ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्रमशक्ति व्यवस्थापनमा कमजोरी

२०७७ असोज, २५  
सम्पादकीय
Image Not Found

विश्व बैंकको पछिल्लो प्रतिवेदनले कोरोनाका कारण नेपालमा अनौपचारिक क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको र यसबाट कामदारले रोजगारी गुमाउँदा गरीबी बढ्ने तथ्य औंल्याएको छ भने विभिन्न उद्योगले कामदार नपाएर उत्पादन क्षमताको उपयोग गर्न नपाएको समाचार आएको छ ।

कोरोनाको जोखिमका बीचमा दशैंजस्तो चाडबाडमा पनि भारतमा कामका लागि जानेको लर्कोले बेरोजगारीको समस्यालाई देखाएको देखिन्छ । तर, भारतीय कामदार नेपाल नआउँदा उत्पादनमूलक उद्योगहरू प्रभावित भएका छन् । यी दुई तथ्यविपरीत सम्बन्धका देखिन्छन् जसबाट नेपालले जनशक्ति व्यवस्थापन गर्न नसकेको वा नगरेको भन्ने पुष्टि हुन्छ ।

कस्तो उद्योगका लागि कस्तो र कति जनशक्ति आवश्यक हुन्छ भनेर अध्ययन भएको छैन । उद्यम र शिक्षाक्षेत्रबीच सहकार्य गरेर जनशक्ति उत्पादन गर्ने पद्धति पनि नेपालमा छैन ।

नेपालमा अनौपचारिक व्यवसायहरूमा करीब ५० प्रतिशत उद्यमहरू पर्छन् । यी उद्यम नै अधिकांश श्रमजीवीको कमाइको मुख्य स्रोत हुन् । भारतमा काम गर्न जाने नेपालीहरूले पनि यस्तै क्षेत्रमा काम गरेका छन् । भारतमा समेत यस्तै प्रभाव परेकाले उनीहरूले त्यहाँ पाउने रोजगारी निकै जोखिमयुक्त हुने देखिन्छ । यही वर्गलाई आय, सामाजिक सुरक्षा र रोजगारीसहित सहयोग गर्नु आवश्यक छ । यसका लागि विश्व बैंकले सहयोग गरेको पनि हो ।

विश्व बैंकको सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने सरकारी योजना छ । यसका लागि बेराजगारहरूको सूची दर्ता प्रक्रिया सञ्चालनमा देखिन्छ । तर, गत वर्षहरूमा सञ्चालित कार्यक्रम हेर्दा यसमा अहिले रोजगारी गुमाउने विपन्न वर्गले रोजगारी पाउने सम्भावना कमै देखिन्छ । प्रधानमन्त्री रोजगारी कार्यक्रममा वास्तविक बेरोजगारले विभिन्न कारण सहभागी हुन सकेका छैनन् । यसै पनि यो कार्यक्रम विवादित पनि भइरहेको छ र यसले अर्थतन्त्रमा उत्पादकत्व बढाउन खासै भूमिका नखेल्ने अर्थशास्त्रीहरूको टिप्पणी पाइन्छ । अर्को, यो कार्यक्रम जनशक्ति व्यवस्थापनसँग सम्बद्ध पनि देखिँदैन ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान निकै ठूलो छ । गरीबी न्यूनीकरणदेखि विदेशी विनिमय सञ्चितिसम्म यसको योगदान छ । त्यस्तै विप्रेषणका कारण उपभोग बढ्दा त्यसले अर्थतन्त्रको विस्तारमा योगदान दिएको देखिन्छ । आफ्नो मुलुकमा भन्दा बढी आय हुने वैदेशिक रोजगारीमा जान आफ्ना नागरिकलाई विदेशमा जान सबैजसो मुलुकले प्रोत्साहन गरेको पाइन्छ । तर, अदक्ष कामदारभन्दा अर्धदक्ष वा दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा जाँदा बढी विप्रेषण भित्रिन्छ । यस्तोमा मुलुकले आफ्नो नागरिकलाई दक्ष बनाएर वैदेशिक रोजगारीमा जान प्रोत्साहित गर्ने गर्छन् । तर, नेपालबाट भारतमा रोजगारीमा जानेहरू अदक्षकै बाहुल्य देखिन्छ । अन्य मुलुकमा जानेमा पनि अदक्षकै संख्या बढी देखिन्छ । नेपालमा आउने भारतीय जनशक्ति पनि अदक्ष, अर्धदक्ष र दक्ष गरी विभिन्न किसिमका छन् । प्रायः कालिगढीको काम गर्ने, यन्त्रउपकरण सञ्चालन गर्ने काममा भारतीय कामदार आउँछन् । त्यस्तै इँटाभट्टा र निर्माण क्षेत्रमा भने अदक्ष कामदारहरू नै भित्रिएका देखिन्छन् । यसले नेपालमा नै रोजगारीका क्षेत्र छन् तर श्रमशक्तिलाई उचित व्यवस्थापन हुन नसकेको देखाउँछ ।

सरकारले श्रम बैंक बनाउनेदेखि दक्ष जनशक्ति बनाउनेसम्मका योजना बनाए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर देखिन्छ । त्यस्तै मुलुकको शिक्षा नीति पनि व्यावसायिक बन्न नसकेकाले श्रम शक्तिको व्यवस्थापनमा समस्या परेको देखिन्छ । अर्को, कस्तो उद्योगका लागि कस्तो र कति जनशक्ति आवश्यक हुन्छ भनेर अध्ययन भएको छैन । उद्यम र शिक्षाक्षेत्रबीच सहकार्य गरेर जनशक्ति उत्पादन गर्ने पद्धति पनि नेपालमा छैन ।

प्रत्येक वर्ष झन्डै ५ लाख युवा रोजगार बजारमा भित्रिने गरेका छन् । तर, तीमध्ये आधालाई पनि सरकारी र निजीक्षेत्रले रोजगारी दिन नसक्ने अवस्था छ । रोजगारी कार्यक्रम तत्कालीन सम्बोधन भए पनि दीर्घकालीन समाधानका लागि लगानीको वातावरण सुधारेर लगानी वातावरण बनाउनु पर्ने हुन्छ । विश्व बैंकले पनि यो सुझाव दिएको छ । तर, भएका उद्योगहरूले नै आफ्नो आवश्यकताअनुसारको कामदार नपाएर भारतीय वा अन्य देशका कामदार ल्याउनुपर्ने बाध्यता छ । उच्च दक्षताका लागि वैदेशिक कामदार ल्याउन उपयुक्त भए पनि सामान्य तालिमका आधारमा काम गर्न सकिने क्षेत्रमा विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता देखिन्छ । त्यसैले श्रमशक्ति व्यवस्थापनमा विशेष ध्यान जानु आवश्यक देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्