ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक विद्यालयमा दुवै पालिकाको दाबी

२०७७ असोज, २२  
प्रदेश ०२
Image Not Found
author avatar दीपेश पौडेल

रौतहट । रौतहटको एक विद्यालयलाई दुई नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै आएका छन् । सात दशक पुरानो सरस्वती माध्यमिक विद्यालयको स्वामित्वको विषयमा जिल्लाका गरुडा र गढीमाई नगरपालिकाबीच विवाद सृजना भएको हो । विद्यालयको स्वामित्वको विषयमा दुवै नगरपालिकाको आ–आफ्नै तथ्य र तर्क छन् । गरुडा नगरपालिकाका शिक्षा शाखा संयोजक मौजेलाल राय यादवले विद्यालयको रेखदेख, सञ्चालन, व्यवस्थापन र अन्य सम्पूर्ण काम गरुडा नगरपालिकाबाटै भइरहेको बताए । नक्सांकनको हिसाबले भने मलाहीस्थित सरस्वती मावि गढीमाई नगरपालिकाको क्षेत्रमा पर्ने उनको भनाइ छ ।

पछिल्ला वर्षहरूमा वरियारपुरका स्थानीयले उक्त विद्यालय गढीमाई नगरपालिकामा हुनुपर्ने र मलाहीवासीले गरुडा नगरपालिकामा हुनुपर्ने चाहना र तर्क राख्दा विवाद सुल्झिन नसकेको हो । विद्यालयको पुराना कागजपत्रमा साविक मलाही गाविस–५ लेखिएको पाइएको विद्यालयका प्रधानाध्यापक रामसागर साहले बताए । पहिले सबै प्रशासनिक काम साविक मलाही गाविसबाट हुने गरेको उनको भनाइ छ । गढीमाई नगरपालिका नगर प्रमुख श्यामप्रसाद यादवले भने विद्यालय आफ्नो नगरपालिका क्षेत्रमा रहेको दाबी गरेका छन् । विद्यालय सञ्चालन रहेको भवन तथा विद्यालयको जग्गा समेत गढीमाई नगरपालिकाभित्र पर्ने उनको जिकीर छ ।

शिक्षक र कर्मचारीको तलब गरुडा नगरपालिकाबाट जान थालेपछि विद्यालयको स्वामित्वको विषयमा विवाद भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले केही वर्षअघि विद्यालयको स्वामित्वको विषय टुंगो लगाउन सक्रियता देखाए पनि समाधान निस्कन सकेको छैन ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्