ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वैदेशिक लगानीको सफल आयोजना खिम्ती जलविद्युत्

२०७७ असोज, २३  
विकास
Image Not Found
दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट)को विद्युत्गृह एवं सब–स्टेशन ।

खिम्ती जलविद्युत् आयोजनाका प्रशंसक र विरोधी दुवै बराबर पाइन्छन् । देशमा वैदेशिक लगानीको आयोजना भएकाले यसको कार्यान्वयनमा शुरूदेखि नै समर्थन र विरोध थियो । खिम्ती परियोजनाको  विकास  २०५२ सालतिर अरुण ३ आयोजनाको अवसानको लगत्तै शुरू भएको हो । उक्त समयमा तत्कालीन नेकपा (एमाले)को सरकारले अरुण ३ खारेजीको अपजस खेप्नु परिरहेकाले खिम्ती आयोजना जुनसुकै शर्तमा पनि ल्याउनुपर्ने बाध्यता थियो भन्ने बुझाइ विश्लेषकहरूको छ ।

त्यस बेलासम्म विद्युत्को सबैजसो क्षेत्रमा एकाधिकार भोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणमा भने खिम्तीको सन्दर्भमा असन्तुष्टि थियो । आयोजनाको विद्युत् खरीद सम्झौताको मस्यौदाका शर्तसँग तत्कालीन कार्यकारी सञ्चालक सहमत नभएपछि उनको सरुवा गरेर नयाँ कार्यकारी सञ्चालक नियुक्ति गरेर सम्झौता गरिएको थियो । खिम्ती आयोजनाका समर्थक थुप्रै थिए ।

अरुणको खारेजीपछि दातृ निकायहरूबाट विद्युत् एक नाफामूलक व्यवसाय हुन सक्ने भएकाले यो क्षेत्रमा सरकारी र सार्वजनिक लगानी गर्नुभन्दा निजीक्षेत्रलाई निश्चित नाफा पाउने प्रत्याभूति गरेर पूँजी परिचालन गरिनुपर्छ भन्ने सन्देश आइरहेको थियो । देशभित्र पनि नेपाल विद्युत् प्राधिकरणको अदक्षताको कारण सरकारी संयन्त्रभन्दा अन्यत्रबाटै विद्युत् आयोजना निर्माण गर्न सके बढी किफायती हुन सक्छ भन्ने आवाज थियो । त्यसैगरी खिम्तीको नेपाली प्रवर्द्धक बुटवल पावर कम्पनीले सफलतापूर्वक आँधी खोला (५.१ मेगावाट) र झिम्रुक (१२ मेगावाट) जलविद्युत् आयोजना सम्पन गरिसकेकाले सो कम्पनीले नै शुरू गरेको नयाँ आयोजना पनि सफल हुने, त्यसबाट नेपालमा दक्ष जनशक्तिको विकास हुने र भविष्यमा अन्य ठूला आयोजना निर्माणमा विदेशी लगानी भित्र्याएर स्वदेशी प्राविधिक, ठेकेदार र कलकारखानाले काम गर्ने स्थितिको सृजना हुने तर्क पनि अधिकांशको थियो ।

अन्ततः नर्वेको स्टाटक्राफ्ट लगायत केही कम्पनी र बुटवल पावर कम्पनीको साझेदारीमा हिमाल पावर लिमिटेड कम्पनी मार्फत खिम्ती जलविद्युत् आयोजनामा लगानी जुटाइयो । २०५३ तिर एशियाली विकास बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन सम्पन्न भएपछि ६० मेगावाटको यो आयोजनाको निर्माण शुरू भयो । यो आयोजना रामेछाप र दोलखाको सिमाना भएर बगेको खिम्ती खोलामा आधारित छ । उक्त खोलामा बाँध बाँधेर पानी फर्काई ७ दशमलव ६ किलोमिटर तेर्सो सुरुङ र करीब ९०० मिटरको छड्के ठाडो सुरुङबाट दोलखाको किर्नेटारमा रहेको भूसतहमुनिको विद्युत् गृहसम्म पानी पुर्‍याएर विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभीको प्रसारण लाइनमार्फत सिन्धुपाल्चोकको खाडी चौरमा ल्याएर राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाले वार्षिक ३५ करोड युनिट विद्युत् उत्पादन गर्दछ ।

कुनै पनि देशले वैदेशिक लगानी भित्र्याउन लगानीकर्तालाई विभिन्न सहुलियत दिने गर्दछन् । यसै क्रममा नेपाल सरकारले खिम्ती आयोजनाका लगानीकर्तालाई पनि सहुलियत दियो, जस अनुसार किर्ने पुग्ने प्रवेश मार्ग र उत्पादित विद्युत् खाडी चौरसम्म पुर्‍याइदिने प्रसारण लाइन सरकारले बनाइदियो । यस्तै विद्युत्को रोयल्टी प्राधिकरणले तिरिदिने प्रावधान छ भने डलरको भाउसँग विद्युत्को भाउ समायोजन गरिएको छ । त्यस्तै पहिला अनुमान गरिएभन्दा बढी विद्युत् उत्पादन भयो भने सोको दर डेढ गुणा बढी तिर्नुपर्ने प्रावधान राखिएको छ । यी सहुलियत नेपाली प्रवर्द्धकले पाउँदैनन् । यिनै सहुलियत अधिक भएको र यसले प्राधिकरणलाई थला पर्नेगरी घाटामा पारेको आरोप खिम्तीका आलोचकहरूको छ । खिम्तीले ८ अर्ब रुपैयाँ लगानी गरेर पहिलो १० वर्षमै २० अर्ब रुपैयाँ उठाइसकेको र यो अत्यधिक भएको तर्क उनीहरूले गरेका छन् ।

