ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कैलाली भन्सारको व्यापार घाटा ९५ अर्ब

२०७७ असोज, १६  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार कार्यालय कैलाली भन्सारबाट आर्थिक वर्ष ०७७/७८ को साउन र भदौ महिनामा ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ ।

कैलाली भन्सारबाट आव ०७१/७२ देखि चालू आर्थिक वर्षको दुई महिना अर्थात् साउन र भदौ मसान्तसम्म ९५ अर्ब व्यापार घाटा देखिएको हो ।

भन्सार कार्यालय कैलालीले त्रिनगर भन्सार नाका, रतनपुर तथा कञ्चनपुरको बेलौरीसम्म आयात–निर्यात हेर्ने गरेको छ ।

भन्सार कार्यालयका अनुसार साउनमा १ अर्ब ६० करोड ४३ लाख र भदौमा १ अर्ब ९४ करोड ९ लाख रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार अधिकृत डिल्लीप्रसाद शर्मा पौडेलले चालू आर्थिक वर्षको साउनमा १ अर्ब ६४ करोड र भदौमा २ अर्ब रुपैयाँको मालसामान आयात भएको जानकारी दिए  । यस्तै, साउनमा ३ करोड ५७ लाख र ५ करोड ९१ लाख रुपैयाँको मालसामान निर्यात भएको उनले बताए ।

‘निर्यातको तुलनामा आयात बर्षेनि बढ्दै गएपछि यो भन्सार कार्यालयबाट भारतसँगको व्यापार घाटा ६ वर्षमा ९५ अर्ब पुगेको हो’, पौडेलले भने ।

प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट आव ०७१÷७२ देखि चालू आवको भदौ मसान्तसम्म ९५ अर्ब व्यापार घाटा भएको कार्यालयले बताएको छ । कार्यालयको तथ्यांकअनुसार आव ०७१/७२ देखि ०७७/७८ मा क्रमशः ८ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र ०७६/७७ को जेठ मसान्तसम्म १८ अर्ब २५ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट आयात भएको छ ।

सोही अवधिमा समग्रमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात हुँदा भारतसँगको व्यापार घाटा निकै बढी देखिएको भन्सार अधिकृत पौड्यालले बताए ।

यो नाकाबाट चालू आर्थिक वर्षको पहिलो दुई महिनामै साढे ३ अर्ब व्यापार घाटा भएको छ । भन्सार अधिकृत पौडेलका अनुसार बन्दाबन्दीपछि बजार खुलेकाले आयात पनि बढेको छ । पौड्यालले असारदेखि आयात बढेको बताए ।

‘चैत, वैशाख र जेठमा आयात आधाभन्दा कम भएको थियो’, उनले भने, ‘सो अवधिमा राजस्व संकलन पनि आधा घटेको थियो । बन्दाबन्दी खुलेपछि असारदेखि राजस्व संकलनले लक्ष्य भेटेको थियो । जिल्ला भन्सार कार्यालय कैलालीले लक्ष्यभन्दा करिब ५० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

असारमा लक्ष्य मात्र भेटे पनि साउन र भदौमा त्योभन्दा बढी राजस्व संकलन भएको उनको दाबी छ ।

कैलाली भन्सारका अनुसार साउन र भदौमा क्रमशः ४८ करोड ५२ लाख र ५४ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार अधिकृत पौडेलले साउनमा ५७ करोड ७२ लाख र भदौमा ६१ करोड २५ लाख राजस्व संकलन भएको जानकारी दिए ।

आयातबाट साउनमा ३७ करोड ७३ लाख भन्सार महसुल, १८ करोड २४ लाख मूल्य अभिवृद्धि कर र १ करोड ७५ लाख अन्तःशुल्क संकलन भएको भन्सार अधिकृत शर्माले बताए । उनले भदौमा ४० करोड ५० लाख भन्सार महसुल, १९ करोड १ लाख मूल्य अभिवृद्धि कर र १ करोड ५३ लाख अन्तःशुल्क संकलन भएको बताए ।

यसैगरी निर्यातबाट साउनमा १ लाख ५३ हजार र भदौमा १ लाख ६० हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । त्रिनगर नाकाबाट रोजिन र टर्पेन्टाइन मात्रै निकासी हुने गरेको छ । बन्दाबन्दीसँगै त्यसको निकासीमा समेत गिरावट आएको भन्सार अधिकृत पौडेलले बताए ।

सो नाकाबाट दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, हार्डवेयर, कस्मेटिक तथा फेन्सी, थान कपडा, पेट्रोलियम, कोइलालगायतका सामग्री आयात हुने गरेको छ । बन्दाबन्दी अवधिमा चामल, गहुँ, मकै, सोयाबिन, आलु, प्याज, कोइला, पेट्रोलियमलगायत अत्यावश्यक सामग्री मात्रै भित्रिएको थियो भने त्यसपछि सबै सामग्री आयात हुन थालेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्