ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हवाई रूटमा अन्योल

२०७७ असोज, २६  
सम्पादकीय
Image Not Found

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगे पनि भारतबाट नेपाल प्रवेशका लागि पश्चिमी नेपालका रूटमा अन्योल कायम रहँदा यसको पूर्ण उपयोगमा पनि अनिश्चितता देखिएको छ । पोखरामा निर्माणाधीन विमानस्थलका लागि पनि भैरहवा तथा नेपालगन्जको रूटको महत्त्व उत्तिकै छ ।

सरकारले सधैं विमानस्थल सञ्चालनका लागि बजेट दिन सक्दैन । विमानस्थल सञ्चालन मुनाफायोग्य नभए के गर्ने भन्नेमा सरकारले पर्याप्त अध्ययन नगरेको जस्तो देखिन्छ ।

भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थल क्षेत्रीय स्तरका अन्तरराष्ट्रिय विमानस्थल हुन् । नेपालका पश्चिमी भूभागका देशबाट आउने अन्तरराष्ट्रिय उडानहरूलाई सिमरा हुँदै नेपाल छिर्नुपर्ने बाध्यता छ । भारतले भैरहवा, नेपालगन्ज वा महेन्द्रनगरको हवाई रूटबाट नेपाल प्रवेश गर्न अनुमति दिएन भने भैरहवा वा पोखरा विमानस्थलमा उत्रने विमानहरू सिमरासम्म आएर फेरि पश्चिम फर्कनुपर्ने हुन्छ । यसो गर्दा इन्धन बढी खपत हुन्छ र हवाई दूरी पनि बढी पर्न जान्छ । महेन्द्रनगर वा नेपालगन्ज दुई नयाँ प्रवेशविन्दुमार्फत नयाँ दिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्ने बताइन्छ । त्यस्तै भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । त्यतिमात्र होइन, चीन र भुटानबाहेकका अन्तरराष्ट्रिय उडानका सबै जहाज सिमराबाट नेपाल छिर्नुपर्दा हवाई ट्राफिक जामको समस्यासमेत पर्न सक्छ ।

यस्तो अवस्थामा गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको सञ्चालन आर्थिक रूपले जोखिमपूर्ण देखिन्छ । नेपालबाट बाहिर जाने विमानले भने महेन्द्रनगर, भैरहवा रूट पनि प्रयोग गर्ने गरेका छन् । नयँ विमानस्थलहरूको निर्माणसँगै नेपालका लागि थप हवाई रूटको आवश्यकता बढ्दो छ । हवाई चाप पनि बढ्दै गएकाले निजगढ विमानस्थल बनाउन सरकारको प्राथमिकतामा राखेको छ । यो विमानस्थल समेत तयार हुँदा एउटामात्रै हवाई रूटले उडानको चाप धान्न नसक्ने निश्चित छ ।

यस्तोमा नेपालले भारतसँग नयाँ हवाई रूटका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ । नयाँ हवाई रूटका लागि नेपालले भारतसँग वार्ता गरेको निकैपटक भइसक्यो । भारतले भैरहवा, नेपालगन्जसहित चार प्रवेश विन्दु दिन सहमति व्यक्त गरे पनि पछि सुरक्षा संवेदनशीलता देखाएर आनाकानी गरिरहेको छ । भारतको सुरक्षा चासो हुन सक्ला तर विश्वासमा लिएर उसको चासोलाई आश्वस्त पार्न नसकिने पक्कै होइन होला । साँचीकै सुरक्षा चासोको विषय थियो भने उसले एकपटक सहमति दिएपछि ऊ त्यसबाट फेरि पछि नहट्नुपर्ने हो । भैरहवाको रूटमा समस्या भए नेपालगन्ज वा महेन्द्रनगरको रूट दिन आपत्ति नहुनुपर्ने हो । उच्चस्तरीय वार्तामा सहमति जुकिसकेपछि पनि भारतले आनाकानी गर्नुमा कहीँ कतै नेपालले आफ्नो धारणा स्पष्ट पार्न नसकेको हो कि भन्ने आशंका उब्जन्छ ।

अर्बौं लगानीमा बनाइएको विमानस्थलको सञ्चालनमा पनि ठूलै रकम खर्च हुन्छ । पर्याप्त उडान भएन भने त्यो खर्च धान्न सकिँदैन । सरकारले सधैं विमानस्थल सञ्चालनका लागि खर्च दिने कुरो पनि आउँदैन । विमानस्थल सञ्चालन मुनाफायोग्य नभए के गर्ने भन्नेमा सरकारले पर्याप्त अध्ययन नगरेको जस्तो देखिन्छ । पर्यटकहरूलाई लक्षित गरी बनाइएका दुवै विमानस्थलबाट अन्तरराष्ट्रिय उडान पर्याप्त हुने आधार देखिँदैन । यस्तोमा हवाई रूटको अनिश्चितताले झनै समस्या थपेको देखिन्छ ।

भैरहवा विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसकेको छ । अबको दुई अढाइ महीनामा यहाँबाट नियमित उडान शुरू गर्न सकिने सरकारी भनाइ पाइन्छ । तर, विमानस्थल कसरी सञ्चालन गर्ने भन्नेमा सरकार कुनै टुंगोमा पुगेको पाइ“दैन । विमानस्थल सञ्चालनका लागि विदेशी कम्पनीलाई जिम्मा दिने तयारी सरकारको देखिन्छ । तर, हवाई रूटका टुंगो नलागेकाले हुन सक्छ, यसको सञ्चालनका लागि चासो दिएका कम्पनी पनि अहिले अगाडि आइरहेका छैनन् ।

बजार नखोजी लगानी गर्न हतार गर्ने र ठोस अध्ययन नगरी सामान्य अध्ययन र अनुमानका भरमा नाफा र उपलब्धिको जेखाजोखा गर्ने प्रवृत्ति नेपालको कर्मचारीतन्त्र र सरकार चलाउनेमा पाइन्छ । यो विमानस्थललाई यो नियतिबाट बचाउन भारतसित सुझबुझपूर्ण र दीर्घकालीन लाभका साथ पहल गर्नुको विकल्प देखिँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्