ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साझेदारीका तीन ठूला सडकको काम शुरू

२०७७ असोज, २५  
गण्डकी प्रदेश
NA

बागलुङ । नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले साझेदारीका तीन ठूला सडकको काम शुरू गरेको छ । संघीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम शुरू भएको हो । वडा नं १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३ दशमलव १ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ । जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्नेछ । चालू आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गर्ने सडक आयोजनामा यो सबैभन्दा ठूलो आयोजना हो । वडा नं १३ पैंयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरू भएको इञ्जिनीयर मनोज शर्माले बताए । रू. ८ करोड ७२ लाख २८ हजार बजेट रहेको सो सडक ६ करोड ३० लाख ४४ हजारमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।     

संघीय सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा सो सडक कालोपत्रको काम शुरू भएको हो । दुईवर्षे कार्यक्रम भए पनि गतवर्ष काम हुन नसकेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रको काम आगामी असार मसान्तसम्ममा सक्नुपर्नेछ । रौताहा कन्स्ट्रक्सन प्रालिले सो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताए । गत आवमा केही स्तरोन्नति भएका ती सडक क्रमागत छन् । पानी ट्यांकी–बलेवा विमानस्थल सडक र पाउजा–अमलाचौर सडक गत वर्ष केही ठाउँमा ढलान र कालोपत्र भएका छन् । गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडा हुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम शुरू भएको छ । रू. १ करोड ६६ लाख ६४ हजार बजेट विनियोजन भएको यो सडक ८४ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ । सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले बताएको छ । वडा नं ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रे हुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रको काम शुरू भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कालोपत्र थालिएको सो सडक ७५० मिटर कालोपत्र हुनेछ भने यही सडकमा थप रू. १ करोड ५० लाख थप गरेर सडकको स्तरोन्नति गरिनेछ । रू. ९९ लाख ९९ हजार ९१० बजेट रहेको उक्त सडकको काम बीएमए निर्माण सेवा बागलुङले ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्