ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

करका दरमा हेरफेर : सस्तो हुने भयो विद्युतीय गाडी

२०७७ असोज, १६  
समाचार
Image Not Found

काठमाडौं । (अस) चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएको तीन महिना पनि नबित्दै बजेटमार्फत निर्धारण गरेको करका दरमा सरकारले हेरफेर गरेकोे छ ।

सरकारले आलोचना खेप्नुपरेको विद्युतीय गाडीमा यसअघि लगाइएको अन्तःशुल्कसहित विभिन्न करका  दरहरू बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले घटाएको हो  । व्यवसायीहरूले विद्युतीय गाडीमा लगाइएको अन्तःशुल्कको विरोध गर्दै आएका थिए ।

विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तुशल्क लगाइएको थियो । अब भने ३० प्रतिशत अन्तःशुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ । यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ५० किलोवाटसम्मका गाडीलाई ८० प्रतिशत छूट दिइएको छ । ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिइएको छ भने १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विद्युतीय गाडीमा लगाइएको भन्सार दर भने यथावत् राखिएको अर्थ स्रोतले जानकारी दिएको छ ।
 
यस्तै, सरकारले गहुँ र मैदाको भन्सार दरमा एक तहको अन्तर कायम गर्ने निर्णय गरेको छ । यसअनुसार अब गहुँ ५ प्रतिशत भन्सारमा नेपाल आयात हुनेछ भने मैदामा १० प्रतिशत भन्सार लाग्नेछ ।

यस्तै, जलविद्युत आयोजनाको पेनस्टक पाइपको पातामा लाग्ने मूल्य अभिवृद्धि कर हटाइएको छ । जलविद्युत् क्षेत्रका लगानीकर्ताले यो व्यवस्था हटाउन माग गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकबाटै केही औषधिको कच्चा पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर पनि हटाइएको छ ।  

यी हेरफेर गरिएका दरहरू बिहीबार मध्यरातदेखि नै लागू भएको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्