ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश सरकारले सुरुङमार्ग बनाउन खोल्यो कार्यालय

चाँडै नै ठेक्का आह्वान गर्ने तयारी

२०७७ असोज, २५  
वाग्मती प्रदेश
NA
author avatar भानुभक्त आचार्य

हेटौंडा । वाग्मती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजना बनाउन पहल शुरू गरेको छ । यसका लागि
शुक्रवार आयोजनाको कार्यालय हेटौंडामा स्थापना गरिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले हेटौंडा १ चौकीटोलमा शुक्रवार कार्यालय उद्घाटन गर्दै प्रदेशले सुरुङमार्गलाई तोकिएको समयमै निर्माण सम्पन्न गर्ने दाबी गरेका छन् । १८ अर्ब ७ करोड अनुमान गरिएको भीमफेदी–खानीखेत सुरुङ निर्माणपछि राष्ट्रले गर्व गर्नलायकको विकास हुने मन्त्री फुयालको भनाइ छ ।

सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार ३ दशमलव २१ किलोमीटर लामो र १५ र ७ मीटर फराकिलो दुईओटा सुरुङ निर्माण गरिनेछ ।

मन्त्रालयका सचिव सञ्जीव बरालका अनुसार सुरुङमार्ग निर्माणले दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्छ । सुरुङ मार्गको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको जानकारी दिँदै सचिव बरालले आयोजनाको ठेक्का प्रक्रिया चाँडै अघि बढ्ने बताए ।

करीब ३ किलोमिटर सुरुङ मार्गमा पर्ने ७५ मिटर र ३५ मीटर लम्बाइका दुई पक्की पुल ४२ महीनामा सम्पन्न गरिने लक्ष्य रहेको सचिव बरालले बताएका छन् । प्रदेश सरकारले वैशाखमा टेन्डर आह्वान गर्ने योजना बनाए पनि कोरोना प्रभावका कारण समयमै टेन्डर आह्वान गर्न नसकेको बताइएको छ ।

यसअघि निजीक्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिले हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउन नेपाल सरकारसँग ७ वर्षअघि अनुमति लिएको थियो । स्थानीयसँग आयोजनाको शेयर रकम पनि लिएको थियो ।

तर, कम्पनीले शिलान्यास गरे पनि आयोजनाको काम अगाडि बढाउन सकेन । स्थानीयको करीब ३२ करोड रुपैयाँ नेपाल पूर्वाधार विकास कम्पनीले घरभाडा, कर्मचारीको तलब र विदेश भ्रमण गरेर सिध्याएको आरोप स्थानीयले लगाएका छन् । प्रस्तावित सुरुङमार्ग आसपासका स्थानीयले खसीबोका, तरकारी, अनाज विक्री गरेर कम्पनीमा गरेको लगानी यतिबेला जोखिममा परेको छ ।

निजीक्षेत्रले लिएको अनुमति खारेज गर्न वाग्मती सरकारले पत्राचार संघीय सरकारलाई पत्राचार गरेको थियो । संघीय सरकारसँग अनुमति लिएर काम शुरू गरिएको हो ।

दुई लेनको सुरुङमार्गभित्र एकातर्फ ग्यास र अर्कोतर्फबाट तेल लैजान पाइपलाइनसमेत राख्ने ठाउँ छुट्ट्याइने मन्त्रालयले जानकारी दिएको छ । आयोजनामा सुरुङ, पहुँचमार्ग र पुल निर्माण गर्न १९ अर्ब ३२ करोड लाग्ने अनुमान छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ को बगरबाट इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतसम्म सुरुङ बन्नेछ ।

सुरुङमार्ग निर्माण हुने स्थानसम्म पुग्न र काठमाडौं जान हाल प्रयोग भइरहेको भैंसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भएको छ । दुईओटा सुरुङ जोड्ने
एप्रोच सडक, तीनओटा पुल निर्माण गरिने जनाइएको छ । सुरुङमार्ग निर्माण हुँदा हेटौंडा–काठमाडौंको यात्रा करीब २ घण्टामा सीमित हुनेछ भने स्थलमार्गको दूरी १८ किलोमीटर छोटो बनाउनेछ ।

पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) सुरुङ निर्माण गर्न १२ ओटा अन्तरराष्ट्रिय परामर्शदाताले आशयपत्र दर्ता गराएका थिए । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको परामर्शदाता छनोटका लागि भदौ १ मा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । विभिन्न मुलुकका १२ ओटा कम्पनीले परामर्शदाताका निम्ति आशयपत्र दर्ता गराएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्