ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साढे ८२ लाखमा चावहिलको आकाशे पुल निर्माण

२०७७ असोज, २२  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ट्राफिक जाम हुने चावहिल चोकमा फलामको आकाशे पुल निर्माण भएको छ । रु. ८२ लाख ६६ हजार लगानीमा निर्माण भएको सो पुलको उद्घाटन बुधबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

आकाशे पुल उद्घाटनसँगै अब उक्त चोकमा ट्राफिक व्यवस्थापन र पैदल यात्रुलाई आउजाउमा सहज हुनेछ ।

कान्छामान निर्माण सेवाले पुल निर्माण सम्झौताभन्दा ३ महिना ढिला सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरेको थियो । ०७६ कात्तिकमा सम्झौता भएको पुल असार मसान्तसम्म सम्पन्न गर्ने म्याद कम्पनीले पाएको थियो ।

पुल बनाउँदा सडक किनारा क्षेत्र कम भएको, जग्गाको समस्या हुँदा समाधान गरी शिलान्यास गर्दा माघ १६ गते पुगेको थियो ।

आकाशे पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । शाक्यले काठमाडौंको वडा नम्बर ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको र माइतीघर मण्डला क्षेत्रको पुल पनि तयार भइसकेको जानकारी दिए ।

सो अवसरमा मेयर शाक्यले मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेको र यो आवश्यकता भएको पनि बताए । उनले ट्राफिक जाम बढी भएका र यात्रुको आउजाउ सहज बनाउन काठमाडौंका अन्य स्थानमा पनि यस्तै खाले पुल बनाइने जानकारी दिए ।

उनले उपत्यकामा पार्किङको समस्या समाधान गर्नका लागि जग्गा उपलब्ध गराउन स्थानीयसँग आग्रह गरे ।

‘पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं,’ उनले भने, ‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ भवन हामीले बनाइदिन्छौं । यसका लागि सबैसँग आग्रह गर्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनुस् ।’

सोही क्रममा महानगरको टोलीले निर्माणाधीन पार्कहरूको पनि अवलोकन गरेको छ । पार्क निर्माण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले वडा नम्बर ६ मा मात्र रु. ८ करोड लागतमा २ वटा पार्क निर्माण गरिरहेको छ । सोही वडामा बाग्मती नगर पार्क र शान्ति नमुना पार्क, वडा ७ को मचागाः पार्क निर्माणाधीन छन् ।

खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने शाक्यले बताए ।

‘सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं’, शाक्यले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्