ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घारखोला जलविद्युत्को काम तीव्र

२०७७ असोज, २५  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण सम्पन्न भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेव वज्राचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भइरहेको छ । जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्य्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ । डिसेन्डरदेखि सुरुङसम्म ३८ दशमलव ३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ । ३ हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार १७५ मिटर सुरुङ खनिएको छ । बाँधतर्फबाट १ हजार २१८ र किराथाप्नेस्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो । नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ । पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन माटो खन्ने काम भइरहेको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदै छ । कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ । दशैं लगत्तै पाइप जोड्न शुरू गर्ने इञ्जिनीयर वज्राचार्यले बताए ।

घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्राइन्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सीई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन् ।

सिभिल ठेकेदारका १४४ जना मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो । लकडाउन घोषणा लगत्तै करीब २० दिन आयोजनाको काम रोकिएको थियो । भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले बताएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब–स्टेशनसम्म साढे ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भएको छ । यो आयोजनाको अनुमानित कुल लागत रू. २ अर्ब ४१ करोड ५८ लाख २५ हजार हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरू गरेको छ ।

जम्मा ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माण पनि धमाधम भइरहेको छ । त्यस्तै १० मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेशीगाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्