ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण प्रभावित

२०७७ असोज, २५  
गण्डकी प्रदेश
NA

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण प्रभावित भएको छ । १४० मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदूर आन्दोलित भएपछि विद्युत्गृह निर्माणमा अवरोध भएको हो ।

कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्नुपर्ने माग सहित मजदूर शुक्रवारदेखि आन्दोलित भएपछि काम प्रभावित भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले बताए । आयोजनाको एक मजदूरलाई कोरोना संक्रमण पुष्टि भएपछि सबै मजदूर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै मजदूर आन्दोलित भएका छन् ।

‘विद्युत्गृह निर्माणको काम चलिरहेको बेला एक्कासि मजदूर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ,’ घिमिरेले भने, ‘काम नियमित गराउन पहल गरिरहेका छौं ।’ शुक्रवार दिउँसोदेखि आन्दोलित मजदूर साँझ क्याम्पमा फर्किएका छन् । नजिकको सम्पर्कमा रहेकाहरूको पीसीआर परीक्षण गर्न सकिने भए पनि सबै मजदूर र परिवारको सम्भव नरहेको स्वास्थ्य कार्यालयबाट जानकारी पाएको उनले बताए ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रोले विद्युत्गृहको काम गरिरहेको छ । विद्यृत्गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि सुचारु रहेको घिमिरेले जानकारी दिए । उनका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ ।

प्रसारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० ओटा टावर निर्माण गरिनेछ । कुल ९४ ओटा टावर रहने प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनओटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्यांकनको काम भइरहेको आयोजनाले बताएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायत संरचना निर्माण गरिनेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्