ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलौरीमा २९ सय उखु किसानको विवरण दर्ता

२०७७ असोज, २६  
सुदूरपश्चिम प्रदेश
NA

महेन्द्रनगर (अस) । कञ्चनपुरको बेलौरी नगरपालिकामा २ हजार ९०० किसानको उखुखेती सम्बन्धी विवरण दर्ता गरिएको छ । नगरपालिकाको कृषि शाखाले संघीय सरकारको निर्देशन बमोजिम नगदेबालीको रूपमा रहेको उखु खेतीको विवरण दर्ता गरेको हो ।  नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले नगरका १० ओटै वटाबाट विवरण संकलन गरिएको बताए । उनका अनुसार आफ्नै जग्गामा खेती गर्ने किसानको संख्या २ हजार ३४३ रहेको छ । यी किसानले ४ हजार २७८ बिगाहा क्षेत्रफलमा उखुखेती गरेका छन् । त्यस्तै भाडामा जमीन लिएर खेती गर्ने किसानको संख्या ३६९ र ऐलानी जमीनमा उखुखेती गर्ने किसानको संख्या १९० छ, जसले क्रमशः १ हजार ७८४ र २८२ बिगाहा क्षेत्रफलमा उखुखेती गरेका शाखाले बताएको छ । विवरण दर्ता गर्ने क्रम असोज मसान्तसम्म भएकोले उखु किसानको विवरण अझै बढ्न सक्ने शाखा प्रमुख जोशीको भनाइ छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महीना साउनदेखि नै उखु किसानको विवरण संकलन शुरू गरेको हो । विवरण दर्ताका लागि किसानको नागरिकता, लालपुर्जा, भाडामा भए सम्झौता, ऐलानी भए चार किल्ला प्रमाणित गरेको प्रमाणपत्र आवश्यक पर्ने नगरपालिकाले बताएको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले सरकारले दिने अनुदानको वैज्ञानिक र सहज बनाउन किसानको विवरण संकलन गरिएको बताए । उनका अनुसार उखु खेती गर्ने किसानको वास्तविक विवरण नहुँदा सरकारले दिने अनुदान वितरणमा समस्या हुने गरेको थियो ।

‘उखु किसानलाई वर्षेनि सरकारले अुनदान दिने व्यवस्था गरेको छ,’ नगर प्रमुख चौधरीले भने, ‘हचुवाको भरमा अनुदान वितरण गर्दा वास्तविक किसान छुट्ने सम्भावना रहन्छ, किसानले उत्पादन अनुसारको अनुदान पाउँदैनन् ।’ साथै विवरण संकलन गरी अनुदान वितरणमा सहज हुने उनको विश्वास छ । कृषिलाई प्राथमिकतामा राखेको बेलौरी नगरपालिकाले चालू आवमा २ करोडभन्दा बढी बजेट कृषिक्षेत्रका लागि छुट्याएको छ । ‘बेलौरी नगरपालिकामा अधिकांश व्यवसाय भनेकै कृषि हो,’ नगर प्रमुख चौधरीले भने, ‘कृषिक्षेत्रको विकास र आधुनिकीकरणका लागि योजना बनाएका छौं, उत्पादनमा आधारित अनुदान तथा कृषि औजार वितरणका कार्यक्रम नगरपालिकाले अघि सारेको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्