ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिन्धुपाल्चोकमा धमाधम पूर्वाधार निर्माण

२०७७ असोज, २३  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । भूकम्प र बाढीपहिरोले सिन्धुपाल्चोकमा  जनधनको क्षति बढी भए पनि पूर्वाधार विकास निर्माणको काम भने धमाधम सुरु हुन थालेको छ ।

भूकम्पपछि निर्माण सम्पन्न भएका ७८ हजार नयाँ आवासले गाउँबस्तीलाई सुन्दर बनाएको छ । भौतिक संरचना धमाधम ठडिँदै छन् भने पूर्वाधार विकासका कारण टोलैपिच्छे मोटर गुड्न थालेका छन् ।

जिल्लाभर झन्डै एक हजार सडक छन् । भूकम्पपछि आवास पुनर्निर्माण गर्न जताततै मोटर बाटो बनेका हुन् ।

सडकले बजार मात्रै होइन, ग्रामीण बस्तीलाई पनि जोडेका छन् । जिल्लाका एक सय तीन वटै वडामा सडक सञ्जाल विस्तार भएको छ ।

राष्ट्रिय राजमार्ग अरनिको, कोदारी, खाडीचौर मुडे–चरीकोट, मध्यपहाडी लोकमार्ग बन्देउ–चौतारा, जिरोकिलो– मेलम्ची, मेलम्ची–जहरसिंहपौवा, मेलम्ची हेलम्बु, बलेफी जलविरे र मेलम्ची थाङ्पालधाप सडक निर्माण पूरा भएको छ । यस्तै, जिल्लाभरि ग्रामीण क्षेत्र जोड्ने एक हजार सडकले कृषि र पर्यटन क्षेत्रको सम्भाव्यतालाई विस्तार गरेका छन् ।  ग्रामीण सडक निर्माणकै कारण कतिपय पहाडी भूभागमा भूक्षयले बस्ती नै सखाप पारेको छ । तर, सडक सञ्जालले कृषि र पर्यटन क्षेत्रबाट हुने उत्पादन र आम्दानीलाई ह्ववात्तै
बढाएको छ ।

सडक र ग्रामीण मोटरबाटो निर्माणका लागि तीनै तहका सरकारले ठूलो लगानी गरेका छन् । १२ स्थानीय तहले सडक सञ्जाल विस्तारका लागि कुल विकास बजेटको झन्डै आधा रकम खर्चने गरेको तथ्यांक छ ।

मेलम्ची नगरपालिकामा मात्रै ६ सय सडक छन् । एउटै वडामा ६० वटासम्म मोटरबाटा छन् । बर्खामा अवरुद्ध हुने सबै ग्रामीण सडक बर्खा रोकिएसँगै मर्मतसम्भार गरेर सञ्चालन
हुने गर्छन् ।

‘टोलैपिच्छे मोटर सुविधा पुगेकाले किसानमा उत्साह छाएको छ’, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले भने, ‘सडक सञ्जालले कृषि उत्पादनमा वृद्धि, समयको बचत र बजार व्यवस्थापनमा सरलता ल्याएको छ ।’

मोटरबाटोको पहुँचले मल, बिउबिजन र कृषिऔजार बेलैमा किसानसम्म पुगेकाले कृषि उत्पादन बढेको उनले सुनाए । तर, जताततै सडक हुँदा बजेट खर्च गर्न दबाब परेको छ ।

संघीय सरकारले हस्तान्तरण गरेको सात वटा ठूला सडकसमेत निर्माण गरिरहेको बागमती प्रदेश मातहत रहेर काम गर्ने पूर्वाधार विकास कार्यालयले मात्रै ६१ सडकको क्रमागत काम गरिरहेको छ । कार्यालयले वार्षिक १ अर्ब ५० करोड रकम सडकमा खर्च गर्छ । पूर्वाधार कार्यालयले जिल्लास्तरीय ११ सडकको कामलाई निर्माण गरिरहेको छ ।

चौतारा–सिपाघाट, बलेफी–तेम्बाथाङ, थुम्पाखर–टिमुरे, भीमटार–नवलपुर, दुवाचौर–बाँसखर्क, डाक्लाङ–लिस्ती, सिलढुंगा–तौथली, एक्काइस किलो–वाफल, बाह्रबिसे–पिस्कर, चौतारा सिपाघाट र नौबीसे–चौतारा मेलम्ची सडकमा कालोपत्रे सुरु गरिएको छ । भौगोलिक कठिनाइ, स्थानीय तहको दबाब र नियमविपरीत सडक चौडा पार्नुपर्ने चुनौतीसँग जुधेर पूर्वाधार विकास कार्यालयले सडक सञ्जाल विस्तारलाई तीव्रता दिएको सिनियर डिभिजन इन्जिनियर राजु श्रेष्ठले बताए ।

‘हाम्रो कार्यालयले निर्माण गरिरहेका सडक धेरैजसो डीबीएसटी, अस्फाल्ट र प्रिमिक्स कालोपत्रे छन् । कतिपय सडकलाई यसै वर्षभित्र ग्राभेल गर्दै छौं’, श्रेष्ठले भने, ‘सडक सञ्जालले जनजीवन सरल बनाएको छ । कृषि र पर्यटन क्षेत्रको विकास विस्तारित हुँदै छ ।’

खाडीचौरदेखि मुडेसम्मको कृषि क्षेत्रमा हुने ठूलो परिमाणको आलु, लेकाली भेगमा पाइने भारी जडीबुटी बजारसम्म पु¥याउन र पर्यटकीय स्थलको भ्रमण गर्न सडक सञ्जालको महत्व रहेको उनले सुनाए । संघीय सरकारबाट हस्तान्तरण भएका सडक निर्माणको भुक्तानी समयमा नआउँदा बीचैमा काम रोकिएका छन् । कतिपय सडकको इन्जिनियरिङ नहुँदा र गुरुयोजना नै नबन्दा लागत बढ्ने गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्