ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा : विश्व बैंक

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोभिड–१९ महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको विश्व बैंकले निष्कर्ष निकालेको छ ।

विश्व बैंकले बिहीवार दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महामारीको असर कायमै रहेका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका बताएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एशियालीहरू चरम गरीबीमा धकेलिएका छन् । नेपालसहित दक्षिण एशियामा नै यस वर्ष हालसम्मकै खराब मन्दी सृजना भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२० मा शून्य दशमलव २ प्रतिशतमात्र रहेको र सन् २०२१ मा भने केही बढेर शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान छ । अघिल्ला मन्दीहरूमा लगानी र निर्यात घटेर आर्थिक मन्दी आउने गरे पनि यसपालि भने फरक भएको विश्व बैंकको भनाइ छ ।

परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरूदण्ड र आर्थिक कल्याणको मुख्य सूचकका रूपमा रहेको निजी उपभोग १० प्रतिशतले घट्ने भएकाले गरीबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विप्रेषणमा आउने गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय स्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।

माल्दिभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भाेसले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरीबीमा धकेलिने सम्भावना रहेको बताएका छन् ।

उनीहरूलाई आय, सामाजिक सुरक्षा र रोजगारीसहितको सहयोग तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । नेपालमा अनौपचारिक व्यवसायहरूमा करीब ५० प्रतिशत उद्यमहरू पर्छन् र यी उद्यमहरू अधिकांश श्रमजीवीहरूको कमाइको मुख्य स्रोत हुन् । यी समूहमध्ये, शहरी अनौपचारिक क्षेत्रका कामदारहरू र शहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा छन् । उनीहरूलाई आय, सामाजिक सुरक्षा र रोजगारीसहित सहयोग गर्नका लागि तत्काल काम गर्नुपर्ने विश्व बैंकको सुझाव छ । यस्तै भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँचलाई बढावा दिँदै दु्रत गतिमा पुनर्जीवन दिनका लागि लगानीको वातावरणमा उल्लेख्य सुधार गर्नुपर्ने विश्व बैंकको भनाइ छ ।

विपन्न तथा जोखिममा रहेका समुदायको संरक्षण गर्न, मानव स्रोत विकास गर्न, व्यवसायहरूलाई सघाउन र आर्थिक क्रियाकलापलाई गति दिन १५ महीनाको अवधिमा १०० ओटाभन्दा धेरै राष्ट्रहरूमा अनुदान तथा सहुलियत पूर्ण ऋणका रूपमा १ अर्ब ६० करोड अमेरिकी डलरभन्दा बढी रकम प्रवाह गर्न लागेको विश्व बैंकले बताएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्व बैंकको सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाइएकाले कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई रोजगारी दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्