ती आरोप आफ्नो ठाउँमा ठीक पनि होलान् । तर खिम्तीको सकारात्मक पाटो भने बिर्सन हुँदैन । खिम्ती आयोजना बनाउने एउटा पूर्वशर्त नै नेपाली प्राविधिक र ठेकेदार कम्पनीको अत्यधिक सहभागिता जुटाउनुपर्छ भन्ने थियो, जसअनुसार निर्माणको काममा हिमाल हाइड्रो निर्माण कम्पनीले नर्वेको ठेकेदारसँग काम गर्ने मौका पायो । त्यसैगरी मेशिन उपकरण निर्माण तथा जडान सम्बन्धी कामका लागि बुटवलको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले अमूल्य अनुभव हासिल गर्‍यो । आयोजना डिजाइन र व्यवस्थापन गर्न बुटवल पावर कम्पनीको हाइड्रो कन्सल्ट इन्जिनियरिङका प्राविधिक र नर्वेका इन्जिनियर तथा व्यवस्थापकहरू सहभागी भए । हाल नेपालका अधिकांश निजी जलविद्युत् आयोजनामा खिम्तीमा संलग्न भएका प्राविधिक र व्यवस्थापकको नेतृत्वदायी भूमिका पाइन्छ ।  यो जनशक्ति खिम्ती नबनेको भए तयार हुन सम्भव नै थिएन ।

खिम्ती आयोजनामा अन्तरराष्ट्रिय स्तरको काम भएको छ । यसमा विदेशी बैंक र परामर्शदाताहरूले स्वतन्त्र रूपमा निगरानी राखे । यसको प्राविधिक पक्षमा केही कमी हुन दिइएन । यसैगरी वातावरण रक्षा गर्न र स्थानीय बासिन्दाको जीवन उकास्न आयोजनाले त्यस क्षेत्रमा विद्युतीकरण, आयआर्जनका कार्यक्रम, शिक्षाका लागि पूर्वाधार, स्थानीय रोजगारी जस्ता कार्यक्रममा व्यापक लगानी गरेको छ । यी काम सरकारी वा अन्य निजी लगानीमा बनेका आयोजनाले अनुकरण गर्न सकेका छैनन् । यी सबै कारणले खिम्ती जलविद्युत्् आयोजना अनुमान गरिएको लागत र निर्धारित समयमा सम्पन्न पनि भयो । नेपालको परिप्रेक्ष्यमा, त्यसमा पनि द्वन्द्वकालको बीचमा यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

खिम्ती बनेपछि मात्र नै नेपालको निजीक्षेत्रले पनि जलविद्युत् एउटा लगानी योग्य क्षेत्र हो भनेर बुझ्यो । नेपाल विद्युत् प्राधिकरणले पनि यसै बीचमा स्वदेशी लगानीकर्ताहरूसँग विद्युत् खरीद गरिलिने नीति प्रतिपादन ग¥यो । नेपालका बैंकहरूले पनि जलविद्युत् आयोजनाहरू कर्जा प्रवाहका लागि सुरक्षित क्षेत्र भन्ने महसूस गरे । यी सबै कारणले खिम्तीको शुरुआत भएको २० वर्ष नपुग्दै नेपालको विद्युत् उत्पादनमा निजीक्षेत्रको हिस्सा आधाभन्दा बढी भइसकेको छ । यही वर्षको साउनदेखि खिम्तीको विद्युत् खरीद सम्झौता समाप्त भएर हिमाल पावर लिमिटेडको आधा स्वामित्व प्राधिकरणमा निःशुल्क हस्तान्तरण भएको छ । पहिलो २० वर्ष बिजुलीका लागि अधिक मूल्य तिर्नु परेर घाटामा जानुपरेको भनेर गुनासो गरिरहेको प्राधिकरणले आयोजनाको आधा हिस्सा अर्थात् वार्षिक १७ करोड ५० लाख युनिट बिजुली सित्तैमा प्राप्त गर्नेछ । यसबाट उसले वार्षिक रूपमा डेढ अर्ब रुपैयाँभन्दा बढी राजस्व आर्जन गर्न सक्नेछ । बाँकी आधा बिजुलीको भाउ पनि आपूmलाई फाइदा हुनेगरी तय गर्नेछ, जसकारण खिम्तीकै बिजुली प्राधिकरणको आयआर्जनको प्रमुख स्रोत हुन सक्नेछ ।

खिम्ती नेपालका लागि फाइदाजनक रह्यो कि रहेन भन्ने विवाद जारी नै रहला । तर एउटा सत्य के हो भने विदेशी लगानी भित्र्याएर देशको पूर्वाधारको विकास गर्ने हाम्रो राष्ट्रिय नीति भइसकेको छ । नेपालको जलस्रोतको विकास गर्न विदेशी लगानी अपरिहार्य छ भन्ने कुरा राजनीतिक वर्ग र प्रशासन संयन्त्र हाँक्नेले राम्ररी बुझेका छन् । खिम्तीको अनुभवबाट कतिसम्म सहुलियत दिएर विदेशीलाई भित्र्याउनु उपयुक्त हुन्छ थाहा पाउनुपर्छ । अहिले संसारका अधिकांश मुलुकहरू विदेशी लगानीका लागि प्रतिस्पर्धा गरिरहेको अवस्थामा हामी अरूले भन्दा के चाहिँ बढी दिएर लगानीकर्तालाई आकर्षित गर्ने हो, उक्त निष्कर्षमा पुग्न आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्