ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्ज भन्सारमा स्वचालित ब्यारियर

२०७७ असोज, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने आयात कारोबारलाई छरितो र प्रभावकारी बनाउन भन्सारमा स्वचालित ब्यारियर सञ्चालनमा ल्याइएको छ । वीरगञ्जको इनर्वा–रक्सौल नाकामा पहिलो पटक स्वचालित ब्यारियर सञ्चालन भएको हो ।

भन्सारबाट जाँचपास भएको गाडीलाई प्रदान गरिने एक्जिट नोटका आधारमा स्वचालित प्रविधिबाट गेट खुल्ने भएकाले नाकाबाट हुने आयात थप पारदर्शी हुने भन्सार अधिकृत रमेश सुकमनीले बताए । प्रत्येक गाडीलाई दिइने एक्जिम नोटको बार कोडलाई सिस्टमले स्वीकृत गरेपछि स्वचालित रूपमा गेट खुल्ने सुकमनीले जानकारी दिए ।

स्वचालित प्रणाली लागू भएपछि भन्सारको गेट खोल्न कर्मचारी आवश्यक नपर्ने भएको छ । ‘अब नाकाबाट आयातकर्ताले झुक्याएर वा कर्मचारीसितको मिलेमतोमा एकै एक्जिट नोटमा एकभन्दा बढी गाडी पास गराउन सक्दैनन्,’ एक अधिकृतले भने । यो प्रविधिले भन्सार परिसरमा भित्रिने र बाहिरिने गाडीहरूको विवरण पनि अद्यावधिक गर्ने भन्सारले बताएको छ ।

प्रणालीलाई भन्सारले प्रयोग गरिरहेको आशिकुडा अनलाइन प्रणालीमा जोड्ने गृहकार्य भइरहेको भन्सारले बताएको छ । अनलाइन प्रणालीमा आबद्ध भएपछि नाकाको गतिविधिमा भन्सार विभागले निगरानी राख्न सक्छ ।

वीरगञ्ज आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका हो । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार पनि यो स्वचालित प्रविधि प्रयोगमा ल्याउने योजना भन्सारको छ । ‘आईसीपीको आयाततर्फका दुईओटा प्रवेशबिन्दुमा यो प्रणाली राख्न नेपाल इन्टर मोडल यातायात विकास समितिलाई पत्राचार गरिसकिएको छ,’ भन्सार अधिकृत सुकमनीले बताए ।

वीरगञ्ज भन्सारको अधिकांश आयातनिर्यात आईसीपीतर्फ गइसकेको छ । अहिले केही परिमाणमा पेट्रोलियम पदार्थ, सिमेन्ट र फलाम उद्योगका कच्चा पदार्थमात्र इनर्वा–रक्सौल नाकाबाट भित्रिने भन्सारले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्