ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मत्स्य पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन

२०७७ असोज, २५  
प्रदेश ०२
NA

जनकपुरधाम । धनुषाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । कमला नदीको कटानबाट किसानका १४ हजार बिगाहा उब्जाउ जग्गा प्रभावित रहेको छ ।

कमलाको वडा नं ४, ५, ६, ७, ८, ९ र जनकनन्दनीको वडा नं १ र ६ मा उकासिएको जग्गामा सहकारीका माध्यमबाट मत्स्यपालन गरी पर्यटन केन्द्र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । करीब चार फिटसम्म बालुवा पुरिएको, खाल्डाखुल्डी भएको सो जग्गामा पूर्वमन्त्री रामचन्द्र झा र कमला नगरपालिकाका प्रमुख राम उद्गार गोइतको सक्रियतामा पोखरी खनेर माछापालन योजनामा सहकार्यका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

पूर्वमन्त्री झाका अनुसार जनकनन्दनी गाउँपालिकाको मल्हनियाँदेखि कमलाको टेडामोडसम्मको करीब १० किलोमिटर लामो र सरदर १ किलोमिटर चौडाइ भएको जग्गामा पोखरी खनेर मत्स्य पर्यटन केन्द्र प्रवद्र्धनका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

जग्गा स्थलगत निरीक्षण गरेका मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख मत्स्य विकास अधिकृत प्रमोदकुमार रिजाल, मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्मा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ जनकपुरधामका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत युगलकिशोर तिवारी, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादव र मत्स्य विकास अधिकृत सुभाषकुमार झासहितका टोलीले उकासिएको जग्गामा पोखरी खनेर माछापालनको सम्भाव्यतालाई मूर्त रूप दिन किसानसँग छलफलसमेत गरेको छ । निर्देशक यादवले कमलाको भङ्गालोमा मत्स्यपालनका लागि उपयुक्त भएको बताए ।

पहिलो चरणमा अध्ययन गरी प्रतिवेदन दिएलगत्तै योजनालाई मूर्त रूप दिने बताइएको छ । नगरप्रमुख गोइतले जग्गाधनीको लालपूर्जा अनुसार सहकारीको माध्यमबाट आम्दानीको बाँडफाँट गरिने आधारमा जग्गाधनीकै स्वामित्व रहनेगरी योजनालाई मूर्तरूप दिइने अवधारणा राखिएको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्