ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटक बसमा आधा यात्रु किन ?

२०७७ असोज, १६  
पाठक विचार
NA

सरकारले आन्तरिक हवाई उडान शुरू गर्न दिएसँगै नेपालको आन्तरिक पर्यटनले गति लिन थालेको संकेत मिलेको छ । वायु सेवा कम्पनीहरूले बिस्तारै आम्दानी गर्न थालेका छन् । उनीहरूले पर्यटन प्याकेज पनि ल्याएका छन् । रारा भ्रमण, मुक्तिनाथ दर्शन जस्ता प्याकेजबाट पर्यटन क्षेत्र थोरै भए नि चलायमान हुने देखिन्छ ।

आन्तरिक पर्यटनका लागि पर्यटक बसको सञ्चालन पनि आवश्यक हुन्छ । तर, विमानको भाडाभन्दा सस्तो भएन भने यस्तो बस चढ्ने यात्रु पाउन कठिन हुन्छ ।

पर्यटक बस व्यवसायीहरूले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेको समाचार आएको छ । गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् ।
 
झन्डै ६ महीनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गर्नुपर्ने देखिन्छ । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सीटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागिएको छ । तर, पर्यटक बसको भाडा महँगो भएपछि विमानको प्रयोग गर्नेको संख्या बढी हुने सम्भावना देखिन्छ ।

काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा चल्ने पर्यटक बसमा ठूलो लगानी भएको छ । महँगा पर्यटक बस यतिका दिनसम्म बन्द हुँदा व्यवसायीहरूले लाखौंको क्षति बेहोरिसकेका छन् ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको देखिन्छ । त्यसैले सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । गुणस्तरीय पर्यटनका लागि महँगो र सुविधायुक्त पर्यटक बस आवश्यक हुन्छ । यसमा सरकारले प्रोत्साहन गर्नु आवश्यक देखिन्छ । अहिलेको संकटको समयमा यसको सेवा सुरक्षित राख्नुपर्ने अवस्था एकातिर देखिन्छ भने अर्कातिर भाडा महँगो हुँदा यात्रु नपाउने समस्या पनि हुन सक्छ । त्यसैले वायु सेवामा जस्तै सुरक्षाका उपाय अपनाएर पूर्ण क्षमतामा बस सञ्चालन गर्न दिनुपर्छ । यसै पनि यात्रु कम भएकाले बसले पूर्ण क्षमतामा यात्रु पाउने सम्भावना कमै छ । यस्तो व्यवस्था गरिदिए केही बढी यात्रु बोक्न पाउँदा बसलाई राहत पुग्न सक्छ ।

रामेश्वर अधिकारी
नयाँ बजार, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्