ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्राविधिक शिक्षाले फेरियो बिमवासीको जीवनस्तर

२०७७ असोज, २५  
गण्डकी प्रदेश
NA

गलेश्वर । प्राविधिक शिक्षाले बिमका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ । २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महीने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) तथा तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरू भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ मा पर्ने यो गाउँको आर्थिक एवं व्यावसायिक विकास बढेको छ, जसले गर्दा स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आएको छ ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारबाट अहिले गाडीमा ४५ मिनेटमै पुग्न सकिने यो गाउँमा २०६८ सालपछि परिवर्तन आएको हो । ‘प्राविधिक शिक्षा शुरू भएपछि यहाँ विकासको लहर नै चल्यो,’ स्थानीय दलबहादुर जुग्जालीले भने, ‘सडक आयो, नयाँ नयाँ भवन बने, घरघरमा खानेपानीको धारा पुग्यो, यहाँ उत्पादन भएको कृषि उपज यहीँ नै विक्री हुन थाल्यो ।

बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महीने जेटीएको अध्ययन सकेर अहिले मंगला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलंगाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगत रूपमै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । ‘९ वर्षको छोटो अवधिमा नै बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयले धेरैको भविष्य सुन्दर बनाइदिएको छ,’ मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भने ।

कृषि प्राविधिक बानियाँको भनाइसँग बिमका वडाध्यक्ष रेशम जुग्जाली पनि सहमत छन् । ‘केही वर्षयता यहाँका बासिन्दा कृषिबाट पनि धेरै आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुरा बुझ्न थालेका छन् । व्यावसायिक कृषिमा रहरलाग्दो प्रगति हुँदै गएको छ, विकास र पूर्वाधार पनि बन्न थालेका छन्,’ उनले भने, ‘जनताको जीवनस्तर सुधार हुँदै गएको छ ।’
जेटीए र बाली विज्ञानको पठनपाठन हुँदै आएको यस शिक्षालयले २०७५ सालमा भेटेरिनेरी डिप्लोमा इन एग्रीकल्चर (पशु विज्ञान)को समेत अनुमति पाएपछि अहिले जेटीए, बाली विज्ञान र पशु विज्ञान अध्ययन गर्न विद्यार्थी टाढाटाढाबाट समेत यहाँ आएका छन् । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत २१ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताए ।

संयोजक कँडेलका अनुसार जेटीए र आईएससी (एजी) विषयमा १२८ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७३ छात्रा र ५५ छात्र छन् । थप ३२ विद्यार्थी नयाँ भर्नाका लागि सम्पर्कमा आइसकेको उनले बताए । नयाँ भर्नाको अन्तिम मिति असोज २५ गतेसम्म रहेको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्