ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी बीच ४३ ओटा विमान सेवा प्रदायक टाट पल्टिए

२०७७ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found
प्रतिकात्मक तस्वीर

असोज २२, सिंगापुर । कोरोना भाइरसको महामारी बीच विश्वभर विविध देशले हवाई सेवा प्रदायक कम्पनीहरुलाई टेवा दिन अर्बौं डलर खर्चिएका थिए । टेवा पाएर केही कम्पनीहरु टाट पल्टिनबाट जोगिएका भएपनि अन्य भने धमाधम टाट पल्टिरहेका छन् । 

आगामी दिनमा थप कम्पनीहरु टाट पल्टिने चेतावनी उड्ययन विज्ञहरुले दिएका छन् । ट्राभल डेटा प्रदायक कम्पनी सिरियमका अनुसार यस वर्षको जनवरी यता ४३ ओटा व्यवसायिक विमान सेवा कम्पनीहरु असफल भएका छन् । सन् २०१९ भर असफल वायु सेवा कम्पनीको संख्या ४६ ओटा  रहेको थियो । 

त्यस्तैगरी सन् २०१८ भर टाट पल्टिने कम्पनीको संख्या ५६ ओटा थियो । सिरियमले सञ्चालन पूर्ण रुपमा बन्द गरिएका वा स्थगित भएका कम्पनीहरुलाई असफल कम्पनीको कोटीमा राखेको छ । 

‘सरकारी हस्तक्षेप र सहयोग बिना यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा अझ धेरै कम्पनीहरु टाट पल्टिन्थे । हामीसँग अहिले व्यवस्थापन गर्न सकिने संख्यामा टाट पल्टिएका कम्पनी छन् अनि थोरै मात्रै पतन भएका छन्,’ सोबी एभिएशनमा स्वतन्त्र विश्लेषक ब्रेन्डान सोबी बताउँछन् । 

महामारी शुरु हुनुभन्दा अगाडि नै कयौं कम्पनीहरु संघर्षरत थिए तर सरकारी मद्दतका कारण ती कम्पनीहरु बाँच्ने सम्भावना बढेको उनको भनाइ छ । 

महामारीका कारण ठूला विमान सेवा प्रदायकहरु समेत नराम्ररी प्रभावित भएको सिरियममा ग्लोबल हेड अफ कन्सल्टेन्सी रोब मोरिस बताउँछन् । वित्तीय टेवा मिलेको भएपनि यस वर्षको बाँकी अवधिको परिदृश्य सकारात्मक नरहेको उनको भनाइ छ । 

अहिले विमान सेवा प्रदायक कम्पनीहरुको ध्येय जसरी भएपनि बाँच्ने अनि आगामी वर्षको गर्मीयाममा अवस्था फेरिन्छ कि भनेर हेर्ने मात्रै रहेको मोरिस बताउँछन् । 

उनका अनुसार अधिकांश क्षेत्रमा माग पुनर्बहाली स्थिर रहेको र विमान कम्पनीहरु अझै पनि आम्दानी सृजना र नगद प्रवाहसँग जुधिरहेकोले यस वर्षको अन्तिम त्रैमास र सन् २०२१ को पहिलो त्रैमासमा थप कम्पनीहरु टाट पल्टिनेछन । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्