ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड

२०७७ असोज, २३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना संकटकै बीच नेपालमा पर्यटक प्रवर्द्धनका लागि नीतिगत सुधार तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालले बिहीवार आयोजना गरेको ‘पर्यटन सुचारुका लागि स्वास्थ्य मापदण्ड’ विषयक देशदर्शन संवाद कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा, उद्धार, बीमा लगायत विषयलाई उचित ध्यान दिनुपर्ने तथा आन्तरिक पर्यटनका लागि तीनै तहको सरकारबीच उचित समन्वय आवश्यक भएको समेत उनीहरूले औंल्याए ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले कोरोना महामारीको सबैभन्दा धेरै असर पर्यटन क्षेत्रमा परेको र त्यसको पुनरुत्थानका लागि सरकारले पनि नीतिगत सुधारका काम गरिरहेको बताए । अहिले नै पर्यटनलाई पहिले जस्तो अवस्थामा ल्याउन कठिन भए पनि स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्दै निजीक्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

पर्यटनलाई पुनः लयमा फर्काउन केही वर्ष लाग्न सक्ने भन्दै महानिर्देशक तामाङले संकटकै बीच पर्यटनको पूर्वाधार विकास, जनशक्ति विकास तथा नयाँ गन्तव्य विकासतर्फ लाग्नुपर्ने बताए । कोरोना महामारीबाट थलिएको पर्यटनलाई राहत दिन सरकारको ल्याएका कतिपय कार्यक्रमले सहयोग पुग्ने भन्दै थप उनले राहतका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले सरकारले लकडाउन जारी राख्दा अन्य तयारी गर्नुपर्नेमा त्यो हुन नसकेकाले जोखिम बढ्दै गएको बताए । लकडाउन अन्तिम विकल्प नभएको र अब कोरोनासँग लडेरै आर्थिक गतिविधि गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । पर्यटन सहित अन्य आर्थिक गतिविधि चलायमान बनाउन पीसीआर परीक्षणदेखि अन्य स्वास्थ्य सुविधा थप गर्नुपर्नेमा उनले जोड दिए ।   

सिविक अस्पतालका प्रबन्ध निर्देशक डा. प्रतिभा पाण्डले कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने भन्दै स्वास्थ्य सुरक्षाको विषयमा थप तयारीमा लाग्नुपर्ने बताइन् । आन्तरिक पर्यटनलाई सुधार नगर्दासम्म बाहिरबाट मानिस आउने सम्भावना कम रहेको धारणा उनले राखिन् । हरेक देशले अत्यावश्यक काम बाहेक पर्यटकीय गतिविधिमा समेत सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेकाले तत्कालै अन्तरराष्ट्रिय पर्यटक आगमन सोचे जस्तो हुन नसक्ने उनको भनाइ छ । टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ)का प्रवक्ता खेम लकाईले पर्यटन जनस्वास्थ्यको विषयमा उचित नीति आवश्यक भएको बताए । चिया पसलदेखि पाँच तारे होटलसम्म स्वास्थ्य सुृरक्षाको मापदण्डलाई पालना गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नु पर्नेमा उनले जोड दिए । यस क्षेत्रलाई जीवन्त राख्न सरकार र निजीक्षेत्रबीच समन्वयको आवश्यकता समेत उनले औंल्याए । ‘स्कल नेपाल’का प्रेसिडेण्ट प्रविन पाण्डेले कोरोना महामारीकै बीच पर्यटनलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपालले ‘वेलनेश टुरिजम’मा जोड दिनुपर्ने बताए ।

यस्तै प्याशिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपालका प्रमुख कार्यकारी अधिकृत नयाँ सुरेशसिंह बुडालले महामारीको समयमा सबै क्षेत्र संकटमा भए पनि पर्यटन क्षेत्र थप समस्यामा परेको बताए । यसको पुनरुत्थानका लागि टास्क फोर्स गठन गरी काम शुरू गरिएको भन्दै उनले यस्ता बहस र छलफलले समस्याको विषयमा साझा धारणा तय गर्न समाधानको बाटो खोज्न सहयोग पुग्ने धारणा राखे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्