ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इन्टरनेटको प्रयोग र बौद्धिक सम्पत्ति अधिकार

२०७७ असोज, २५  
लेख | दृष्टिकोण
Image Not Found

हामी जुन युगमा हिँडिरहेका छौं त्यो इन्टरनेटको युग हो । अब प्रायःजसो पेशा व्यवसायीको व्यपार इन्टरनेटकै आधारमा हुन्छ । बैंक, वायुसेवा, कार्यालय, विद्यालय आदि संस्थाको काम इन्टरनेटविना ठप्प हुन्छ । अरूको के कुरा एउटा काखको नानीले स्मार्ट फोनबाट गीत नसुनाई आमाको दूध नै नचुस्ने अवस्था सृजना भएपछि अब यस युगका लागि इन्टरनेटको आवश्यकताबारे थप केही भनिरहनु परेन । तर, यो सेवा सित्तैमा उपलब्ध हुँदैन । निर्धारित आवश्यकता पूरा गर्न वा शर्त पालना गर्नैपर्ने हुन्छ । प्रमुख शर्त हो, बौद्धिक सम्पत्ति अधिकारको सम्मान ।

नेटमा उपलब्ध सामग्री हुन् भन्दैमा सार्वजनिक प्रयोजनका लागि राखेको सम्झेर सित्तैमा चलन गर्न पाइँदैन । तिनका लागि अनुमति लिने कुरा मात्र होइन,शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

इन्टरनेटमा खास गरी आफ्नो वेबसाइटको डिजाइन तयार गर्दा तथा आफ्नो र अरूको वेबसाइट तेस्रो पक्षले प्रयोग गर्दा बौद्धिक सम्पत्ति अधिकारप्रति सजग रहनुपर्छ । विद्युतीय व्यापारको आधारभूत पक्ष सम्पत्तिको वेबसाइटको डिजाइन र क्रियाशीलता हो । वेबसाइटको तयारी र यसमा निहित सूचना सामग्री समावेश गर्दा बौद्धिक सम्पत्ति अधिकारको पक्ष विचारणीय हुन आउँछ । अरूको वेबसाइट चलन गर्दा अन्तर्निहित बौद्धिक सम्पत्ति प्रयोगको पूर्वस्वीकृति लिनु एउटा पक्ष हो भने आफ्नै वेबसाइट तयार गर्दा पनि प्रायःजसो डिजाइनरको बौद्धिक सम्पत्ति अधिकार रहन्छ । डिजाइनरसँग त लेनदेनको आधारकमा कुरा मिलाउन सकिन्छ तर वेबसाइटमा समावेश गरिएका सामग्रीमा तेस्रो पक्षको बौद्धिक सम्पत्ति अधिकार विद्यमान रहनु हुँदैन ।

यदि अन्य कम्पनीका डाटा वा खोजी इन्जन वा इन्टरनेट उपकरण प्रयोग गर्नुपर्ने भए इजाजतपत्र राम्रोसँग पढेर ती कसको स्वामित्वमा छन्, शर्तहरू केके छन्, कुनै हेरफेर वा रूपान्तरण गर्न पाइन्छ पाइँदैन, सम्झौता एकपक्षीय भए पुग्ने हो वा दुईपक्षीय आवश्यक पर्ने हो भन्ने जस्ता कुराहरू छर्लङ्ङ हुनुपर्छ र वेबसाइटको डिजाइन, जडान तथा सञ्चालन गर्नुभन्दा पहिले कानून व्यवसायीको परामर्श लिएर उचित कदम चाल्न राम्रो हुन्छ ।

यदि नेटबाट कसैको अधिकारमा रहेका कुनै तस्वीर, कलाकौशल, भिडिओ, संगीत, आवाज जस्ता सामग्री प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपले लिखित सहमति नै लिनुपर्ने हुन्छ । नेटमा उपलब्ध भएका सामग्री हुन् भन्दैमा सार्वजनिक प्रयोजनका लागि राखेको सम्झेर सित्तैमा चलन गर्न पाइँदैन । तिनका लागि अनुमति लिने कुरा मात्र होइन, शुल्क पनि तिर्नुपर्ने हुन्छ । कतिपय मुलुकमा रोयल्टी संकलन समाज, कलाकार समाज वा यस्तै पेशागत संगठन वा समाजको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।

अन्य वेबसाइटसँग विद्युतीय सम्बन्ध (हाइपरलिंक) स्थापित गराउँदा पनि होशियार हुनुपर्छ । यो काम विद्युतीय व्यापार सञ्चालन गर्ने वेबसाइटका लागि बढी महत्त्वपूर्ण हुन्छ । कुनै मुलुकमा यसलाई नियमन नगरिएको कारण कुनै अवरोध हुँदैन भने कुनैकुनै मुलुकमा यसको पनि कानूनी व्यववस्था गरिएको हुन्छ । अतः सम्बद्ध वेबसाइट धनीसँग सोधेर गर्दा राम्रो हुन्छ । अर्को कुरा वेबसाइटको ढाँचामा पनि धेरै नै विवाद आउने गर्छन् । अर्काको जस्तै देखिने गरी आफ्नो वेबसाइटको ढाँचा तयार पार्‍यो भने दाबी विरोध रहने भएकाले पूर्वस्वीकृति लिएर गर्दा राम्रो हुन्छ ।

