ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

२०७७ असोज, २६  
गण्डकी प्रदेश
NA

गलकोट । नियमित विद्युत् आपूर्ति नहुँदा बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग ७ महीनादेखि बन्द रहेको छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत माघयता उद्योग सञ्चालन गर्न नसकिएको हो ।     

पाण्डवखानीको सामुदायिक तथा निजी वनमा पाइने अर्घेली र बरुवा जातको रूखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना ४ वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए । लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो ।     

लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काठमाडौंमा विक्री हुँदै आएको थियो । हाते कागज उद्योगमा झण्डै ५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताए ।    

उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्को १२ किलोवाटले स्थानीयलाई बत्ती बाल्न मात्र पुगेको छ । पूरा क्षमताको विद्युत् आपूर्तिमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रीय विद्युत्को आवश्यकता देखिएको छ ।

अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतीकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बताएको छ । यसका लागि केही महीना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । ‘पाण्डवखानीमा अहिले विद्युतीकरणको काम भइरहेको छ, सामग्री आपूर्ति नहुँदा केही समय लाग्ने भएको छ,’ बितरण केन्द्र प्रमुख गोशलीले भने ।

बागलुङको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्