ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘लघुवित्तका ऋणीलाई कर्जा तिर्न समस्या’

२०७७ असोज, २३  
समाचार
NA
author avatar ममता थापा

काठमाडौं  । कोरोना महामारीका कारण लघुवित्त वित्तीय संस्थाका ऋणी सदस्यहरूलाई किस्ता तथा कर्जा चुक्ता गर्न समस्या परेको छ । सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ)ले गरेको एक अध्ययनले व्यवसाय तथा उत्पादन र उद्योग क्षेत्रका ऋणीहरूलाई कर्जा चुक्ता गर्न बढी समस्या परेको देखाएको छ ।

सीएमएफले नेपालमा कोभिड शुरुआत भएपछिको शुरूको २ महीना अर्थात् चैत वैशाखमा कुल लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत संस्थामा गरेको अध्ययनले यस्तो देखाएको हो । सीएमएफले बिहीवार कोभिड १९ ले लघुवित्तमा पारेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यो तथ्य दिएको हो ।

सीएमएफको अध्ययनअनुसार ग्रामीण भेगमा भन्दा शहरी भेगका ऋणी सदस्यलाई कर्जा भुक्तानीमा कठिनाइ भएको छ । ग्रामीण क्षेत्रमा ६३ दशमलव ८२ प्रतिशत ऋणीलाई कर्जा भुक्तानी गर्न कठिन भएको छ भने शहरी क्षेत्रका ६८ दशमलव ६३ प्रतिशत ऋणीलाई ऋण चुक्ता (रिपेमेन्ट) मा कठिनाइ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

ऋण भुक्तानीमा ग्रामीण भेगका २२ दशमलव ६६ प्रतिशतलाई आंशिक कठिनाइ छ भने १३ दशमलव ५३ प्रतिशत ऋणीलाई भुक्तानीमा समस्या छैन । तर, शहरी भेगका २१ दशमलव ४७ प्रतिशतलाई ऋण भुक्तानीमा आंशिक कठिनाइ छ भने ९ दशमलव ८९ प्रतिशतलाई कुनै कठिनाइ छैन ।

ग्रामीण भेगमा भन्दा शहरी भेगमा व्यवसाय ठप्प भएकाले कर्जा भुक्तानीमा असर गरेको हो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै सीएमएफका अपरेशन म्यानेजर जगदीश तिवारीले यस्ता समस्याबाट मुक्त हुन धितोमा कर्जा दिने रणनीति अपनाउनु पर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले हाल धितोमा आधारित कर्जा १८ प्रतिशत मात्र भएको बताए । उनले भने, ‘पछिल्लो समय भाका नाघेका ऋणीको संख्या १२ लाख ५६ हजार पुगेको छ । यसैले, धितो कर्जामा जोखिम कम हुने भएकाले यसतर्फ जोड दिन सकिन्छ । ’

लघुवित्तबाट कर्जा लिएर व्यापार गर्ने करीब ७९ प्रतिशतले कर्जा तिर्ने क्षमता कमजोर भएको बताएका छन् । यसैगरी, कृषिमा ४२ प्रतिशत, उत्पादनमूलक कर्जा ६८ प्रतिशत र उपभोग्य कर्जाको ३२ प्रतिशत भुक्तानी क्षमता कमजोर भएको अध्ययनले देखाएको छ । लघुवित्तहरूको प्राविधिक विकासका लागि डिजिटलाइजेशनमा पनि लगानी बढाउन सीएमएफले सुझाव दिएको छ । लघुवित्तहरूमा पनि अब नयाँ विधि र प्रविधिहरू जरुरी भएकाले परम्परागत सेवा वितरणको मोडेल बदल्न सो अध्ययनले ध्यानाकर्षण गराएको छ ।

कोरोना शुरू भएपछि लघुवित्तहरूमा बचत गर्ने प्रवृत्ति भने बढेको छ । अध्ययनअनुसार कर्जा प्रवाहमा प्रभाव परे पनि लघुवित्त वित्तीय संस्थाहरूमा ४७ प्रतिशतले निक्षेप बढेको छ । यस अवधिमा पैसा झिक्ने प्रवृत्ति पनि ८० प्रतिशतले बढेको बताइएको छ । अध्ययनले यसअवधिमा ई–ट्रान्जेक्शन १० प्रतिशतले बढेको देखाएको छ । अध्ययनमा सहभागी संस्थाहरूले आम्दानी नहुँदा करीब ७० प्रतिशत ग्राहकमा मनोसामाजिक समस्या देखिएको बताएका छन् । घरपरिवारको प्रतिकूल बजेटका कारण ग्राहक चिन्तित छन् ।

अध्ययनले पछिल्लो समय राहत प्याकेजमार्फत व्यवसायलाई पुनः जीवन्त बनाउन ५ प्रतिशतको ब्याज छूट व्यवस्था गरे पनि साना व्यापारका लागि पर्याप्त नभएको औंल्याएको छ । त्यसैले सरकारले प्रोत्साहन स्वरूप २ वर्षका लागि आयकरमा छूट दिन अध्ययनले सुझाएको छ । ‘नेपालमा नेपाल राष्ट्र बैंकले नै नियमन र सुपरिवेक्षण गर्ने भएकाले अब लघुवित्तका लागि छुट्टै नियामक निकाय पनि जरुरी छ,’ प्रतिवेदन प्रस्तुत गर्दै तिवारीले भने, ‘बंगलादेश र अन्य देशहरूमा माइक्रोक्रेडिट नियामक प्राधिकरण जस्ता आवश्यक काम गर्ने छुट्टै नियामक निकाय छ । नेपालमा पनि अलग्गै नियामक जरुरी छ ।’

कार्यक्रममा सीएमएफका कार्यकारी अध्यक्ष रेवतबहादुर कार्कीले अध्ययनको मुख्य उद्देश्य लघुवित्त वित्तीय संस्थाहरू र ग्राहकहरूको सञ्चालनमा कोभिडको समग्र तात्कालिक, छोटो अवधि र दीर्घकालीन प्रभावको आकलन र विश्लेषण गर्न खोजिएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्