा ६५३. शोधभर्ना दाबी गर्न सक्ने :
(१) कुनै व्यक्तिलाई कुनै दायित्व पूरा गर्न कानूनले बाध्य नबनाएको भए तापनि निजले आफ्नै खर्चमा त्यस्तो दायित्व पूरा गरेको कारणबाट वा अन्य कुनै कारणबाट अर्को व्यक्तिलाई कुनै कुरा वा लाभ प्राप्त भएमा त्यसरी कुनै कुरा वा लाभ प्राप्त गर्ने व्यक्तिबाट त्यसबापत लागेको रकम दायित्व पूरा गर्ने व्यक्तिले शोधभर्ना दाबी गर्न पाउनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले गैरकानूनी उद्देश्यले कुनै दायित्व पूरा गरेको रहेछ भने त्यसबापत शोधभर्ना दाबी गर्न पाइने छैन ।

दफा ६५४.पालनपोषण गरेकोमा दाबी गर्न सक्ने :
 कसैलाई पालनपोषण गर्नुपर्ने दायित्व भएको व्यक्तिको जानकारीविना कसैले त्यस्तो व्यक्तिलाई पालनपोषण गरेकोमा त्यसरी पालनपोषण गर्ने व्यक्तिले त्यस्तो व्यक्तिबाट त्यसबापतको रकम दाबी गर्न सक्नेछ । तर, निजले पालनपोषण गरिएको व्यक्तिलाई स्नेह वा अनुग्रह देखाई पालनपोषण गरेकोमा वा त्यसबापत रकम दाबी नगर्ने मनसायले पालनपोषण गरेकोमा त्यस्तो रकम दाबी गर्न सकिने छैन ।

दफा ६५५.मृतकको सद्गत गर्दाको खर्च हकदारले शोधभर्ना गर्नु पर्नेः
कुनै व्यक्तिको मृत्य भई निजको रीत, परम्परा तथा संस्कारअनुसार गर्नुपर्ने सदगत मृतकको हकदार वा नजीकको नातेदारको जानकारीविना अन्य कुनै व्यक्तिले गरी त्यसरी सदगत गर्दा लागेको खर्च त्यस्तो व्यक्तिले दाबी गरेमा मृतकको नजीकको हकदार र निज नभए नातेदारले त्यस्तो खर्च निजलाई शोधभर्ना गर्नु पर्नेछ ।

६५६. अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च व्यहोर्नु पर्ने :
होश ठेगानमा नरहेको, शारीरिक रूपमा विकलांग वा आफ्नो आर्जन नभएको कुनै असहाय नाबालकको पालनपोषण वा हेरविचार गर्ने दायित्व भएको व्यक्तिले त्यस्तो व्यक्तिलाई पालनपोषण गर्न इन्कार गरी अन्य कुनै व्यक्तिले पालनपोषण वा हेरविचार गरेमा निजले त्यस्तो दायित्व भएको व्यक्तिबाट त्यसबापतको खर्च शोधभर्ना दाबी गर्नसक्नेछ ।

दफा ६५७. उपचारको खर्च शोधभर्ना गर्नुपर्ने :
कुनै व्यक्ति दर्घटनामा परी वा अन्य कुनै कारणले गम्भीर बिरामी भएमा निजको एकासगोलको हकदार नातेदार वा आफन्तबाहेक अन्य कसैले स्वेच्छाले उपचार गरे वा गराएकोमा त्यसरी उपचार गर्दा लागेको खर्च हकदार नातेदार वा आफन्तले त्यसरी उपचार गर्ने वा गराउने व्यक्तिलाई शोधभर्ना गर्नु पर्नेछ । तर, उपचार खर्च दाबी नगर्ने उद्देश्यले उपचार गरे वा गराएकोमा शोधभर्ना गर्नु पर्ने छैन ।

दफा ६५८. सार्वजनिक निकायले गरेको खर्च बेहोर्नुपर्ने :
कसैले आप्mनो वा सर्वसाधारणको जिउ ज्यान वा सम्पत्तिको सुरक्षाका लागि कानूनबमोजिम पालना गर्नुपर्ने स्वास्थ्य वा सुरक्षासम्बन्धी आवश्यक उपायहरू स्वेच्छाले पालना नगरी कुनै सरकारी वा सार्वजनिक निकायले पालना गरे वा गराएको भए त्यस्ता उपायहरू पलना गर्न वा गराउन निजको मञ्जुर नभएमा पनि त्यसबापत लागेको मनासिव खर्च निजले बेहोर्नु पर्नेछ ।

दफा ६५९. सरोकारवालाले भुक्तान गरेको रकम शोधभर्ना गर्नुपर्ने :
कानूनबमोजिम कुनै व्यक्तिले तिर्नुपर्ने रकम अर्को व्यक्तिले तिर्ने गरी करार भएकोमा निजले त्यस्तो रकम नतिरी जुन व्यक्तिले त्यस्तो रकम तिर्नुपर्ने हो । सोही व्यक्तिले तिरेकोमा निजलाई करार गर्ने व्यक्तिले शोधभर्ना गर्नु पर्नेछ ।

दफा ६६०. मूल्य वा पारिश्रमिक दिनुपर्ने :
कुनै व्यक्तिले अर्को व्यक्तिलाई कुनै वस्तु दिएकोमा वा कुनै काम लगाएकोमा त्यस्तो वस्तु वा सेवाअनुसारको मूल्य वा कामअनुसारको पारिश्रमिक दिनु पर्नेछ ।

दफा ६६१.वस्तु वा सेवाको मूल्य भराउन सक्ने :
कसैले कानूनबमोजिम करार गर्न अयोग्य व्यक्ति वा त्यस्तो व्यक्तिको पालनपोषण गर्न जिम्मेवारी भएको कुनै व्यक्तिलाई कुनै वस्तु वा सेवा उपलब्ध गराएकोमा त्यस्तो वस्तु वा सेवाको मूल्य त्यस्तो वस्तु वा सेवा प्राप्त गर्ने व्यक्तिबाट भराउन सक्नेछ ।

दफा ६६२. कब्जामा रहेको सम्पत्ति नासोसरह राख्नुपर्ने :
कानूनबमोजिम राख्न पाउने अरूको सम्पत्ति कसैले कुनै किसिमले आफ्नो कब्जामा राखेकोमा त्यस्तो सम्पत्ति निजले नासोसरह राख्नु पर्नेछ ।

दफा ६६३. हदम्याद :
यस परिच्छेदबमोजिम भएगरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र नालिस गर्न सक्नेछ यसरी करारीय तत्त्वहरूको सर्वथा अभाव हुँदाहुँदै पनि करारीय दायित्वको सृजना गर्ने र पक्षहरूका बीचमा कानूनी सम्बन्ध स्थापना गर्ने अप्रत्यक्ष या अर्ध करारका बारेमा सम्पूर्ण रूपमा कानूनमै स्पष्ट व्यवस्था गरिएको छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [1]
User Image

Arun Acharaya

[Oct 1, 2020 04:32am]

आफन्त र नातेदारका बिचमा मौखिक सहमतिमा सम्युक्त लगानी गरेकाे ब्यापारमा विवाद भएमा कानुनले के भन्छ? कसरि समाघान हुन्छ?


प्रतिक्रिया दिनुहोस्