वेबसाइट डिजाइन गर्ने बेला अरूको अधिकार हनन हुन्छ कि भन्ने समस्या हुन्छ भने आफ्नो वेबसाइट सञ्चालनमा आएपछि अरूबाट आफ्नो अधिकार हनन हुन्छ कि भन्ने समस्या हुन्छ । इन्टरनेटमा बौद्धिक सम्पत्ति संरक्षणको समस्या सबै वेबसाइट सञ्चालकका लागि सधैंका लागि भइरहन्छ । संरक्षणको पहल गर्दा संरक्षण गर्नुपर्ने विषयवस्तु पहिचान गर्ने, प्रतिलिपि अधिकार वा अन्य कुन अधिकारको संरक्षण गर्नुपर्ने हो यकिन गरी उल्लेख गर्ने, प्रयोगकर्ताले गर्न पाउने र नपाउने काम उल्लेख गर्ने र प्रयोगकर्तालाइ राम्रोसँग सुसूचित गर्ने गर्नुपर्छ । आफ्नो कम्पनीको स्वामित्वमा नरहेका र डाउनलोड गरिएका तेस्रो पक्षका सामग्री वितरण गर्नु हुँदैन । कम्पनीका सबै नीति तथा कार्यबारे कामदारलाई राम्रो प्रशिक्षण दिनुपर्छ ।

इन्टरनेटको कार्य प्रकृतिअनुसार बौद्धिक सम्पत्ति अधिकार उल्लंघनको पहिचान र नियन्त्रणका लागि इनक्रिप्टिङ र वाटरमार्किङजस्ता प्राविधिक उपकरण पनि विकसित गरेका छन् । तिनले कम्प्युटर कार्यक्रमका उपयोगकर्ताले डाउनलोड गर्ने र यताउता पठाउने फाइलका सूचना डिकोड गरेर निगरानी राख्ने खोजतलास कार्यसँग सम्बद्ध कम्पनीलाई उपलब्ध गराउने तथा चिह्न छोड्ने गर्छन् ।

इन्टरनेटमा गीतको प्रतिलिपि अधिकार उल्लंघन भएको विषयमा अमेरिकामा भएको एउटा अन्तरराष्ट्रिय स्तरमा चर्चित मुद्दा छ । त्यो मुद्दा नेप्स्टर केस नामले सुपरिचित छ । त्यो ए एन्ड एम कम्पनीविरुद्ध नेप्स्टर बीचको विवाद हो । त्यसमा नेप्स्टरले विकसित गरेको व्यवसाय विकास कार्यक्रममा त्यसका उपयोगकर्ताले अरूलाई आफ्ना फाइल उपलब्ध गराउन सक्ने सुविधा थियो । अतः उसले उत्पादन गरेको कार्यक्रमले उसका ग्राहकले सहजै प्रतिलिपि अधिकार उल्लंघन गर्न सक्थे । यो ए एन्ड एमले ध्वन्यङ्कन गरेका गीतहरूको प्रतिलिपि अधिकार उल्लंघन गर्न दुरुत्साहन गर्ने प्रकृतिको मुद्दा थियो । अतः अदालतले नेप्स्टरलाई त्यस्ता कार्यक्रम उत्पादन नगर्न स्थायी निषेधाज्ञा जारी गरेको थियो । यसरी कसैले सोझै बौद्धिक सम्पत्ति उल्लंघन नगरी उसको काम व्यवहारबाट तेस्रो पक्षले उल्लंघन गर्न बल पुग्यो भने प्रथम पक्ष पनि दोषी मानिन्छ ।

इन्टरनेटको संसार काल्पनिक जस्तै भए पनि यसले आज वास्तविक संसारलाई सञ्चालन र नियन्त्रण गरिरहेको छ । यो विश्वव्यापी सञ्चार र व्यवसाय सञ्चालनको आधारभूत माध्यम भएको छ । आज वस्तु र सेवाको उत्पादन, सञ्चालन, विज्ञापन प्रसारण तथा विक्रीवितरण इन्टरनेटकै भरमा भइरहेको छ । यसको प्रयोगले परम्परागत व्यापार व्यवसाय सञ्चालनमा आमूल परिवर्तन आएको छ र यो आफैमा विशिष्ट व्यावसायिक शाखाका रूपमा स्थापित भएको छ । इन्टरनेट जगत्का बौद्धिक सम्पत्तिसम्बन्धी समस्या समाधानका लागि कानूनी उपकरण थप पनि भएका छन् र कानून समसामयिक रूपमा विस्तार हुँदै गएको छ । तर, अनलाइनको उपस्थिति नरहेका बेला विकसित भएका बौद्धिक सम्पत्तिसम्बन्धी कानूनका सिद्धान्त र प्रक्रिया अनलाइनको युगमा पनि उत्तिकै सान्दर्भिक छन् ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्